रु. १०० को घूस

- सुरेश किरण

घटना सानो हो । काठमाडौँ सोल्टीमोडनेर एउटा टिपर चालकलाई ट्राफिकले समातेको रहेछ । कारण थियो, ट्राफिकलाई घुस दिन खोजेको । टिपर चालकसँग लाइसेन्स र ब्लु बुक थिएन । ट्राफिकले केरकार थालेपछि रु. १०० दिएर उम्किन खोजेका रहेछन् । त्यसैको आरोपमा उनी पक्राउ परे ।

भन्नाले अब नेपालमा घुस लिने मात्र होइन, घुस दिने पनि पक्राउ पर्न थालेछन् । जस्तो, अहिले रु. १०० घुस दिने टिपरवाला पक्राउ परे । अहिलेसम्म हजार, लाखको संख्यामा घुस दिने मान्छे पक्राउ परेका छैनन् । रु. १०० वा रु. २०० घुस दिने मात्रै पक्राउ परेका छन् । तसर्थ मलाई के लाग्छ भने यो पक्राउ पर्नुको खास कारण घुस होइन, बरु घुस दिन खोजिएको रकम हो । अहिलेको जमानामा रु. १०० घुस दिने ? के आउँछ रु. १०० मा ? केवल रु. १०० मात्रै घुस दियो भनेर नै उनी पक्राउपरेको हुनुपर्छ ।

त्यसमाथि रु. १०० को घुसले सम्बन्धित ट्राफिकको पनि अपमान हुन पुगेको छ । स्ट्यान्डर्ड अनुरुपको रेट पो हुनुपर्‍यो । कुन तहको हाकिमलाई कति घुस दिने ? अझ भनौँ भने कुनै पनि हाकिमको मर्यादा नै उसले खाने घुसको रकमले निर्धारण गरेको हुन्छ । ठूलो हाकिमलाई कम रेटको घुस अफर गर्नु भनेकै उनको मर्यादालाई चुनौती दिनु हो । सरकारी कर्मचारीको मर्यादालाई चुनौती दिनु भनेको अपराध हो । सायद सोल्टीमोडको टिपरवाला पक्राउ पर्नुको कारण यही मर्यादालाई चुनौती दिएकाले हुनुपर्छ । ट्राफिक प्रहरीलाई रु. १०० घुस दिने ? योभन्दा ठूलो अपराध अरु के होला ?

प्रकाशित: असार २०, २०७६

ट्याग: परिहास