यसरी राखियो काठमाडौँ

- हरिराम जोशी

प्रसिद्ध सम्पदा काष्ठमण्डपको नामकरणबारे इतिहासकारबीच खासै विवाद छैन । तर काष्ठमण्डपबाटै हालको राजधानी सहर काठमाडौँको नाम राखिएको समय सन्दर्भबारे इतिहासकार तथा विभिन्न कालखण्डका वंशावलीले यसको आधार प्रस्ट्याउन सकेका छैनन् ।

विभिन्न वंशावलीअनुसार मल्लकालीन राजा लक्ष्मीनरसिंह मल्लको शासनकाल (नेपाल संवत् ७४०–७६०) सन् १६१९–१६४१ मा कुनै एक व्यक्तिले एउटै रुखबाट काठैकाठको भव्य सत्तल/मण्डप निर्माण गरेकाले काष्ठमण्डप नामकरणको आधारमा काठमाडौँ रहन गएको हो भनिएको छ । तर राजा लक्ष्मीनरसिंह मल्लको शासनकालभन्दा चार सय वर्षअगाडि नै काष्ठमण्डपको अस्तित्व रहेको तिनै वंशावलीमा उल्लेख भइसकेकाले प्रस्टता छैन ।

काष्ठमण्डप किन भनियो भने त्यहाँ खाली मण्डप मात्र थियो । १३ सय वर्षअगाडि प्राप्त सामग्री आधार तथा सातौँ शताब्दीको चीजवस्तुका आधारमा यसो भनिएको हो । किनभने काठमाडौँमा अहिले पनि ठाउँठाउँमा मण्डप छन् । बांगेमुढामा स्थानमण्डप छ । नेपाल भाषामा स्थानलाई थाय् र मण्डपलाई मदु भनिएको हो । स्थानमण्डपबाट थाय्मरु भएजस्तै काष्ठमण्डपबाट काठमाडौँ भनिएको हो ।

सातौँ–नवौँ शताब्दी अन्त्यसम्म काठमाडौँलाई दक्षिणकोलिग्राम र कोलिग्राम पनि भनियो । यसको अर्थ तेल पेल्ने काममा कुशल/प्रवीण व्यक्तिको इलाकामा बस्ने समुदाय हो । दसौँ शताब्दीदेखि मात्र अहिलेको काठमाडौँलाई काष्ठमण्डप भनिन थालेको सप्रमाण म आफैँले संकलित गरेको नेपाल संवत् ४५२ को खपिँछेको शिलालेखमा प्रस्टै देखिन्छ । काठमाडौँलाई कोलिग्राम भनिएको बारे नेपाल संवत् ५९० को वीर पुस्तकालयस्थित पञ्चरक्षामा पनि उल्लेख छ ।

काष्ठमण्डपबाटै काठमाडौँ नाम जुरेको हो भनिए पनि कहीँ–कतै त्यसभन्दा अगाडि नै यसबारे थरी थरीका नाम फेला पर्छन् । तिब्बतीयन संस्कृत विहारमा नामसंगिती किताबमा काष्ठमण्डपलाई काष्ठमण्डपे भनिएको छ । त्यो मण्डपलाई काठको सत्तल (पाटीपौवा) बनाइएको हो । फेरि पछि त्यही (काष्ठमण्डप) स्थानलाई काष्ठमण्डपपुरे भनियो ।

कुनै समय त काष्ठमण्डपलाई काष्ठमण्डपमहानगरसमेत भनिएको छ । यसको प्रमाणचाहिँ इन्डिया अफिस नं २७२३ को स्त्रंग्यशास्तोत्र (नेपाल संवत् ५९४) मा उल्लेख छ । यस्तै, स्वयम्भूको अभिलेख (नेपाल संवत् ४९२) मा काष्ठमण्डपलाई काष्ठमण्डपपुरी भनिएको छ ।

काष्ठमण्डपबाटै काठमाडौँ नामकरण गरिएको भनिए पनि नेपाल संवत् ६०५ को काठमाडौँ मोरुसत्तलको ताम्रपत्राभिलेखमा काष्ठमण्डप नगर उल्लेख छ । यस्तै, नेपाल संवत् ६३२ को सोही ताम्रपत्राभिलेखमा काष्ठमण्डपलाई श्रीकाष्ठमण्डपस्थान भनिएको छ । काठमाडौँका शासकले ठाउँलाई पनि आफूअनुकूल नामकरण गर्ने प्रचलन उबेला पनि रहेको प्रमाण हो, यो ।

काष्ठमण्डप नाम राखिएपछि विभिन्न कालखण्डमा राज्य सञ्चालन गर्ने शासकले यसलाई कहिले काष्ठमण्डपमहानगर, कहिले काष्ठमण्डपनगर, कहिले काष्ठमण्डपपुरी राखेका छन् । त्यसले काष्ठमण्डपबारेको खुलस्त इतिहास अहिलेसम्म बाहिर आउन नसकेको हो । पहिले एउटै रुखको काठबाट सत्तल बनाएको आधारमै काष्ठमण्डप नामकरण गरिएको र त्यसैलाई प्रमाण मानेर काठमाडौँ रहन गएको मानिएको छ । तर विभिन्न अभिलेख र वंशावलीमा काष्ठमण्डप नामकरणपछि पनि त्यसलाई समय–समयमा अन्य नामबाट पुकारिँदै आएको प्रमाण फेला परिसकेका छन् ।

पुरातत्वविभागमा जागिरे छँदा र मेरै सम्पादनमा निस्कने इतिहासप्रधान पत्रिका रोलम्ब (०३८) मा पनि काष्ठमण्डपबारे केही तथ्य खुलाउने प्रयास गरेको थिएँ । पछिल्लो समय काष्ठमण्डपबाटै काठमाडौँ कसरी नाम रहन गएको भन्ने विषयमा इतिहाससम्बन्धी पुस्तक लेखिरहेको छु ।

पहिले मण्डप रहेको ठाउँमा नाचगान, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो । त्यहीँ मण्डपस्थलमा पछि काठको सत्तल बनाइएको हो, जसलाई मरुसत्तल भनिन्छ । खासमा यस्ता सत्तल सामाजिक, सांस्कृतिक, धार्मिक गतिविधि सम्पन्न गर्न बनाइने सार्वजनिक संरचना हुन् । जुनसुकै जात, धर्मावलम्बीका लागि निषेध हुँदैन भन्ने प्रमाण अहिले पनि काष्ठमण्डपले दिइरहेको छ ।

प्रत्येक वर्षको १ माघमा मनाइने काष्ठमण्डपको बुसाँद (स्थापना) मा गरिने पूजामा सबै धर्म–सम्प्रदायका श्रद्धालु सहभागी हुने प्रचलन अहिले पनि छ । यसरी दक्षिणकोलिग्राम, काष्ठमण्डप, काष्ठमण्डपमहानगर आदि/इत्यादि हुँदै अहिलेको काठमाडौँ बनेको हो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: असार २६, २०७६

ट्याग: स्मरण