सादगी नेतासँग आलुचटनी

  • नोटबुक

- गोकुल अर्याल

सत्ता वा प्रतिपक्ष, जुनसुकै नेतालाई पनि उखान टुक्काले प्रहार गर्ने खुबीका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसँग केही घन्टा बसजम गर्ने अवसर जुटेको थियो । जापान बस्ने सालो भाइलाई गाउँबाट पठाइदिएको साढे दुई माना घिउ कोसेली पुर्‍याउन म केसी बस्ने मैतीदेवी घर पुगेँ । त्यहाँ पुगेपछि मात्र थाहा पाएँ, जापान घिउ लैजाने केसीका छोराबुहारी रहेछन् ।

कुक भिसामा १० वर्षदेखि जापानमा काम गर्दै आएका रहेछन्, केसीका छोराबुहारी । चित्रबहादुरसँग मेरो कुनै चिनजान थिएन । नेताका छोराबुहारी, नातिनातिना पनि मिजासिला लागे । पछिल्लो समय सर्वहारा पुँजीवादी कम्युनिस्ट नेता–परिवारमा हुर्किंदै गएको राणा/शाह खानदानी लवज केसी परिवारले सिकेको रहेनछ ।

८० छुनै लागेका र बाग्लुङ गल्कोट थातथलो भएका वृद्ध–तन्नेरी नेतासँगको भेटमा धेरै कुरा जान्ने मौका पाइयो । चियाका सोखिन रहेछन्, केसी । दैनिक ५–७ कप दूध चिया केसीका नाममा पाक्दो रहेछ, कोठामै । ३ घन्टे बसाइमै दुईचोटि दूध चियाको चुस्की मात्र होइन, उसिनेको आलु, हरियो खुर्सानीसँग पिसेको नुन अचारका रुपमा नास्ता खाने अवसर पनि मिल्यो । उनीसँग बिदा भएपछि मेरो मनमा यही प्रश्नले डेरा जमाइरह्यो– कम्युनिस्ट ब्रान्डको सत्ताले मत्त नेपाली वाम नेताहरुले चित्रबहादुरको सादगीपन अँगाल्न सक्लान् ?

उधारोमा शल्यक्रिया

एक महिनादेखि निरन्तरको दाँत दुखाइलाई ४५० एमजीको कालभान एन्टिबायटिक औषधी खाएर सातामै निको हुने आशले निरन्तर कार्यालय धाइयो । औषधी खाए पनि दाँत दुख्न छाडेको थिएन । सहकर्मी यमन मानन्धरले दाँत दुख्नुको कारण किरा लागेर मात्र नभई त्यसले ट्युमर र क्यान्सरसम्म निम्त्याउन सक्ने सुझाएपछि पो म झसंग भएँ ।

किराले खाएको दाँत मात्र फाल्ने मनसाय भए पनि ट्युमर र क्यान्सरको त्रास आइलागेपछि चावहिल गोपीकृष्णनगरस्थित ओमसमाज डेन्टल हस्पिटलमा ३० रुपैयाँ शुल्कको टिकट लिएर पालो कुरेँ, ११ असारमा । दाँत उपचार महँगो त छँदै छ, त्यसमा पनि निजी अस्पताल । उपचारका लागि चिनापर्ची साथीको सिफारिससहित ओमसमाज गएको थिएँ । टिकट शुल्क सस्तो, सेवासुविधा उत्कृष्ट भए पनि शुल्कचाहिँ अति महँगो रहेछ ।

पालो आएपछि दाँत जँचाउन डा सुरेन्द्र आचार्यकहाँ पुगेँ । खासमा किराले गर्दा दाँत दुखेको नभई गिजा र दाँत दुवैमा पिप जमेकाले बढी सताएको बताए, डा आचार्यले । त्यसका लागि शल्यक्रिया गर्न सुझाए । शल्यक्रिया गरेर गिजाको पिप र दाँतमा जमेको पानी फाल्न डा आचार्यको टोलीलाई करिब ५ घन्टा लाग्यो । दाँतको शल्यक्रिया साह्रै पीडादायी हुँदो रहेछ । कारण सिमेन्टमा ड्रिलिङ गरेजस्तो दाँतमा पनि सोही प्रक्रिया अपनाइँदो रहेछ । यसकारण आवासीय सुविधा नभएको अस्पतालमा बेलुकी ५ देखि १० बजेसम्म एक्लै बेडमा बस्नुपर्‍यो ।

शल्यक्रिया सकिएपछि डा आचार्यले प्रेस्क्रिप्सनमा त्यसको खर्च लेखिदिए, २० हजार रुपैयाँ । दुखेको दाँत फाल्न लाग्ने हजार रुपैयाँ पनि तिर्न सक्ने हैसियतमा थिइनँ । त्यसकारण जुन साथीको सिफारिसमा औषधोपचार गर्न गएको थिएँ, उसैलाई म्यासेज गरेँ र अस्पताल बोलाएँ । साथी आइपुगेपछि अस्पतालका प्रमुख डा सुवास घिमिरेसँग साथीले कुरा गरेछन् । अन्त्यमा साथीको रोहवरमा उधारो शल्यक्रिया गरेर राती साढे १० बजे घर फर्कें ।

उपचारपछि मात्रै मूल्य !

साधारणतः अस्पतालमा टिकट काटेर मात्र बिरामी जाँच गरिन्छ । रोग जटिल भए/नभएको खुट्याउन एक्सरेलगायत जे परीक्षण गर्नुपर्ने हो, सबै गरेपछि मात्र रकम तय हुन्छ । तर ओमसमाजको प्रचलन अनोठौ लाग्यो, मलाई । दाँतको शल्यक्रिया खर्च सोध्दा ‘चिन्ता नलिनुस् म मिलाइदिन्छु’ भन्नेबाहेक ठ्याक्कै रकम तोकिदिँदा रहेनछन् डक्टरले ।

औषधोपचार, शल्यक्रिया जे गर्नुपर्ने हो, सबै सकेपछि मात्र बिरामीका लागि शुल्क तोकिँदो रहेछ । यसबारे डा आचार्यलाई पनि सोधेँ । आफू जागिरे मात्र भएकाले शुल्कबारे बताउन नसकिने जवाफ दिए ।

अर्को दिन अस्पताल गएँ । उधारो रकम बुझाएँ । पैसा असुली काउन्टरमा रहेकी नर्सलाई अस्पतालमा नागरिक बडापत्र, मूल्यसूची आदि राखिने प्रचलन सुरु भइसकेको सम्झाएँ । उनले यत्ति भनिन्, “यसअघिको मूल्यसूची पुरानो भएकाले नयाँ बनाउन दिएका छौँ । नयाँ बनेर आउन केही समय लाग्छ ।

अन्यथा नलिनुहोला ।”

प्रकाशित: असार २४, २०७६