[पुस्तक समीक्षा] चमत्कारी ओशो

पुस्तक :  ओशो : अचम्म जो मैले देखेँ | लेखक : आनन्द अरुण | प्रकाशक : बुक–हिल पब्लिकेसन | पृष्ठ : २२८ | मूल्य   : ६६६ रुपैयाँ |

- राजकुमार बानियाँ

आईएस्सी गरेपछि हवाई सेवामा जाँच दिए उनले । अन्तर्वार्ताको दिन आमाबाले कोठामै थुनिदिए । पाइलट बन्ने सपना चकनाचुर भए पनि इन्जिनियरिङ गर्दागर्दै भारतीय रेलवे र हवाई सेवामा पस्न चाहे । जागिरकै निहुँमा मस्त घुम्ने रहर सवार भएको थियो उनमा ।

पहिलो पटक ओशो रजनीशले सोध्दा पनि उनले आफूभित्रको त्यही घुमक्कडी रहर सुनाए । ओशोले सम्झाएछन्, ‘पाइलटले विश्व नै देखेको हुँदैन, एयरपोर्ट मात्रै देखेको हुन्छ । आफूलाई योग्य बनाऊ । जब तिमी तयार हुनेछौ, म तिमीलाई विश्व घुमाउँला ।’

नभन्दै त्यस्तै भयो । वर्षको आधाजसो समय ओशो दर्शन र ध्यान सन्देशको प्रचारका लागि विदेशमै बिताउँछन्, स्वामी आनन्द अरुण । पाएका जति निम्ता मान्ने हो भने बाह्रै महिना विदेशमै हुन्छन् । आनन्द अरुणको पछिल्लो किताब ओशो : अचम्म जो मैले देखेँमा यस्ता अनेक किस्साबाजी छन् । तिनले ओशोको विपुल व्यक्तित्व देखाउँछन् ।

पहिलो साक्षात्कारमै वाकपटु अरुणले नैरोबी जान लागेका रजनीशलाई भनेछन्, ‘विदेश यात्रा सुरु भयो भने विदेशीले तपाईंलाई तुरुन्तै चिन्ने छन् । हामीजस्ता साधारण साधकले तपाईंलाई भेट्न असम्भव हुनेछ ।’ त्यही भेटमै रजनीशले पद्मसम्भवले तिब्बतमा, महिन्दा र संघमित्राले श्रीलंकामा बुद्ध धर्म फैलाएझैँ हिमाली राज्य नेपालमा आफ्नो आध्यात्मिक विचार वाहक फेला पारिसकेका थिए ।

शिष्य अरुणले ओशोको प्रभाव, साक्षात्कार अनि जीवनमा आएका बदलावबारे ४९ शीर्षकमा लेखेका छन् । सन् १९६९ देखि १९८१ सम्म ओशोको सान्निध्यमा बिताएका १२ वर्षे आत्मीय क्षण समेटिएका छन् किताबमा । यसलाई उनले आरम्भ भएको तर अन्त्य नभएको प्रेमकथा भनेका छन् । ओशोसँगको प्रेम र आध्यात्मिक प्रणयको संसार । मरेपछि स्वर्ग पुग्ने आशा गरिरहनु पर्दैन, सिर्जनशीलता, बोध र समझले पृथ्वीमै स्वर्ग निर्माण गर्न सकिन्छ भन्ने सन्देश नै किताबको केन्द्रमा छ । अरुणले स्वीकारेका छन्, ‘ यो आत्मवृत्तान्त तपाईंको तार्किक बुद्धिलाई लौकिक लागेन भने ठीकै छ, यो कथा परालौकिक नै हो ।’

आनन्द अरुण अज्ञात र रहस्यको आकर्षणमा देखिन्छन् । जीवनपारको रहस्यलोक बुझ्न एकदमै लालायित । कतिसम्म भने उनले शरीर छाडेका आत्मासँग कुरा गर्ने प्लान्चेट–टोमेटिक/राइटिङ टेबल लर्निङ आदि प्रयोगमा समेत केही वर्ष बिताएछन् । त्यसको लत बसेपछि प्रतिबन्ध लगाइदिएछन् ओशोले उनलाई ।

