०१४ सालको अवज्ञा

  • इतिहास

- शिशिर वैद्य

नेपाली राजनीतिमा अनेक उथलपुथल भए ०१४ सालमा । तिनै उथलपुथलमध्ये इतिहासमा बिर्सिनै नहुने दिन हो, २२ मंसिर ०१४ । राजनीतिक दलहरूले भद्र अवज्ञा आन्दोलनको आयोजना गरेका थिए, यस दिन ।

आन्दोलन घोषणा हुँदा भगवानरत्न तुलाधर स्कुलमै थिए । मार्सलजुलुम शाक्य लगायत नेताहरू आएर कक्षा बन्द गर्न लगाए । “हामीलाई पढाइरहेका शिक्षकले कक्षा बन्द गर्न नमाने पनि आन्दोलनमा जान चाहने विद्यार्थीलाई रोक पनि लगाएनन्,” उनी सम्झिन्छन् ।

अञ्चलाधीश कार्यालयको मूल ढोकाअगाडि धर्ना कार्यक्रममा मोतीमान शाक्य, केशरजंग रायमाझीहरूको भाषण सुनिरहँदा प्रहरीले घेरा हालेर धर्नाकारी र दर्शक सबैलाई पक्राउ गर्‍यो । पक्रिएकालाई ट्रकमा राखेर नख्खु जेलमा लगिएको थियो । शाक्य, रायमाझीसँगै ट्रकमा तुलाधर पनि परे । तुलाधरलगायत विद्यार्थीहरूको हेरचाह गर्न जेलमै गुरुकुल गठन गरे नेताहरूले । कोठा छुट्याउँदा तुलाधर वामपन्थीहरूको कोठामा परे । यही घटनाले तुलाधरलाई पार्टीसँग अप्रत्यक्ष सम्बन्धमा गाँस्यो ।

जेलमा भएको पार्टीसँगको अप्रत्यक्ष सम्बन्ध, केही प्रशिक्षण, नेताहरूले सुनाएका अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको जीवनीले तुलाधरमा राजनीतिको बीजारोपण गरेको थियो । वाईसीएल गठनको बीज पनि त्यहीँ रोपिएको थियो । जेलबाट छुटेको केही दिनपछि नै वाईसीएल कमिटी गठनको खबर पाएका थिए, तुलाधरले । स्थान थियो, लक्ष्मण राजवंशीको घर– वटु । कमिटी गठनको कार्यक्रममा केन्द्रीय नेताहरू पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, शम्भुराम श्रेष्ठ, निर्मल लामा, लक्ष्मण राजवंशीलगायत उपस्थित थिए । नेपालमा स्थापना भएको वाईसीएलको पहिलो कमिटी यही हो भन्छन्, तुलाधर । कमिटीमा हिरण्यलाल श्रेष्ठ, भगवानरत्न तुलाधर, गिरिजाशंकर राजवंशी, विचित्रबहादुर, लक्ष्मण कायस्थ, नरेन्द्र हाडा, नारायणमान विजुक्छे, कमल श्रेष्ठ (जवाहर), भीमहरि जोशी आदि थिए ।

युवाहरूलाई पार्टीप्रति आकर्षित गर्नु, संगठन विस्तार, कम्युनिस्ट विचारधारा र सिद्धान्तका विषयमा प्रशिक्षण, बौद्धिक युवा जमात वृद्धि– वाईसीएल गठनको मूल उद्देश्य थिए । तुलाधरको भनाइमा, वाईसीएल सदस्य हुन युवाहरू संगठित भएर मात्र पुग्दैनथ्यो । प्रशिक्षण र अनुशासन अनिवार्य थियो ।

