आवरण «​​​​​​​ नयाँ नयाँ विषयको लहर

- सुनिता लोहनी

काठमाडौँको क्याम्ब्रिज पब्लिक हाई स्कुलबाट माध्यमिक विद्यालय परीक्षा (एसईई) गरेका अस्मिन अधिकारी, १६, अहिले विभिन्न कलेज धाउँदै छन्  । एसईईमा ३.७ जीपीए ल्याएका अस्मिनले एक कलेजमा प्रवेश परीक्षासमेत दिइसके । भन्छन्, “डाक्टर बन्ने इच्छा भएकाले विज्ञानमा कक्षा ११ पढ्न लागेको ।”

यसपालि एसईई गरेका अस्मिनजस्ता विद्यार्थी तथा तिनका अभिभावक विभिन्न अध्ययन संस्था धाउनमै व्यस्त छन् । कतिपय विद्यार्थी आफू पढेको विद्यालयमा कक्षा ११ र १२ भए पनि नयाँ परिवेश र माहोल खोजिरहेका छन् । आफ्नो विद्यालयमा पढ्न चाहेको विषय नभएपछि अन्यत्र गइरहेका दृष्टान्त पनि थुप्रै छन् ।

विद्यालय स्तरको पढाइ सकिनु भनेको स्वतन्त्रता र बृहत् जिम्मेवारीतर्फ नजिक हुनु पनि हो । शिक्षा ऐन (आठौँ संशोधन ०७३) ले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाका रूपमा परिभाषित गरेको छ भने राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन नतिजा पनि ग्रेडिङ प्रणालीमा गर्न थालेको छ । कतिपय विद्यालयले ११ र १२ को संरचना नराखिसकेकाले कैयौँ विद्यार्थी प्लस टु पढ्न अन्य शैक्षिक संस्था धाउन बाध्य छन् ।

कलेज बुझ्न आउने अधिकांश विद्यार्थीले खासै प्रश्न नगरेको शिक्षकको अनुभव छ । द टाइम्स इन्टरनेसनल कलेजका प्रिन्सिपल शंकरप्रसाद गैरे भन्छन्, “आफू के पढ्ने, त्यो विषय लिँदा के–कस्तो फाइदा हुन्छ भनेर सोध्ने न्यून छन् ।” विद्यार्थी चुप बस्नाले चुनौती थप बढेको उनी मान्छन् । विद्यार्थीको जीवनको महत्त्वपूर्ण क्षण भएकाले निडर भएर निर्णय लिन प्रोत्साहन गरिरहेको प्रिन्सिपल गैरे बताउँछन् ।

  सामान्य फेरबदल

पहिले उच्च माध्यमिक शिक्षा परिषद्ले जे पाठ्यक्रम बनाएको थियो, कक्षा ११ र १२ मा त्यसैको आधारमा पठनपाठन भइरहेको छ । पुराना पाठ्यपुस्तकलाई सामान्य परिवर्तन गरी विद्यार्थीले ५ वटा विषय पढिरहेका छन् । त्यसमा नेपाली र अंग्रेजी अनिवार्य विषय छन् । अन्य विषय संकाय हेरेर राखिएको छ । शैक्षिक संस्थाले कतिपय विषय अन्तर्राष्ट्रिय स्तरलाई अभ्यास गर्दै क्रेडिट नआउने हिसाबले पाठ्यक्रम विकास गरी पढाइरहेका छन् ।

कक्षा ११ र १२ मा संकाय हटाउने भनिए पनि त्यसअनुरूप पाठ्यक्रम भने विकास भइसकेको छैन । संकाय नहट्दा केही विद्यार्थी, अभिभावक एवं कलेज अझै उल्झनमा रहेको शिक्षाविद्को मत छ । निजी विद्यालयको संगठन हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा सरकारले तयारीबिनै ७ विषय पढाउन खोज्नु गलत भएको औँल्याउछन् ।

दक्षिण एसियाली मुलुकमै पनि ५ विषय पढाइ भइरहेकामा हचुवाका भरमा यस्तो निर्णय गर्न नहुने उनको तर्क छ । भन्छन्, “सरकार तयारीबिनै योजना ल्याउँछ । अहिले पनि नयाँ पाठ्यक्रम थप्ने भनेको छ । तर त्यसका लागि खोइ त शिक्षक दरबन्दी र सोहीअनुरूपको भौतिक संरचना ?”

