विषालु ट्वीट

- सुरेश किरण

बजारमा विषालु तरकारी र विषालु फलफूलबारे चर्चा भइरहेकै बेला बालुवाटारबाट एउटा ट्वीट सार्वजनिक भएको छ । विषालु तरकारीले कति मानिसलाई घाइते बनायो, त्यो अहिलेसम्म थाहा भइसकेको छैन । तर बालुवाटारबाट आएको यो ट्वीटले भने धेरैलाई घाइते बनाइसकेको छ । त्यसैले कोही कोही त के पनि भन्छन् भने भारतबाट आएको तरकारीभन्दा पनि बालुवाटारबाट आएको ट्वीट बढी विषालु छ । केही मान्छेलाई अहिले तरकारीले भन्दा पनि ट्वीटले बढी असर पारेको देखियो । त्यसैले यसको सिकार भएका मानिस यो ट्वीटलाई पनि ‘विषालु ट्वीट’ भन्न थालेका छन् । तरकारीको विष के विष, ट्वीटको विष पो विष । बजारमा तरकारी मात्र होइन, अहिले त ट्वीटसमेत विषादी परीक्षण नगरीकनै आउन थालेको रहेछ ।

प्रकाशित: असार २६, २०७६

ट्याग: परिहास