राजनीतिका दुर्नियति

  • तीन किताब

- कमल लामिछाने 

जर्ज अरवेलको उपन्यास एनिमल फार्म मन पर्दैन भन्ने वातावरण भइदिए मलाई खुसी लाग्दो हो तर वर्तमान राजनीतिका दुर्नियतिहरूले एनिमल फार्म रुचाउनु पर्ने पीडाजन्य बाध्यता छ । समानताको आभास दिलाउनुभन्दा नारा मात्रै घन्काइएको छ । सबै प्राणी समान छन् तर केही प्राणी अधिक समान छन् भनेजस्तो छ, हाम्रो समाज । हाम्रो वर्तमान राजनीतिमा सल्बलाइरहेको दृश्यमा मेल खाने गरी प्रस्तुत गरिएको छ ।

नेपाल जातीय विखण्डनमा जाला कि भन्ने लागेका बेला मलाई एक मित्रले एनिमल फार्म दिएर भने, ‘यो किताब पढेपछि नेपालका नेताहरूलाई कस्तो उपमा दिने भन्ने भेउ पाइएला ।’ उपन्यासका पात्रहरू मलाई नेपालकै नेतृत्वजस्तै लागे ।

सन् १९४० को दशकमा प्रकाशित यो किताबलाई कतिले कम्युनिस्टविरोधीका रूपमा पनि लिएका छन् । त्यसैले बडो महफ्वका साथ अमेरिकी कलेजमै पनि पढाइन्छ भन्ने सुनेको छु । हाम्रो देशमा पनि कम्युनिस्ट नामका अनेक दल छन् । असली कम्युनिस्ट नभएको परिवेशमा त यो उपन्यासको व्यंग्यले कतिको मन दुख्ला, भन्न मुस्किल छ ।

स्थिरता नचाहनेहरू सानो झुन्डमा छिरेर आदर्श भत्काउने, सामाजिक मनोविज्ञान भड्काउने, मीठा एजेन्डा बाँड्ने तर ठाउँमा पुगेपछि गतिलो काम नगर्ने नेपाली राजनीतिको जटिल रोग हो । यस्तो परिदृश्यमा एनिमल फार्मले बोकेको कथालाई दोहोर्‍याएर पढ्नु उपयुक्त नै मान्छु ।

कम्युनिस्ट आन्दोलनको दबदबा रहेको त्यो समयको यथार्थ आजको हाम्रो सामाजिक–राजनीतिक अभियान र अभियन्ताहरूसँग दाँजेर हेर्न सकिन्छ । मान्छेलाई असली परिवर्तनको बाहक बनाउने नाराले होइन, व्यवहारले हो भन्ने मूल आशय आजसम्म पनि हाम्रो राजनीतिमा मिल्नु सुखद होइन । हामीले अनेक मुद्दालाई उठान गरेर छाडिदियौँ तर समाधानसहितको अवतरण गर्न सकेनौँ । नसुल्झिएका यस्तै विषयलाई सरल भाषामै लेखिएको छ यसमा ।

एक पटक अमेरिकाको विदेश विभागमा जाँदा नेपालमा हुने बाल विवाहबारे लेखिएका किताबको ठेली दिइयो । त्यति बेला मैले अमर न्यौपानेको सेतो धरती सम्झिएँ । उपन्यासमा बाल विधवाले भोग्नु परेका उत्पीडन, सामाजिक बहिस्करण र संघर्षको कथा भएकाले हाम्रा इतिहासमा भएका अँध्यारो पाटा छर्लंग हुन्छ । पश्चिमेली भाषिकालाई पक्रेर मीठोसँग लेखिएकाले यस उपन्यासका पात्रहरूमा हामी आफ्नै व्यथा पाउँछौँ । सेतो धरतीकी पात्रका अतृप्त चाहना र पीडालाई प्रतिनिधिका रूपमा लिन सक्छौँ । संस्कार र आदर्शका नाउँमा महिलाहरूले भोग्नु परेको अमानवीयता नै पुस्तकको केन्द्रमा छ । यसलाई आख्यान मात्रै मानेर पढ्नुभन्दा सामाजिक कुप्रथाको दस्तावेज मान्न सकिन्छ ।

सेतो धरतीमा उठाएको विषय आज पनि हाम्रो गाउँघरमा भेटिन्छन् । समाज परिवर्तनसँगै बाल विवाह घटेकै हो । तर, इतिहासलाई चटक्कै भुलेर आज समानताको यात्रामा जान सक्दैनौँ । महिला उत्थान चाहने जो कोहीले सेतो धरतीमा पोखिएका दर्दलाई महसुस गर्नु जरुरी छ । न्याय र समानताको बाटोमा महिलालाई अवरोध पुर्‍याउनु हुन्न भन्ने धेरैले अनुभूत गरेका छन् । तर, समाजमा महिलामाथि भेदभाव बुझ्न उति मिहिनेत गर्दैनौँ । तर, अमर न्यौपानेले हाम्रै विगतलाई मर्मस्पर्शी ढंगले पस्केकाले यो उपन्यासबाट हामी इतिहासमा भएका अन्यायलाई देख्न सक्छौँ ।

अपांगता क्षेत्रमा काम गर्ने र स्वयं अपागंता भोगेको अर्थशिक्षाको विद्यार्थी हुनुको नाताले आत्मसम्मानका विषयलाई आफ्नै अनुभव र अनुभूतिको कसीमा राखेर समाजलाई हेर्छु । समाजमा रहेका विभेदलाई अझै निकटबाट बुझ्न बाराक ओबामाको ओडासिटी अफ होपले धेरै मद्दत गर्‍यो । ड्रिम्स फ्रम माई फादर र द ओडासिटी अफ होपलाई एकै मानेर पढे पनि हुन्छ ।

हामीलाई लाग्न सक्छ, सबै खराबी नेपालमा मात्रै छन् । तर, विश्वका समृद्ध ठानिएका मुलुकका विभेदलाई चिर्दै भएका परिवर्तनका कथाबाट हामीले आफूअनुकूल पाठ लिन सक्छौँ ।

अफ्रिकाबाट आएका बाराकका पितालाई अमेरिकाको रेस्टुराँमा काला जाति भनेर प्रवेशसम्म दिइएको थिएन । पठनपाठनको क्रममा ओबामा स्वयंमाथि पनि अपमानको वर्षा गरिएको थियो । त्यस्तो पारिवारिक पृष्ठभूमिबाट आएका ओबामा अमेरिकी राष्ट्रपति भएपछि धेरैले सोचेका थिए, अब अमेरिकामा भेदभाव सधैँलाई अन्त्य भयो । तर, डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदाको उनको रवैया हेर्दा जातीय राष्ट्रवादलाई नै बढावा दिएको मान्न सकिन्छ । भलै कानुनी रूपमा रंगभेदी नीति छैन ।

ओबामाको जीवनकथा पढ्दाचाहिँ विभेदको सिकार हुनुको पीडा कस्तो हुन्छ, थाहा लाग्छ । नीति निर्माणको तहमा पुगेका व्यक्तित्वहरूले यस्ता किताब पढेर पक्षपाती चिन्तनले समाजमा पार्ने नकारात्मक असरलाई बुझिदिए हुन्थ्यो । द ओडासिटी अफ होप ओबामाको संघर्ष कथा हो तर मेरै जीवनयात्रालाई साक्षी राखेर हेर्दा भन्न सकिन्छ, त्यस्ता संघर्षका कहालीलाग्दा कथा हाम्रो भूमिमा पनि अनगन्ती छन् । 

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: असार १८, २०७६

ट्याग: तीन किताब