लाइटर

  • पर्सोनाज २.०

- कुमार नगरकोटी

स्वामी कृष्णानन्द क्याफेको गार्डेनमा ब्लु अम्ब्रेलामुनि सिगार पिउँदै थिए । लेकाली झरनाजस्तो सेताम्मे केशराशिलाई रबर ब्यान्डले बाँधेका उनको मुहार सिगारको बाक्लो धूवाँमा छेलिएको थियो । जसले सेमि–अब्स्ट्राक्ट कलाकृतिको झल्को दिन्थ्यो ।

मलाई स्वामीजीको स्मोकी–मुहार स्पिरिचुअल्ली मन पर्‍यो ।

ग्रीष्म ऋतुको बाफिलो, आर्द्र साँझ ! बादलले मुख कुल्ला गर्न बिर्सेजस्तो थियो । पानी पर्न सकिरहेको थिएन । टेबलको एक कुनामा काँचको कलात्मक एस्ट्रे थियो । र, क्यान्डल स्ट्यान्डमा के थियो, तपार्इंलाई थाहा छँदै छ ।

स्वामीजीसित यो मेरो पहिलो भेट थियो । र, अन्तिम पनि । मैले प्याकेटबाट एक खिल्ली मार्लबोरो निकालेँ । किन्तु कस्तो सिल्ली म ! मसित अग्नि थिएन । खल्तीमा सधैँ लाइटर राख्ने म, त्यस दिन बिर्सेछु । उनकै दामी लाइटरले सिग्रेट सल्काएँ । फिर्ता गर्दै भनेँ, ‘ नाइस लाइटर !’

लाइटरलाई उनले क्षणभर आफ्नो हातमा खेलाए । र, मलाई सम्बोधन गर्दै भने, ‘सिग्रेटर्सले लाइटर बोक्नु धुम्रव्यसनको पहिलो नियम हो । लाइटर बोक्ने गर्नुस् । तपाईंको दाहसंस्कारमा काम लाग्छ ।’

स्वामीजीको सम्बोधन बडो प्रीतिकर लाग्यो । उनले लाइटरको प्रसंग जारी राखे, ‘मेरो ओठमा कुनै दिन सिगार छुट्ला तर खल्तीमा एउटा लाइटर भने सदा रहनेछ । म चाहन्छु, मेरो लासलाई पराईको अग्नि होइन, मेरै लाइटरले जलाओस् । म मर्दा खल्तीमा पैसा, नागरिकता र पासपोर्ट बरु नहोस् तर लाइटर जरुर होस् ।’

कस्तो सुन्दर डेथ–विस ! यस्तो खालको मृत्यु–इच्छा यसअघि मैले कहीँ–कतै–कसैको पनि मुखबाट सुनेको थिइनँ । स्वामीजीको डेथ–विसले झंकृत भइगएँ । आफ्नै मृत्युइच्छाजस्तो लाग्यो । किन्तु सोधेँ, ‘स्वामीजी, लाइटरप्रति किन यति बिघ्न मोह ?’ ‘ किनभने,’ उनले धूवाँ ओकल्दै भने, ‘त्यो मेरै लाइटर थियो, जसले मेरो सद्गुरुको पार्थिव देहमा मुखाग्नि अर्पण गरेको थियो ।’

– को सद्गुरु ?

– ओशो ।

– ओशोको दाहसंस्कार तपाईंको लाइटरले गर्‍या   ?

– हो, मेरै लाइटरले गर्‍या ।

===

स्वामीजीका अनुसार १९ जनवरी १९९० को रात्रि ‘ कस्मिक पीडाको महारात्रि’ थियो । त्यो रात उनका सद्गुरु ओशो द मिस्टेकन मिस्टिकले पुनाको आश्रममा देह विसर्जन गरेका थिए । ‘उहाँको डेडबडी मेडिटेसन हलमा राखिएको थियो,’ नोस्टाल्जिक मुद्रामा उनले भने, ‘उहाँका निम्ति मैले गृहत्याग गरेको थिएँ, अन्ततः उहाँले नै मलगायत संसारलाई त्यागिदिनुभयो । बीसौँ शताब्दीका एक एनिग्मेटिक रहस्यदर्शीको अन्त्यसितै मेरो जीवनबाट पनि सम्पूर्ण रहस्यहरुको अन्त्य भयो । सद्गुरुको महाशून्यतर्फको अन्तिम तीर्थयात्रामा मृत्योत्सव मनाउँदै हामी संन्यासीहरुले उहाँको डेडबडीलाई नजिकैको घर पुर्‍यायौँ ।’

घाटमा चिता तयार पारियो । ओशोको पार्थिव शरीरमा अग्नि अर्पण गर्दा भने अचम्मको समस्या आइलाग्यो । संन्यासीहरु कसैसित पनि लाइटर थिएन । अग्नि संकट पर्‍यो । ‘लाइटर त मसित थियो,’ स्वामीजीले भने, ‘ओशोले मलाई आश्रममा समेत सिगार पिउन विशेष छुट दिनुभएको थियो । त्यसैले मसित लाइटर सधैँ हुन्थ्यो । आखिर सद्गुरुको सद्गत गर्न मेरै लाइटर उपयोगी भइदियो । मेरै लाइटरले ओशोलाई दागबत्ती दियो ।’

स्वामीजी केहीबेर मौन रहे । उनको लाइटरले मैले अर्को मार्लबोरो सल्काएँ । कवि शिरोमणिका झैँ लामो सेतो दाह्री सुमसुम्याउँदै मौनता भंग गरे, ‘आर्यघाटमा दाइको लास जलाउन पनि मेरै लाइटर चाहियो ।’

– को दाइ ?

– रुपचन्द्र विष्ट ।

– थाहा आन्दोलनका रुदाने ?

– हो, उनै रुदाने ।

स्वामीजीको कुरा वास्तवमै चाखलाग्दो थियो । उनले शून्यसितै एकालाप गरेझैँ बोले, ‘मेरो सांसारिक नाम गुणचन्द्र विष्ट हो । रुपचन्द्र विष्टको भाइ । आर्यघाटको चितामा दाइको लास थियो । त्यहाँ पनि उस्तै संकट आइलाग्यो । भाइभतिजालगायत परिवारका कसैसित पनि लाइटर थिएन । आखिर मेरो लाइटरले परालको मुठो सल्कायो । कम्युनिस्ट नेता स्वनाम साथीले रुपचन्द्र विष्टको लासमा दागबत्ती दिए । त्यसैले मैले तपाईंलाई भनेको हुँ– लाइटर बोक्ने गर्नुस् । आफ्नो दाहसंस्कारमा काम लाग्छ ।’

त्यसपछि स्वामीजी धेरैबेर मौन रहे । मलाई ओशोको दिव्य याद आयो, जसले मलाई घाटकालीन दिनहरुमा सिकाएका थिए : अप्पो दीपो भवः । मलाई रुपचन्द्र विष्टको भव्य याद आयो, जसले मलाई जवानीमा जीवन र जगत्बारे ‘थाहा’ दिएका थिए ।

आकाशबाट बिस्तारै बिस्तारै एक टुक्रा अन्धकार झर्दै थियो । टेबलको एक कुनामा यसै झोक्राएर बसेको क्यान्डल स्ट्यान्डलाई बीचमा सारेँ ।

र, स्वामीजीको लाइटरले मैनबत्ती जलाएँ । 

प्रकाशित: असार १८, २०७६

ट्याग: विचार