पुस्तक समीक्षा : संग्रौलाको पुस्तकमा पश्चिमा विमर्श

- योगेश ढकाल

सहायताको थैलीभित्र कसिएर आउने राजनीतिक प्रणाली, आर्थिक नीति, धार्मिक आस्थामाथि नेपालमा मसिनो गरी बहस भएको छैन । एकथरी भन्छन्, सहायताले मौलिक मूल्यमान्यता, संस्कृति, आन्तरिक राजनीति र आर्थिक नीतिमाथि हस्तक्षेप बढाएको छ । अर्काथरि भन्छन्, विकासको साझेदार मात्र नभएर सभ्यताका सर्जक हुन् । पहिलो तर्कसहित युवराज संग्रौलाले साउथ एसिया चाइना जिओ–इकोनोमिक्समा पश्चिमा मुलुकको सहायतामाथि राजनीतिक बहसलाई उधिनेका छन् ।

पुस्तक उदाउँदो चीन र भारतविरुद्ध अमेरिकी सुरक्षा रणनीति, चीन–नेपाल सम्बन्ध, दक्षिण एसियाको आर्थिक विकास र शासन प्रणालीको सुधार, चीन र दक्षिण एसियाबीच कनेक्टिभिटी र बीआरआई गरी ५ विषयमा केन्द्रित छ । ती सबै खण्डमा राजनीतिक स्वार्थ, आर्थिक नीति र धार्मिक आस्थामाथि पश्चिमी मुलुक सहायतामार्फत नवउपनिवेशको रणनीतिबारे लेखिएको छ ।

संग्रौलाले नेपालको राजनीतिक संकट आन्तरिक कारण मात्र नभई पश्चिमी ब्लकको चीनविरुद्धको रणनीतिक प्रतिफल भनेका छन् । अमेरिकाले सन् २०१७ मा चीनलाई प्रतिद्वन्द्वी देशको रुपमा व्याख्या गरेर ७ सय मिलियन डलर सुरक्षा खर्चका विनियोजन गरेको तथ्यलाई संग्रौलाले टिपोट मात्र गरेका छैनन्, उदाउँदो चीन र भारत तथा अमेरिकी सुरक्षा रणनीतिसँग जोडिएर ट्रम्पको सुरक्षा रणनीतिले भारत र चीनविरुद्ध नेपाली भूमिको उपयोग रणनीतिबारे पुस्तकको पहिलो खण्डमै लामो व्याख्या गरेका छन् ।

सिंगापुरको ‘सांग्रिला डाइलग’ को सन्दर्भ उप्काएर संग्रौलाले चीनविरुद्धका गतिविधिसँग इन्डो–प्यासिफिक रणनीति र नयाँ विश्व व्यवस्थाको आधारसँग जोडेका छन् । अमेरिकी सुरक्षा रणनीतिले नेपालमार्फत भारतसमेत केन्द्रित गरेको भए पनि भारतले बुझ्न नसकेको उनको विश्लेषण छ । नेपालको काँधमा बन्दुक राखेर अमेरिका जसरी चीनविरुद्ध रणनीतिमा सक्रिय छ, त्यति नै चीनले प्रतिरक्षाको प्रयास गरेको सन्दर्भ भने पुस्तकमा उल्लेख छैन ।

अमेरिकी सुरक्षा रणनीतिको प्रतिरक्षामै चीनले पुरानो रेशममार्गलाई परिमार्जन गरेर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) १ सय २५ देशमा विस्तारित गरेको छ । अफ्रिकी मुलुकहरू श्रीलंका, पाकिस्तानसहित धेरै देश चिनियाँ सहायता र बीआरआई रणनीतिले ऋणको पासोमा पर्न थालेको तर्क छ । संग्रौलाले पुस्तकको पाँचौँ खण्डमा बीआरआई विकासको साझेदार बाटो भनेर लामो व्याख्या गरेका छन् तर ऋणको पासोबारे लेखेका छैनन् ।

