‘सिङ्लामा स्वर्गको आभास’

  • ९ प्रश्न

- मनबहादुर बस्नेत

वी विल राइज फाउन्डेसनको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगितामा जर्नी टु सिङ्ला सर्वोत्कृष्ट ठहरिएसँगै नृत्य निर्देशक सुकबहादुर तामाङ, ३०, को परिचयमा डकुमेन्ट्री निर्देशकको फुँदा जोडिएको छ । १ सय ३२ प्रतिस्पर्धीलाई उछिनेर पहिलो बनेका निर्देशक तामाङसँगको कुराकानी :

अब कोरियोग्राफीबाट डकुमेन्ट्री निर्देशनतिर फड्को मार्ने हो ?

कोरियाग्राफी निकै पहिलेदेखि गरियो । बीचमा दुइटा तामाङ भाषाका फिल्म निर्देशन पनि गरेँ । एउटै काम गरिरहनुभन्दा फरक अनुभव लिऔँ भनेर सर्ट डकुमेन्ट्रीमा हात हालेको हो । तीनै विधामा समानान्तर रुपमा काम गर्छु ।

यो क्षेत्रलाई डकुमेन्ट्रीमा उतार्नुपर्ने आवश्यकता किन देख्नुभयो ?

धादिङको खनियाबास गाउँपालिका र रुबी भ्यालीको सिमानामा पर्छ, सिङ्ला । यहाँ हरेक जनैपूर्णिमामा मेला लाग्छ । उक्त मेलामा एक पटक म पनि पुगेँ । मेरो जन्मथलोबाट नजिकै यति राम्रो ठाउँ देखेर चकित परेँ । यति सुन्दर ठाउँको प्रचार हुन सके पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न सकिन्छ भन्ने लाग्यो ।

त्यस्तो विशेष के भेट्नुभयो ?

यहाँको दृश्य र संस्कृति । सिङ्ला जाँदा जति पनि ठाउँ भेटिन्छन्, त्यसका छुट्टाछुट्टै विशेषता छन् । त्यो मलाई मौलिक लाग्यो । गणेश हिमाललगायत ६/७ वटा हिमशृंखला आँखैअगाडि सर्लक्कै देख्दा स्वर्गकै आभास हुन्छ । तामाङ र गुरुङ जातिको म्हेन्दो माया, साइखोले, मानेदोरा भाकाका गीत गाइन्छ, जुन मौलिक छ ।

यो क्षेत्रमा पर्यटक फिटिक्कै जाँदैनन् ?

काठमाडौँबाट नजिकै भएर पनि फाट्टफुट्ट मात्र आन्तरिक पर्यटक पुग्ने रहेछन् । सुटिङका क्रममा १०/१५ दिन बस्यौँ । पर्यटक कोही भेटिएनन् । मुस्किलले मानिस त्यहाँ पुग्ने रहेछन् ।

पर्यटक पुग्नलाई पूर्वाधार हुनुपर्यो ? खाना–बस्नको सुविधा रहेछ ?

धेरै पर्यटकका लागि बन्दोबस्त गर्न गाह्रो छ । नुवाकोटको गोंगभञ्ज्याङमा फाट्टफुट्ट होटल भेटिन्छन् तर स्तरीय छैनन् । पूर्वाधार बन्ने हो भने यो गज्जबको गन्तव्य हुनेछ ।

डकुमेन्ट्री बनाउँदाको स्मरणीय क्षण केही छ ?

गत वर्ष भदौमा उक्त क्षेत्र पुगेका थियौँ । जुकाले धेरै टोक्यो । झरनाको फोटो खिच्दाखिच्दै ड्रोन क्यामेरा खस्यो । सबै मिहिनेत खेर गयो भनेर अत्तालिएका थियौँ । निकै बेर खोजेपछि धन्न रुखमा अड्किएको अवस्थामा भेटियो । अतिरिक्त पंखा लगेकाले फेरि खिचियो ।

स्थानीय निकायले पर्यटकीय रुट बनाउन केही गरेको छैन ?

गाउँपालिकाले पर्यटकीय थलो बनाउन पहल गरिरहेको छ भन्ने सुन्छु । ठोस काम केही गरेको छैन । प्रकृतिको देन उपयोग गर्न नसकेको देख्दा दुःख लाग्छ ।

यहाँबाट पदमार्गको रुट कहाँ–कहाँ निस्कन्छ ?

काठमाडौँबाट नुवाकोटको भाल्चे गाउँसम्म गाडीमा पुगिन्छ । गोंगभञ्ज्याङमा खाने–बस्ने ठाउँ भेटिन्छ । त्यसपछि रुप्चेमा गोठाले जीवन देख्न सकिन्छ । त्यसपछि सिङ्ला आउँछ । सिङ्लादेखि माथि पङसङ हुँदै रसुवा निस्कन सकिन्छ । अर्कोचाहिँ रुबी भ्याली पनि जोडिन्छ ।

कोरियोग्राफी, फिल्म, डकुमेन्ट्रीमध्ये कुनमा बढी आनन्द लाग्यो ?

केमा आनन्द आयो भन्नुभन्दा पनि सबैको आफ्नै महफ्व छ । डकुमेन्ट्रीमा अझ चुनौती रहेछ ।

प्रकाशित: असार २३, २०७६