फेरि मिडियामार्फत जानकारी

- सुरेश किरण

तरकारीमाथि गरिएको परीक्षण रोक्नू भनी भारतले एउटा चिट्ठी पठाएको रहेछ । दुनियाँलाई त्यसबारे थाहा भइसके पनि प्रधानमन्त्री केपी ओलीलाई रहेनछ । चिट्ठी आएको करिब दुई सातापछि उनले भने, “कुन चिट्ठी हो, मलाई त थाहै छैन ।”

खैर केही छैन । त्यतिबेला नभएको भए पनि अहिले त राम्रै थाहा भयो होला किनभने अहिले भारतद्वारा प्रेषित उक्त चिट्ठीबारे सञ्चार माध्यममा समाचार आइसकेको छ । केही पत्रिकाले उक्त चिट्ठीको फोटोसमेत छापिसकेका छन् । सञ्चार माध्यममै आइसकेपछि त्यसैमार्फत प्रधानमन्त्रीले थाहा पाइसके होलान् भन्ने आशा गर्न सकिन्छ । हुन त भारतले चिट्ठी परराष्ट्र मन्त्रालयमार्फत उनलाई नै पठाएको हो । तर आफैँलाई पठाएको चिट्ठी पनि प्रधानमन्त्री भने सञ्चार माध्यममा आइसकेपछि मात्रै थाहा पाउँछन् । चिट्ठी उनैलाई आउने हो । त्यसबारे सबैलाई थाहा भइसकेको हुन्छ तर ओलीलाई थाहा भएको हुँदैन । जब मिडियामा आउँछ, तब मात्र प्रधानमन्त्रीलाई थाहा हुन्छ ।

यो सुनेर मान्छेलाई आश्चर्य लाग्न सक्छ । तर यो आश्चर्य लाग्नुपर्ने कुरा होइन किनभने प्रधानमन्त्री ओलीलाई त आफ्नै सरकारले गरेको काम–कुरासमेत मिडियामा आइसकेपछि मात्रै थाहा हुने गर्छ । गत साता सरकारले गुठी विधेयक फिर्ता लियो । त्यो कुरा पनि उनले मिडियाबाटै थाहा पाएका थिए । अहिले पनि भएको त्यही हो । भारतले प्रधानमन्त्रीलाई पत्र पठायो । तर आफैँलाई पठाएको पत्रबारे पनि उनले मिडियामा आएपछि मात्रै थाहा पाए ।

मिडियाको कति ठूलो महत्व हुन्छ भन्ने यसैबाट थाहा हुन्छ । तर प्रधानमन्त्रीज्यू त्यही मिडियामाथि कडाइ गर्ने कानुन ल्याउन किन यति उद्यत भएका होलान् ?

प्रकाशित: असार २६, २०७६

ट्याग: परिहास