ठाउँको ठाउँ ठट्टा

- गोकर्ण गौतम

यतिबेला एउटा भिडियो नेपालको युट्युब ट्रेन्डिङमा छाइरहेको छ ।

दृश्य तिनै–यिनै हुन्, तर कलाकारको दृष्टि बेग्लै । शिष्टता भण्डारीले हपहपी गर्मीलाई स्ट्यान्ड अप कमेडीको विषय बनाइन् । अपलोड गरियो, युट्युबमा । भ्युज नै पाँच दिनमा पाँच लाख ।

डेब्यु भिडियोबाटै चर्चा कमाउने शिष्टता पहिलो स्ट्यान्ड अप कमेडियन होइनन् । ‘रिलेसनसिप्स एन्ड ब्रेकअप्स’ शीर्षकको सिमरन पाण्डेको सो त ‘भाइरल’ नै भयो । छाडा बोलेको भन्दै कतिपयले आलोचना गरे । तर अधिकांशले उनको आत्मविश्वास र प्रस्तुति–शैलीको तारिफ गरे । सिमरनलाई यही भिडियोले सेलिब्रिटी बनायो । दुई सातामा २८ लाख भ्युज । उनले स्ट्यान्ड अप कमेडी थालेको तीन महिना मात्रै भयो ।

हामीकहाँ फिल्म र टेलिफिल्ममा हास्य विधा खुब फस्टाएको छ तर स्ट्यान्ड अप कमेडीचाहिँ भर्खर वामे सर्दै छ । मूलधारमा मनोज गजुरेल, सन्दीप क्षत्रीबाहेक अर्को चलेका कलाकार भेट्टाउन मुस्किल पर्छ । भिडियो स्ट्रिमिङ साइट युट्युबको सहज पहुँचले कलाका अन्य विधाजस्तै स्ट्यान्ड अप कमेडीमा पनि एक खालको तरंग आएको छ । तन्नेरीहरु यसमा अभ्यस्त हुँदै छन् । राजधानीका रेस्टुराँले कमेडीलाई पनि समेट्नु उनीहरुका लागि थप ऊर्जा–स्रोत भएको छ ।

शंकै छैन, पुरुष कलाकारको बाहुल्य छ । महिलाको उपस्थिति पनि कम उत्साहजनक छैन । सिमरन र शिष्टता पछिल्ला उदाहरण भइहाले, जसले स्ट्यान्ड अप कमेडीबाटै ‘नाम’ कमाए र ‘दाम’ कमाउने गोरेटोमा छन् । करिब एक दर्जन युवती यसमै सक्रिय छन् । हप्तैपिच्छे नयाँ प्रतिभाको उदय भइरहेको छ । स्ट्यान्ड अप कमेडीबाटै चिनिएकी श्रद्धा वर्मा भन्छिन्, “संख्या कम छ तर गुणात्मक कोणबाट हामी खास पछाडि छैनौँ ।”

श्रद्धाको यो दाबी पत्याउने आधार छन् किनभने स्ट्यान्ड अप कमेडीमार्फत दुई नेपालीले अन्तर्राष्ट्रिय मञ्च पाइसके । शैली बस्नेत र सीमा गोल्छाले हाल फक्रिरहेको कमेडीको बीजारोपण गरेका हुन् । सन् २०११ मा उनीहरुले स्ट्यान्ड अप कमेडी थाल्ने बेलासम्म नेपालमा कमेडी प्लेटफर्म बनिसकेको थिएन । त्यसैले शैली–सीमाले आफू प्रस्तुति दिने मात्र होइन, अडियन्स खोज्ने, इभेन्ट गर्ने, भारतीय कलाकार ल्याउनेलगायत काम गरे । नियमित सो हुँदा स्ट्यान्ड अप फैलँदै गयो, नयाँ–नयाँ कलाकारले मौका पाए ।

यही कारण हुनुपर्छ, श्रद्धा, रजिना श्रेष्ठजस्ता उदीयमान कलाकार शैली–सीमालाई आदर्श मान्छन् । ‘सात महादेशका हिमाल चढेर’ ख्याति कमाएकी शैली अमेरिकामा स्ट्यान्ड अप कमेडीबाट परिचित हुँदै छिन् । न्युयोर्कको गथमजस्तो प्रतिष्ठित कमेडी क्लबमा व्यावसायिक सो गरिसकेकी छन् । इएसपीएन, न्युयोर्क डेली न्युजलगायतका अमेरिकी मूलधारका सञ्चार माध्यमले शैलीबारे समाचार–सामग्री सम्प्रेषण गरिसकेका छन् ।