शर्मा प्रिन्सिपल रहेको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस कलेजले कक्षा ११ र १२ का विद्यार्थीलाई आन्तरिक र बाह्य बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन एकाउन्टिङ ट्याली, एनिमेसन, भिडियो सम्पादन, व्यवसायी बन्ने तालिम अतिरिक्त विषयका रूपमा पढाउँदै आएको छ । यस्तै, स्नातकमा इन्जिनियरिङ पढ्न चाहनेका लागि पाठ्यक्रम बनाएरै पढाइरहेका छन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलका अनुसार नयाँ पाठ्यक्रम भने ०७७ बाट मात्रै लागू हुनेछ । कक्षा ११ र १२ का ३ ऐच्छिक समूहमा ब्युटिसियन तालिमदेखि बुढ्यौली शिक्षा तथा अन्तर्राष्ट्रिय भाषालगायत ६० भन्दा बढी विषय समेटिएका छन् । अब आउने ढाँचामा ४ वटा अनिवार्य विषय हुनेछन्,  नेपाली, अंग्रेजी, सामाजिक र जीवनोपयोगी शिक्षा । अरू ३ वटा समूहमा रहेका ऐच्छिक विषयमध्ये एक छान्न पाइनेछ ।

अब संकायभन्दा पनि विद्यालय र विद्यार्थीले माग गरेअनुसारका विषय पढाइ हुने पौडेल बताउँछन् । भन्छन्, “विज्ञान लिएर पढ्नेले मानविकी पनि पढ्न सक्छ तर स्नातक गर्ने बेला उसले कक्षा ११ र १२ मा लिएको विषय त्यसमा सहयोगी हुन्छ कि हुँदैन, त्यो भने ध्यानमा राख्नुपर्नेछ ।”

केन्द्रले सूचना तथा सञ्चार प्रविधि, सहकारी व्यवस्थापन, मानव मूल्य, बौद्ध दर्शन, औषधी, जडीबुटीजस्ता विविध विषय पनि समेटेको छ । साथै, मुन्धुम (किराती) शिक्षा, मैथिलीलगायत स्थानीय भाषा मात्र होइन, अन्तर्राष्ट्रिय भाषा पढ्न चाहने विद्यार्थीका लागि कोरियन, जापानिज, जर्मन भाषा ऐच्छिक विषयका रूपमा कक्षा ११ र १२ मा राख्न विज्ञसँग छलफल चलाएको छ ।

  थरी–थरीका विषय

कुमारीपाटीमा रहेको ओमेगा सेकेन्डरी स्कुलले यस वर्षदेखि कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रूपमा पढाउँदै छ । १ सय  पूर्णांक रहने यो विषयमा जापानी भाषा व्याकरणसहितको आधारभूत पाठ्यक्रम हुनेछ । ११ र १२ दुवैमा पढाइ हुने यो भाषा सरकारले उच्च शिक्षा अध्ययन र रोजगारीका लागि जापान खुलाएपछि स्कुलले त्यहीअनुरूपको जनशक्ति निर्माण गर्न पाठ्यक्रममा राखेको प्रिन्सिपल लावण्यप्रसाद ढुंगाना बताउँछन् ।

स्कुलले न्याय सेवामा खरिदार र नायब सुब्बाको काम गर्ने कर्मचारी अभाव भएपछि सरकारी नीतिअनुरूप मानविकीअन्तर्गत कानुनको एक विषय राखेको छ । ओमेगा मात्र होइन, कानुन विषयलाई कक्षा ११ र १२ मा प्राथमिकतामा राख्ने । रिभेरा इन्टरनेसनल एकेडेमी, चावहिलले ०७४ देखि नै कक्षा ११ र १२ मा कानुन विषय पढाउन थालेको छ । प्रिन्सिपल प्रज्ज्वल कोइरालाका अनुसार ०५१/०५२ मा प्रवीणता प्रमाणपत्र तहमा कानुन संकाय हटाउँदा टिप्पणी लेख्ने, मिसिल उठाउनेजस्ता सामान्य कामका लागि दक्ष जनशक्ति अभाव भयो । फेरि सरकारले पछिल्लो समय कम्पनी र संस्थान तथा नगरपालिका र गाउँपालिकामा अनिवार्य कानुन अधिकृत हुनुपर्ने प्रावधान राखेको छ । यसले पनि न्याय क्षेक्रमा जनशक्तिको खाँचो बजारमा छ ।

