भकारी भरिने आशामा

  • हाम्रो नेपालमा

- शब्द/तस्बिरः मैत्या घर्तीमगर

असार लागेसँगै रुकुम पूर्व तकसेराका मगरबस्ती उल्लासमय हुन्छन् । यो मौसममा डाँडाकाँडा मात्रै हरियो हुँदैन, किसानको मनमा पनि नयाँ उमंग छाउँछ । माघदेखि बन्दप्रायः हुने बाजागाजा १ जेठबाट घन्कन थाल्छन्, चोक–चौतारीमा । एक महिनासम्म हरेक साँझ पञ्चेबाजाको तालमा बाल–वृद्ध–वनिता झुम्न थाल्छन् । सिकारु बाजामा अभ्यासरत हुन्छन् भने पारंगतले अगुवाइ गर्छन् ।

जेठ अन्तिम साता नर्सिंबुकीमा उक्लिन्छन् गाउँले । उनीहरूले मकै, भटमास, घरेलु जाँड–रक्सी बोकेका हुन्छन् । भात खान भने मिल्दैन । मध्यरातमा गाउँबाट निस्केर सात घन्टाजति हिँडेपछि गन्तव्य पुगिन्छ । माथि जाँदा बुकीको बराहका लागि फूल टिप्दै नाचगान गरिन्छ । लेकका गोठमा आगो ताप्दै नाचगान गरेर दुई रात, तीन दिन बिताउने यी गाउँलेको एउटै ध्येय हुन्छ– प्रकृति पूजा । मनोरन्जन त छँदै छ ।

असार संक्रान्तिमा नाचगान र बाजागाजासहित फर्कने यी किसान अन्नबाली सप्रियोस् भन्ने कामना गर्छन् । साथमा लगिएका ध्वजापताकालाई देउराली, चौतारीमा चढाउँदै फर्कंदा उनीहरू मनमा आफ्नो भकारी भरिने आशा बोकेर आउँछन् । रंगीचंगी कपडालाई शिरमाथि ओढेर लामबद्ध भएर फर्किएका महिलालाई हेर्दा कुनै मेलाको झल्को आउँछ ।

यस्तो प्रकृति पूजालाई मगरहरू ‘बल्कु’ भन्छन् । बल् अर्थात् खसी पारिएको भेडाको पाठो र कु अर्थात् अनिष्ट । जनविश्वासअनुसार मानिसमा लाग्ने रोगव्याधि, बालीनालीमा प्रभाव पार्ने प्रकोप आदि पाठोले बोकेर लान्छ । मन्साइएको पाठोलाई गाउँ परिक्रमा गराएर भूमेस्थानमा लगी बलि दिइन्छ । यही अवसरमा भेडाको मासु सबैलाई बाँडिन्छ । यो मासु खाएबापत सामाजिक कार्यमा वर्षैभरि श्रमदान गर्नुपर्ने चलन छ ।

 आँगनमा गोबरले लिपेर आफ्नो बारीमा फल्ने सबै खाले बालीनालीका एक–एक वटा बिरुवालाई नाङ्लोमा राखी पूजा गरिन्छ । त्यसको उद्देश्य हुन्छ– बालीनालीबाट धनधान्य होऔँ । अन्त्यमा, ५ असारमा अर्को वर्ष फेरि भेट्ने वाचासहित बोझोको पात एकअर्काको कानमा सिउरिदिएर छुट्टिन्छन् उनीहरू ।

तस्बिरहरु हेर्नुहोस् :

 

प्रकाशित: असार २२, २०७६