श्रद्धा वर्मा स्ट्यान्ड अप कमेडीमा अग्रसर हुनुमा कहीँ न कहीँ शैली र उनको सफलताको भूमिका छ । उनी आफैँलाई यस्तै लाग्दो रहेछ । युट्युबमा उनको नाम सर्च गरे बग्रेल्ती कमेडी भिडियो भेटिन्छन् । प्रायः अंग्रेजीमा प्रस्तुति दिइरहेकी हुन्छिन् । व्यंग्यको निशानामा पर्छन्, सरकारी कलेज, फ्यान्सी रेस्टुराँ, धर्म, विज्ञापन प्रणालीदेखि अहिलेको लभ–अफेयरसम्म । युट्युबलाई पनि सिकाइको माध्यम बनाएकी श्रद्धा भन्छिन्, “मलाई जुन विषयले छोयो, त्यसबारे अलि बृहत् सोधखोज गर्छु । त्यसपछि रमाइलो ढंगले स्क्रिप्ट तयार पार्छु । आफ्नो अनुभव मिसाइयो भने अझ रोचक हुँदो रहेछ ।”

हिजोआज श्रद्धा हरेक सोका लागि पूर्ण स्क्रिप्ट तयार पार्ने गर्छिन् । पहिलो प्रस्तुति भने तयारीबिनै गरेकी थिइन्, विकल्प आर्ट क्याफेमा । सुनाउँछिन्, “दैनिक जीवनमा जे–जे भोगिन्छ, त्यसमा जोक्स मिसाएर भनेँ । दर्शकले मन पराए । त्यसपछि अझ आँट आयो ।”

श्रद्धा कुनै समय नव्यता म्यागजिनमा फिचर लेख्थिन् । लेखन पृष्ठभूमिले कमेडीको स्क्रिप्ट तयार पार्न सहज भएको ठान्छिन् उनी । यस्तै अनुभव छ, रजिना श्रेष्ठको । रजिना विभिन्न अंग्रेजी म्यागजिनमा मात्र होइन, नियमित ब्लग पनि लेख्ने गर्थिन् । बायोटेक्नोलोजी पढेकी उनी आजभोलि स्ट्यान्ड अप कमेडीमा रमाइरहेकी छन् । दुई वर्षअगाडि एक रेस्टुराँमा ‘फुटबल मलाई मन पर्दर्नै’ शीर्षकमा प्रस्तुति दिइन् । त्यो खुब रुचाइयो । साथीभाइमाझ जोक्स भनेर हँसाउन माहिर थिइन् । यही गुणलाई निखारेर ठूलो समूहमा पुग्न खोज्दै छिन् ।

रजिनाको सिद्धान्तचाहिँ यस्तो रहेछ, “मुख्य ध्येय त हासाउनु नै हो । बीचबीचमा सन्देश पनि घुसाउन सकियो भने अझ काइदा ।” सुरुआती दिनमा निःशुल्क सो गर्ने रजिनाले अहिले पारिश्रमिक माग गर्न थालेकी छन् । रेस्टुराँमा राती सो गर्नुपर्छ, त्यो पनि रक्सी पिउनेमाझ । पहिले–पहिले अप्ठेरो लाग्थ्यो । भन्छिन्, “अहिले असहज र डर लाग्दैन । घरमा पनि बुझाइसकेँ । रोकतोक छैन ।”

फिल्म वीरविक्रमको हास्य समीक्षा गरेकै कारण स्ट्यान्ड अप कमेडियन प्रनेश गौतम समातिए । त्यही बेला सिमरन ‘कन्ट्रोभर्सी’ मा परिन्, कमेडी भिडियोकै कारण । केटाकेटीले एकअर्काको संवेदनशील अंग हेर्दा व्यक्त गर्ने प्रतिक्रियालाई ठट्टयौली शैलीमा प्रस्तुत गरिन् । ‘छाडा केटी’ भन्दै उनको ट्रोल बनाइयो । विवादबाट आफू विचलित नभएको उनको भनाइ छ । “युट्युबमा भिडियो राख्नुअगाडि त्यही कन्टेन्ट रेस्टुराँमा पाँच पटक प्रस्तुत गरिसकेकी थिएँ, कहिल्यै नकारात्मक प्रतिक्रिया आएन,” सिमरन भन्छिन्, “पछि विवाद भयो । भन्ने भनिरहन्छन्, वास्ता छैन । मैले सत्य कुरा नै गरेकी हुँ ।”

लाजिम्पाटस्थित अल्पास रेस्टुराँमा अडिसनबाटै स्ट्यान्ड अप पर्फमेन्सका लागि छानिएकी थिइन् । सामाजिक सञ्जालमा अनेक नकारात्मक टीकाटिप्पणी भए पनि भेटघाट र म्यासेजमा हौसला पाएको उनले सुनाइन् । उनको प्रश्न छ, “त्यही कुरा केटाले गर्दा सामान्य हुने, केटीले गर्दाचाहिँ छाडा ? यो कुण्ठा र विभेदको प्रतिविम्ब भएन र ?”