कक्षा ११ र १२ मा पूर्ण रूपमा कानुन संकाय पढाउने पहिलो कलेज हो, काठमाडौँ मोडेल कलेज (केएमसी), ललितपुर । अरूले मानविकीअन्तर्गत कानुनको एक विषय पढाउँछन् भने केएमसीमा ११ मा कानुनका ३ विषय पढाइ हुन्छन् भने १२ मा ५ विषय । पढाइसँगै प्रयोगात्मक कक्षाका रूपमा कानुनी मस्यौदा तयार पार्न सिकाइन्छ । स्नातकमा यदि कानुन विषय थप पढ्न मन नलागे त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालमा व्यवस्थापन विषय पढ्न सकिने अवसर रहेको प्रिन्सिपल सुरेन्द्र सुवेदी बताउँछन् ।

पाठ्यक्रम विकास केन्द्रले जीवनोपयोगी शिक्षा भनेर नयाँ पाठ्यक्रम थप्दै छ । तर रिभेरा इन्टरनेसनल एकेडेमीले पहिलेदेखि नै कक्षा ११ र १२ का विद्यार्थीका लागि ‘२१ औँ शताब्दीका सीप’ नामक ऐच्छिक विषय पढाइरहेको छ । प्रिन्सिपल कोइराला भन्छन्, “विद्यार्थीलाई सिर्जनात्मक बनाउन, विश्लेषण गर्न, प्रस्तुति शैली, प्रविधि प्रयोग र नैतिक मूल्य–मान्यता हामीले पढाइरहेका छौँ ।” उनका अनुसार बोल्ने शैली, आन्तरिक सीप सुरुदेखि नै विकास गर्दै गए पछि बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।

अर्थ मन्त्रालयको ०७५/७६ को तथ्यांकअनुसार पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादनको २.१ प्रतिशत योगदान दिएको छ । सरकारले सन् २०२० लाई भिजिट वर्षका रूपमा मनाउँदै छ । यसका लागि थप नयाँ १ सय गन्तव्य पहिचान गरी त्यसको बजारीकरण सुरु भइसकेको छ । पर्यटन व्यवस्थापनका लागि बजारमा दक्ष जनशक्ति माग उच्च छ । यो माग धान्न हाम्रा कलेज कत्तिको सक्षम छन् त ?

ज्ञानेश्वरस्थित इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजले स्थापना कालदेखि नै होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट पढाउँदै आएको छ । युरोपेली मुलुक अस्ट्रियाको पर्यटन विश्वविद्यालय सार्चबर्गसँग सम्बन्धनप्राप्त आईएसटीले होटल व्यवस्थापन सम्बन्धका विभिन्न आधारभूत तालिम दिई प्रमाणपत्र प्रदान गर्दै आएको छ ।

विद्यार्थीलाई सामान्य पाठ्यक्रम पढाउनेभन्दा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको कलेजकी प्रिन्सिपल सम्झना बस्नेत बताउँछिन् । भन्छिन्, “सरकारले भनेअनुसारको पाठ्यक्रम त छँदै छ, साथमा बारिस्टा, बार र बेकरीको तालिम पनि हामी दिइरहेका छौँ ।” कक्षा १२ मा पुगेपछि उद्योगमा ३ महिना थप इन्टर्नसिप गर्ने व्यवस्थाका कारण विद्यार्थीले स्तरीय होटलमा जागिर पाएका छन् । १८/१९ वर्षमै उनीहरू बजारमा उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भइरहेका छन् ।

