मूलधारको पार्टी

- सुरेश किरण

सत्तारुढ नेकपाका द्वितीय अध्यक्ष कमरेड पुष्पकमल दाहालले यही पार्टी अब कम्युनिस्ट शक्तिको मूलधार हुने बताएका छन् । मूलधारको पार्टी नै यही भएको कारणले अब बाँकी बचेका कम्युनिस्ट नेताहरुलाई पनि यसमै समाहित हुन आह्वान गरेका छन् । उनले भनेका छन्, “अब नारायणमान बिजुक्छे पनि यही पार्टीमा आउनुस्, मोहनविक्रम पनि यही पार्टीमा आउनुस्, सीपी मैनाली पनि यही पार्टीमा आउनुस् ।”

जम्मै नेताहरु अब यही पार्टीमा आउनुपर्छ भन्ने प्रचण्डको भनाइ थियो । वास्तवमा आउनु पनि पर्छ । यो नै मूलधारको पार्टी भनेर जम्मैले महसुस गरिसकेका छन् । त्यही महसुस गरेर हालै दीपक मनाङेसमेत यही पार्टीमा प्रवेश गरेका छन् । दीपक भनेको को नै हो र ? ठमेलमा छोटामोटा गुन्डागर्दी गर्ने उही लोकल डन त हो नि । तर अब मूलधारको कम्युनिस्ट पार्टी नेकपा नै हो भन्ने कुरा त्यस्तो लोकल डनलाई समेत थाहा भइसक्यो । त्यसैले उनीहरु धमाधम पार्टी प्रवेश गरिरहेका छन् । त्यस्ता सानातिना डनलाई समेत थाहा भइसकेको कुरा जीवनभरै वाम राजनीति गरेका नेताहरुलाई भने अहिलेसम्म थाहा छैन । थाहा भएको भए त अस्ति नै पार्टीमा गुटुटुटु आइसक्थे होलान् । खै, अहिलेसम्म कोही आएको छैन । हाम्रा ठूल्ठूला नेताहरुले एउटा लोकल डनलाई थाहा भइसकेको कुरासमेत अहिलेसम्म थाहा पाएका छैनन् । कुरो थाहा पाएर डनहरुसमेत मूलधारमा समाहित भइसके, ठूला वाम नेताहरु अहिलेसम्म समाहित हुन आएका छैनन् । विडम्बना होइन यो ?

प्रकाशित: असार २६, २०७६

ट्याग: परिहास