उनले राजा महेन्द्रको आत्मालाई बोलाएछन्, एक पटक । महेन्द्रले ओशोबारे चाख भएका व्यक्ति वीरेन्द्र भएको बताएपछि राजाका प्रमुख सचिव रञ्जनराज खनाल र संवाद सचिव रेणुलाल सिंहमार्फत दरबारमा ओशो–साहित्य पठाएछन् । त्यही कारण ओशोलाई पश्चिम नेपालमा आश्रम बनाएर बस्न भनेछन् राजाले । तर ओशोले ४५ दिनमै नेपाल छाड्नुपर्‍यो । ओशोसित वीरेन्द्रको भेट भएन तर राजाले ओशोबारे घन्टौँ चर्चा गरेको सुने ।

ओशोका रजनीशचन्द्र मोहन, आचार्य रजनीश, भगवान् श्री रजनीश आदि नाम छन् । उनका सबै धर्म र सम्बुद्धपुरुषका वचनबारे पुनर्व्याख्या छन् । सात सय पुस्तक अनि ६ सयभन्दा बढी रुपान्तरणकारी ध्यानपद्धतिको ‘रजनिसाइटिस’ विस्मयकारी छ । उनको मृत्यु चिन्तन छ, ‘जीवन मृत्युतर्फको तीर्थयात्रा हो । जीवन र मृत्युबीच कुनै दूरी छैन, मृत्यु एक मित्र हो । ध्यान र समाधिको प्रयोग नै मृत्यु भ्रम निवारणका उपाय हुन् ।’

ओशो प्रवचनमा समाजवादी र गान्धीवादी मात्र होइन, कम्युनिस्टप्रति पनि कटाक्ष छन् । ‘कम्युनिस्टहरु जो आफूलाई नास्तिक मान्छन्, वास्तवमा उनीहरु जति आस्तिक अरु कोही हुँदैन । हरेक धर्ममा हुने त्रिदेव कम्युनिजममा पनि छ । मार्क्स, लेनिन र एंगेल्स कम्युनिस्टका यस्तै देवता हुन् । मुसलमानको मक्का छ, कम्युनिस्टको मस्को । कम्युनिस्टको धर्मग्रन्थ दास क्यापिटलमा लेखिएको छ भनेपछि अरु कुनै विवाद गरिरहनै पर्दैन ।’

ओशोका बाबुले आफ्नै छोरालाई गुरुमात्र मानेनन्, दीक्षा लिएपछि सबैका साम दण्डवत् पनि गरे । तर आनन्द अरुणका पितालाई भने आफूभन्दा पहिले सन्न्यास लिएको र छोराले रोजेको बाटोमा हिँड्नु पर्दा संकोच लागेको प्रसंग पनि छ किताबमा । यसले पिता–पुत्रको जटिल सम्बन्ध देखाउँछ । ओशोको जादू देखाउनु नै पुस्तकको एक मात्र मिसन हो । अनुहार, व्यवहार र विचारले ओशो जादूगर नै लाग्छन् । ओशोसँगको हरेक दिन अप्रत्यासित र चमत्कारले परिपूर्ण हुन्थे भन्ने उनको बयानबाजी छ । ओशोको राय हुन्थ्यो रे– यथार्थवादी बन तर चमत्कारको तयारी गर ।

काव्य र जीवनदर्शन मुछ्ने शैली चाखलाग्दो भए पनि अरुण ओशोलाई ‘भगवान्’ नै मान्छन् । भक्तले भगवानको कमीकमजोरी देख्दैन, देखेका दिन भक्त रहिरहँदैन । उनले भनेका पनि छन्, ‘यो पुस्तक म र गुरुबीचको जुवा खेल हो, जसका लागि उहाँको असीम कृपाले मैले धेरै कुरा दाउ लगाउने मौका पाएँ ।’ यस्ता भक्तसँग आलोचनाको के आशा गर्नु ?

प्रकाशित: असार २४, २०७६