 मानविकी र ललितकलाको प्रभाव

नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीले विज्ञान, व्यवस्थापन संकायसँगै यसै वर्षदेखि ललितकला पनि थपेको छ । एकेडेमीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठका अनुसार विगतमा भर्नामा आएका विद्यार्थीको रुचि देखेर चित्रकला, मूर्तिकला तथा डिजाइनका कोर्स पाठ्यक्रममा राखिएको हो । जो विद्यार्थी किताबी कुरा पढ्न अग्रसर हुँदैनन्, उनीहरूका लागि यो प्रयोगात्मक विषय राखेको श्रेष्ठको भनाइ छ । यसमा ७५ प्रतिशत प्रयोगात्मक हुन्छ भने २५ प्रतिशत लिखित जाँच । विश्वव्यापी रूपमा प्रसिद्ध फोटोग्राफी, वेब डिजाइन, मुरल आर्ट (भित्ते चित्र) मा रुचि राख्नेले पनि सुन्दर भविष्य बनाउन सक्छन् भनेर ती विषय थपेको नोबेल एकेडेमीको भनाइ छ ।

कतिपय विद्यार्थीले स्नातकोत्तर गरे पनि सो विषयलाई व्यावहारिक प्रयोगमा ल्याउन भने सक्दैनन् । यसकारण प्रयोगात्मक अभ्यासको खाँचो भएको विज्ञहरूको बुझाइ छ । विज्ञका अनुसार कक्षा ११ र १२ मै विज्ञानतर्फ रेडियोलोजी, इलेक्ट्रिसिटीलगायतका विषय पढाउने हो भने दक्ष जनशक्ति त्यसै तयार हुन्छन् ।

छाउनीस्थित काठमाडौँ भ्याली स्कुल/कलेजले नयाँ पाठ्यक्रम नथपे पनि त्यसलाई सहयोग पुग्ने अतिरिक्त प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ । कलेजले ट्राभल एन्ड टुरिजम र व्यवस्थापनतर्फ बिजनेस स्टडिज पढाइरहेकाले त्यसलाई सहयोग पुर्‍याउन कम्प्युटरमा विन्डोज सिकाइन्छ । प्रेरणात्मक तालिम दिइन्छ । सरकारी प्रावधानअनुसार पाठ्यक्रममै बढी केन्द्रित हुनुपर्दा अतिरिक्त विषय पढाउन गाह्रो भएको कलेजका अध्यक्ष स्वागत श्रेष्ठ बताउँछन् ।

  शिक्षकमै निर्भर

पाठ्यक्रम विकास केन्द्रले सार्क क्षेत्रमा ११ र १२ मा जस्तो पढाइ हुन्छ, सोही खाले शिक्षानीति अपनाएर पाठ्यपुस्तक तयार पारेको छ । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार पाठ्यक्रमभन्दा पनि पठनपाठन अर्थात् प्रस्तुति शैली महत्त्वपूर्ण हुन्छ । भन्छन्, “वस्तुगत कुराभन्दा विश्लेषणात्मक क्षमतालाई ध्यान दिनुपर्‍यो । पाठ्यक्रममा भएका ज्ञानलाई शिक्षकले दैनिक जीवनसँग जोड्न सक्नुपर्‍यो ।”

प्रायः कक्षा ११ र १२ मा विश्वभरि नै ६० प्रतिशत केन्द्रका कुरा पढाइन्छ भने बाँकी प्रदेशका । अधिकांश देशमा अंग्रेजी, विज्ञान र गणित प्रमुख विषयका रूपमा रहन्छन् भने बाँकी ऐच्छिक । नेपालको कक्षा ११ र १२ मा विदेशमा यही नीतिअनुरूप मान्यता दिइएको छ । उनीहरूले जुन विषय आफ्नो देशमा पढाइ हुँदैन, त्यसको क्रेडिट दिँदैनन् । धेरै सम्भावना जुन विषयमा छ, तिनलाई प्राथमिकता दिएर पाठ्यक्रम तयार पारेको केन्द्रका महानिर्देशक पौडेल बताउँछन् । पौडेलका अनुसार गत वर्ष १५ वटा विषय परिमार्जन गरिएको थियो, जसमा चार वटा अनिवार्य विषय थिए । यस वर्ष २० वटा विषय परिमार्जन भएका छन् ।

पहिले ५ सय पूर्णांक हुन्थ्यो, अहिले १ हजार २४ घन्टाको क्रेडिट घन्टा छुट्याइएको छ । जीवनोपयोगी शिक्षा आगामी वर्षदेखि राख्न लागिएको छ । कक्षा १ देखि १२ सम्म अनिवार्य राखिने विषय स्वास्थ्य, समाज, नैतिकता, सकारात्मक विचार, सञ्चार एवं सिर्जनात्मक कार्यबारे सिकाउन लागिएको पौडेल बताउँछन् । भन्छन्, “विषय राम्रो छ तर यसका लागि शिक्षक दरबन्दी राख्न मुस्किल छ । अरू कक्षाकै शिक्षकले पढाउने कि भनेर सोच्दैछौँ ।”