पुस्तकका अनुसार पश्चिमाहरु इसाई धर्मान्तरण र चीनविरुद्धका गतिविधिका लागि नेपाललाई ‘ककपिट’ को रुपमा उपयोग गर्न चाहन्छन् । पहिचानको नाममा जातीय र क्षेत्रीय मुद्दालाई राजनीतिकरण गराइदिन आर्थिक सहायता जुटाइदिने काममा पश्चिमाहरु सक्रिय छन् । संग्रौला लेख्छन्, युएनडीपीको संविधानसभा सहायता युनिटले आयोजना गरेको कार्यक्रममा मधेसले एक स्वायत्त प्रदेशको अनुमति पाउँदैन भने ‘स्वतन्त्र मधेस’ बनाउने आवाज उठेको थियो । पश्चिमा मुलुकका राजदूतको टोलीले तत्कालीन सीके राउतसँगको सम्बन्ध र आईएनजीओको मधेस झराइ पुष्टिका थप आधार बनेका छन् तर मधेसमा चिनियाँ र भारतीय नजर पनि कम छैन ।

संग्रौलाको दाबी के छ भने पहिलो संविधानसभामा विदेशी एजेन्सीको प्रभावकारी नियन्त्रण थियो र पश्चिमी ब्लकले आईएनजीओमार्फत अर्बौं खर्चिएका थिए । युएनडीपीले मात्रै १० मिलियन डलर खर्चिएको थियो तर लेखकले एकल जातीय पहिचानसहितको संघीयताको विपक्षमा चिनियाँ वा भारतीय भूमिका के थियो भन्ने खोतलेका छैनन् ।

नेपालका नीति तथा कार्यक्रम निर्माणमा पश्चिमाले परामर्शदाता, प्राविधिक सल्लाहकारमार्फत राजनीतिक दल र कर्मचारीलाई प्रभावमा लिने गरेका छन् । त्यसलाई पुष्टि गर्ने क्रममा एमालेले गठन गरेको पार्टीको एनजीओ विभाग र कांग्रेसका नेताहरुको आईएनजीओ संलग्नतालाई उदाहरण दिइएको छ । संग्रौलाले माओवादीको हकमा इसाईकरणमा पश्चिमाबाट प्रयोग भएको केही उद्धरण समेटेका छन् । हुन त, दरबारले पश्चिमालाई खुसी पार्न युनाईटेड मिसन टु नेपाल मिसनरीलाई निम्त्याएको उदाहरण पनि छ । नेपालमा बढ्दो इसाईकरण नेपालसहित चीनविरुद्ध लक्षित रहेको संग्रौलाको मत छ ।

बौद्धिक समुदाय पश्चिमी प्राज्ञिक प्रणाली उत्पादन हुन् भन्ने संग्रौलाको तर्क छ तर यसको जग ०२८ को राष्ट्रिय शिक्षा प्रणालीले बसाएकोबारे उनी मौन छन् । उनको संकेत जातीय पहिचान, संघीयता र धर्मनिरपेक्षताको पक्षमा वकालत गर्ने समुदायप्रति हुन सक्छ ।

पुस्तक पढिसक्दा लाग्छ, पश्चिमाहरु नेपालको राजनीतिक संक्रमणको सर्जक, जातीय, क्षेत्रीय विभाजनकारी, धर्मान्तरणको सहयोगी, चीन र दक्षिण एसियाविरुद्ध रणनीतिक स्वार्थ मात्र बोक्छन् । पुस्तकमा पश्चिमामाथि जति प्रहार छ, नेपालको आन्तरिक राजनीति, आर्थिक नीति र सामाजिक सम्बन्धमा चीन र भारतको प्रभावी पक्षबारे लेखिएको छैन । 

पुस्तक : साउथ एसिया चाइना जिओ–इकोनोमिक्स | लेखक : युवराज संग्रौला | प्रकाशक : लेक्स एन्ड जुरिस पब्लिकेसन्स | पृष्ठ : ५७७ | मूल्य: १२५० रुपैयाँ |

प्रकाशित: असार १८, २०७६