विनोदिनी मुक्तिमार्ग

  • तीन किताब

- अरुण गुप्तो

नागरिकले लोकतान्त्रिक संस्थालाई गतिशील बनाउन शब्दहरूको गाम्भीर्य जान्नु आवश्यक हुन्छ । त्यसैले लोकतन्त्रको केन्द्र मानिने एथेन्समा प्रोटागोरस नामक विद्वान् विद्यार्थीलाई पढाउन आएका छन् । सोक्रेटसले प्रोटागोरसलाई भन्छन्, ‘भर्च्यु भन्ने शब्द कसरी सिकाउछौ ?’ प्रोटागोरस भन्छन्, ‘इमानदारी, बुद्धिमत्ता, साहस, भद्रताजस्ता पर्यायवाची शब्दको सहाराले भर्च्युको अर्थ बुझाउन सकिन्छ ।’ तर सबै इमानदार मानिस बुद्धिमान हुने कुनै ठोकुवा गर्न सकिँदैन । भद्र मानिस साहसी हुनैपर्छ भन्ने पनि छैन । पर्यायवाची शब्दको आधारमा लोकतन्त्रलाई बुझाउन नसकिने धारणा सोक्रेटस राख्छन् । उनका अनुसार कुनै शब्दको एक अर्थलाई लिएर निष्कर्षमा पुग्नुभन्दा तर्कशास्त्रमा जानु उचित हुन्छ । मस्तिष्कलाई कुनै एक विचारको कैद बनाउनुभन्दा वाद–विवाद–संवादको विमर्शात्मक मैदानमा खुला छाड्नु बेस हुन्छ । प्लेटोको प्रोटागोरसमा सोक्रेटस आफ्ना चेला र अन्य जिज्ञासुसँग संवादरत छन् । कुनै शब्दलाई टिपेर त्यसका अर्थहरुको गहिरो संरचनासम्म पुग्नलाई प्लेटो बुझ्नु आवश्यक छ ।

प्लेटोको सिद्धान्तको अध्ययन गरी विकसित गर्दै अधुनातन दर्शनशास्त्र आरम्भ भएका हुन् । तर आलोचनात्मक व्याख्या नभएसम्म शब्द र दर्शनको वास्तविक तात्पर्यसम्म पुग्न सक्दैनौँ । ज्ञान परम्परामा शब्दलाई विमर्शात्मक शैलीमा खेलाउने पूर्वीय–पाश्चात्य जुन परम्परा थियो, त्यो ह्रास हुँदै छ । मार्क्सवादले मान्ने डायलेक्टिक पनि प्लेटोबाट प्रभावित छ । व्यक्ति, भौतिकता, समाज र इतिहास नै डायलेक्टिक छ भने स्वभावतः हाम्रो मस्तिष्क र विचार एकांगी पर्यायवाचीमा अडिन सक्दैन । सोक्रेटज विचारको पुरानो ढाँचा हुँडल्ने शिक्षा दिन चाहन्थे तर तत्कालीन सत्ता त्यसबाट तर्सिएको थियो । नेपालको सत्ता पनि ज्ञान, विमर्श र आलोचनासँग डराएको अनुभव गरेकै छौँ । लोकतन्त्रमा संवादको सौन्दर्यलाई स्मरण गर्न पनि उनै सोक्रेटसका चेला प्लेटो पढिरहन्छु ।

रवीन्द्रनाथ टैगोरको चोखेरवालीमा विनोदिनीको सशक्त पात्रबाट नारीवादका केही पाटा बुझ्न सकिन्छ । आफूलाई तिरस्कार गर्नेविरुद्ध स्त्री अस्तित्वलाई बचाउनका लागि बदला लिने विनोदिनीमा दयाभाव पनि उत्तिकै छ । विनोदिनीका वरिपरि पुरुष पात्र फनफनी नाचिरहेका छन् ।