प्रनेश र सिमरन विवादपछि स्ट्यान्ड अप कमेडीको सीमामाथि प्रश्न भने उठेको छ । यत्तिकै छाड्दा छाडापनले प्रश्रय पाउने भएकाले नियमन गर्नुपर्नेसम्मका आवाज उठेका छन् । हुनुपर्ने के त ?

कानुनमा स्नातक अध्ययनरत श्रद्धा भन्छिन्, “सामाजिक मूल्य–मान्यता र संस्कार हामीलाई पनि थाहा छ । त्यसैले अरुले नियमन गर्ने, निर्देशन दिने होइन । सचेत नागरिक भएकाले आफैँले स्वनियमन गर्नुपर्छ ।” केटी भएकै नाताले निश्चित दायरामा खुम्च्याउन खोज्ने सामाजिक मनोविज्ञानलाई नकार्छिन् । रजिना भन्छिन्,

“हाम्रो उपस्थितिले स्ट्यान्ड अप कमेडी समृद्ध हुन्छ । केटीहरुका कैयौँ कथा मूलधारमा आएका छैनन् । हामी हास्यशैलीमा आफ्ना अनुभव सेयर गर्न खोज्दैछौँ ।”


भारत–अमेरिकासम्मै

स्ट्यान्ड अप कमेडीभित्र ‘भेन्ट्रिलोक्विज्म’  विशेष विधा मानिन्छ । कलाकारको साथमा ‘डमी’ हुन्छ । दुवै एकअर्कासँग कुरा गर्दै हसाउँछन् । देख्ने/सुन्नेलाई लाग्छ, दुई जना बोल्दैछन्, तर खासमा फरक स्वरमा कलाकारले नै ‘डमी’ को रूपमा बोलिरहेका हुन्छन् । अनौठो लाग्ने यही विधामा आफूलाई पोख्त बनाउँदै छिन्, सीमा गोल्छा । नेपालकै पहिलो ‘भेन्ट्रिलोक्विस्ट’ हुन् उनी । आठ वर्षअघि जावलाखेलमा पाँच मिनेट सो गरेर उनको यो यात्रा सुरु भएको थियो, अहिले लगातार ४५ मिनेट प्रस्तुति दिन सक्छिन् ।

सीमा संयुक्त परिवारमा बस्थिन् । घरमा ५–६ जना बच्चा हुन्थे ।  पपेटमार्फत जोक्स गरेर बच्चालाई हसाउँथिन् । घरमा अन्य सदस्यले पनि चाख मान्थे । सीमा भन्छिन्, “त्यसपछि मैले युट्युब हेरेर ‘भेन्ट्रिलोक्विज्म’ सिक्न थालेँ । अभ्यास गर्दै जाँदा म आफैँलाई औधी मन पर्न थाल्यो ।” अलिअलि सो गर्न सक्ने भइन् तर नेपालमा खास प्लेटफर्म थिएन । नयाँ शैलीका मान्छेलाई बुझाउनै मुस्किल पर्थ्यो । त्यसैले थप अवसरको खोजीमा भारत गइन् । मुम्बईमा ‘ओपन माइक’ मा चार मिनेट सो गरिन् । अन्य सहर चहारिन् । भारतमै पनि यस शैलीको कमेडी गर्ने कलाकार कम छन् । त्यसमाथि सीमाको मिहिनेत । अनि त, भटाभट सो पाउन थालिन् । अहिले प्रत्येक महिनाजसो दिल्ली र मुम्बई पुग्छिन्, हास्य पस्कन ।

सीमाकी छोरी अमेरिकामा पढ्दै छिन् । छोरीलाई भेट्न जाँदा अमेरिकामा समेत सो गर्न भ्याइन् । त्यहाँको प्रतिक्रियाले अझ हौसला मिल्यो । थाइल्यान्डमा सो गरिसकेकी छन् । ‘प्राइभेट सो’ मा पनि व्यस्त हुन्छिन् । बेलाबखत नेपालमा पनि गर्छिन् । मुस्कुराउँछिन्, “पहिले नेपालमा मान्छे हाँस्दैनथे, अहिलेचाहिँ बुझेर हाँस्न थालेका छन् । म पनि रोचक बनाउन जोडतोडले अभ्यास गर्दै छु ।”

प्रायः कामकाजी महिला आमा बनेपछि घरमै सीमित हुन्छन् तर सन्तान हुर्काउँदै गर्दा सीमाले आफ्नो क्षमता पहिचान र विस्तार गरिन् । अझ चम्कँदै छिन् ।

प्रकाशित: असार २३, २०७६