अमेरिकामा २० औँ शताब्दीमा विद्यार्थीले विद्यालयले सिकाएको ज्ञान व्यवहारमा उतार्न नसकेपछि जीवनोपयोगी शिक्षा लागू भएको थियो । नेपालमा अधिकांश न्यून अंक ल्याई पास भएका शिक्षा विषय पढ्न जान्छन् । पौडेल भन्छन्, “शिक्षा विषय पढ्ने विद्यार्थी नै कमजोर भएपछि उनीहरू शिक्षक भएर आउँदा कस्तो पढाउलान्, त्यसबारे सोच्नु जरुरी छ ।”

  उच्च शिक्षाका लागि विदेश

प्रत्येक वर्ष हजारौँ विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बिदेसिन्छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष ०७५ साउनदेखि ७६ जेठसम्म मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि ५८ हजार ६ सय १५ विद्यार्थीले स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् ।

अधिकांश विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, भारत, चीनलगायत देशमा पढ्न जान शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका हुन् । पछिल्लो २ वर्षमा मात्र विदेश जाने विद्यार्थी संख्या १६ प्रतिशत बढेको छ । र, यो अझै बढ्ने क्रममा छ । साथमा करोडौँ नेपाली रुपैयाँ बाहिरिनु पनि चिन्ताको विषय हो । जापान, युरोप र अमेरिका पढ्न जाने विद्यार्थी फर्केर आउन चाहँदैनन् । यसले देशलाई पारेको क्षतिबारे छुट्टै अध्ययन भएको छैन ।

विदेश जाने अधिकांश विद्यार्थीको रुचि प्रविधि, व्यवस्थापन तथा नर्सिङ विषय हुने गरेको छ । नेपालका ८० प्रतिशत विद्यार्थी प्रविधि (आईटी) पढ्न विदेश जाने भएकाले त्यसैअनुसार नयाँ पाठ्यक्रम थप्ने तयारी भइरहेको केन्द्रका महानिर्देशक पौडेल बताउँछन् । नेपालमा यी विषयमा पढाइ हुने भए पनि प्रयोगात्मक विषयको कमी, विदेशमा काम गर्दै पढ्न सकिने वातावरण र प्रमाणपत्रको अन्तर्राष्ट्रिय मान्यताका कारण विद्यार्थीमा विदेश मोह बढेको शैक्षिक परामर्श संस्थाहरूको दाबी छ ।

विद्यार्थी विदेश जानुमा शैक्षिक संस्थाहरूले नै जिम्मेवार भूमिका खेल्न नसकेको औँल्याउँछन्, द टाइम्सका प्रिन्सिपल गैरे । भन्छन्, “हामी शैक्षिक संस्थाहरूले विद्यार्थीलाई बुझाउन सकेनौँ, के पढेमा के बनिन्छ ? उता गए पनि तिनै विषय दुःख गरेर पढ्ने हो भनेर बुझाउन हामी चुक्यौँ ।”

गैरेका अनुसार विदेश गएका अधिकांश विद्यार्थी शुल्क तिर्न सक्ने क्षमताका हुँदैनन् । उता (विदेश) काम पाइहाल्छु अनि तिरेर पढ्छु भन्ने सोच्छन् । तर सोचेजस्तो हुँदैन । विद्यार्थीले काम गर्दै पढ्न पाउनुपर्नेमा सहमत छन्, वरिष्ठ उपाध्यक्ष शर्मा । भन्छन्, “विद्यार्थीले पार्टटाइम, फुलटाइम कुनै पनि काम गर्दै पढ्छु भन्दा त्यो सुविधा पाउनुपर्छ । तर कक्षा ११ र १२ को सरकारी पाठ्यक्रममा सीपमूलक पाठ्यक्रम विकास भएको छैन ।”

आवरणसहित तस्बिरहरू : सरोज बैजु

प्रकाशित: असार २२, २०७६