यस उपन्यासमाथि बनेको फिल्म हेरिसकेको र अन्य भाषामा पढिसके पनि असली स्वाद लिनलाई बंगालीमा पढेँ । टैगोरको साहित्यिक शक्ति–शिल्पको रसास्वादन गर्न र दक्षिण एसियाली भाषा अध्ययन गर्न मूल कृति दोहोर्‍याएको हुँ । १९ औँ शताब्दीमा रानी मोहन रोय, ईश्वरचन्द्र विद्यासागरजस्ता विद्वान्ले सतीप्रथाविरुद्ध विधवा विवाहका पक्षमा आवाज बुलन्द पारेका थिए । यो त्यही समयको उपन्यास हो । अनन्त दुःख र संघर्षमा होमिएको जीवनयात्राको अन्त्यमा आशा र सुखको किरण दिने टैगोरको लेखनले मलाई सधैँ आकर्षित गर्छ । अँध्यारोभित्रबाट पनि उज्यालो खोज्ने/देख्ने उनको क्षमता प्रेरणादायी लाग्छ । यस उपन्यासमा विनोदिनीले पनि सबै थोक त्यागेर हिँडेकी छिन् । टैगोरको विचारमा यदि संयोगान्त बनाइदिएको भए विनोदिनीले घर गृहस्थी गर्थिन् र अर्को जन्जालमा फस्थिन् । तर उनले मुक्तिमार्ग रोजिन् ।

दक्षिण एसियाली कला र मिथकलाई बुझ्न जियोफ्री स्यामुअलको द ओरिजिन अफ योगा एन्ड तन्त्र दोहोर्‍याएर पढ्दै छु । दक्षिण एसियाली संस्कृतिमा गहिरो अध्ययन गरेका स्यामुअल उति चर्चित लेखक नभए पनि उनको प्राज्ञिकता उच्च छ । सहरी जीवनमा रहेका ‘देवदेवी’ परम्परालाई विशेष अध्ययन गरिरहेकाले पनि यस्ता किताब मेरा प्रिय छन् ।

मनमा जागिरहने जिज्ञासा हो, भयंकर देखिने महाकाली, भैरवका मूर्ति किन सुन्दर मानिन्छ ? भयानकतामा सुन्दरता र सुन्दरतामा भयानकता सम्भव छ ? नरमुण्डधारी भगवतीलाई पनि आमाजत्तिकै सुन्दर ठानिनु पछाडिका मनोविज्ञान के होला ? कला, मूर्ति र मन्दिरले भरिपूर्ण काठमाडौँ उपत्यकालाई मिथकका कोणबाट गहन अध्ययन गर्न जरुरी छ ।

दक्षिण एसियाली र खासगरी नेपाली मिथक परम्पराबाट बुझ्न सकिन्छ, योग र तन्त्र बेग्लै विधा भए पनि परस्परमा मिल्छन् पनि । तिनका समानतालाई राम्ररी बुझ्न सके विरोधाभासको अर्थसम्म पुग्न सकिन्छ । भय र वीर भावमा समेत लुकेर बसेको करुणा बोध गर्न हाम्रा पुराना योग र तन्त्रको इतिहाससम्म पुग्नुपर्ने हुन्छ । यसमा मलाई द ओरिजिन अफ योगा एन्ड तन्त्रले सघाइरहेको छ ।

वैदिक परम्परामा रहेको बुर्जुवा प्रवृत्तिलाई चिर्न पनि तन्त्रको विकास भएको देखिन्छ । लामो तपस्याबाट मात्रै निर्वाण प्राप्त गर्न सकिने वैदिक अनुशासनभन्दा विपरीत मांस र मैथुनबाट पनि शान्ति र बुद्धत्व हासिल हुने ढोका तन्त्रले खोलिदियो । यज्ञयज्ञादि गर्ने सामर्थ्य नभएका गरिबजनका लागि मुक्तिमार्ग हो, तन्त्र ।

हाम्रा दृष्टिकोण, परम्परा, विचारधाराको समकालीन स्वरुपबाट केही ज्ञान हासिल गर्नु छ भने योग र तन्त्रका ऐतिहासिक अध्ययन जरुरी हुन्छ । मानसिक विचारधाराकै उपज हो, कला । हाम्रो मनोविज्ञानका अनेक आयाम मूर्तिकला र चित्रकलामा मुखरित हुन्छन् । हामी एउटा रंगमा अर्को रंग देख्न सक्छौँ । विरोधाभास मानव इतिहासकै प्रवृत्ति हो । तर त्यो विरोधाभासलाई सहजै खुट्याउन सक्दैनौँ । त्यसका लागि योग र तन्त्रको लामो परम्परामै पुग्नुपर्छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: असार २४, २०७६

ट्याग: तीन किताब