तुलाधरका अनुसार वाईसीएलले गरेको पहिलो काम थियो, टोलटोलमा इकाई कमिटी गठन । एउटा टोलमा ११ सदस्य पुग्नेबित्तिकै इकाई कमिटी गठन हुन्थ्यो । मरु, झोंछे, चिकंमुगः, वटु गर्दै वाईसीएल इकाई कमिटीको विस्तार व्यापक भएको थियो तर वाइसीएलका लागि संगठन विस्तार सजिलो थिएन । नेताहरू भूमिगत थिए । तुलाधर भन्छन्– “सरकारभन्दा पनि कांग्रेस कार्यकर्ताहरू वाइसीएल संगठन विस्तारका तगारा थिए । कम्युनिस्टविरोधी नारालाई व्यापक घन्काएका थिए, उनीहरूले । यस्तो अवस्थामा पनि वाइसीएलको प्रतिरक्षा गर्ने नेता कोही थिएनन् ।”

डालडा (वनस्पति घ्यू) विरुद्धको आन्दोलन वाईसीएल संलग्न भएको अभूतपूर्व आन्दोलन थियो । सरकार कांग्रेसको थियो । गठन भएको छोटो समयमा नै सरकारले भारतबाट डालडा घ्यू आयात गर्ने नीति लियो । डालडा घ्यूका अनेक बेफाइदा थिए । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले त्यसको विरोध गर्‍यो । नेकपा दुई पक्षमा विभाजित थियो । उत्तर गण्डक प्रान्तीय कमिटी (पुष्पलाल, शम्भुराम) र केन्द्रीय कमिटीका रायमाझी समूह । पक्ष–विपक्षका बीच २६ भाद्र ०१६ आन्दोलन घोषणा भयो । उनले थप्छन्, “डालडा आयातको विरोधमा हामी सरकारविरोधी नारा निकै चर्किएर राख्थ्यौँ । भाषण सकिएपछि इन्कलाब जिन्दावाद, नेपाली कांग्रेस मुर्दावादको नारा लगाउँदै बाटोमा कुद्थ्यौँ ।” सर्वत्र विरोधपछि सरकार १८ जेठ ०१७ डालडा आयातको निर्णयबाट पछि हट्यो ।

तुलाधर वाईसीएल मात्रै रहे, पार्टी सदस्य भएनन् । त्यो समय कम्युनिस्ट पार्टीको सदस्यता पाउनु सजिलो कार्य थिएन । त्यसका लागि समय लाग्थ्यो । सदस्यताका नियम कडा थियो । आवेदन स्वीकृत हुन नै ६ महिना लाग्थ्यो । आवेदकमाथि निगरानी हुन्थ्यो । नेताको सिफारिस चाहिन्थ्यो । चालचलन जाँच हुन्थ्यो । ६ महिनाको कडा निगरानीपछि तयार पारिएको गोप्य प्रतिवेदनका आधारमा बल्ल सदस्यता दिइन्थ्यो । वाईसीएल हुनेबित्तिकै पार्टी सदस्यता पाइँदैनथ्यो ।

०१७ सालको शाही कूसँगै पार्टी भूमिगत भएपछि वाईसीएलका सदस्यहरू छताछुल्ल भए । नेताहरू कोही नभएपछि संगठन अल्मलिनु, शिथिल र सुस्त हुनु स्वाभाविक थियो ।

समयक्रमसँगै पार्टी दुई पक्षमा विभाजित भइसकेको थियो । त्यसैले भद्रगोल जीवनबाट आजित तुलाधर पार्टी महासचिव रायमाझी र पुष्पलाल दुबैलाई भेट्न पुगे । तुलाधर भन्छन्– “रायमाझीले खासै कुनै प्रतिक्रिया दिएनन् । तर बनारसमा पुष्पलाल भेट्न जाँदा उनले तुलाधरलाई आफू बच्ने, पढाइतिर लाग्ने र देशको मुक्तिका लागि गरिने ठूलो आन्दोलनका लागि तयार भएर बस्न सुझाव दिए ।” तुलाधरमा युवा रगत थियो । जोश थियो । पुष्पलालको यो सुझाव उनलाई चित्त बुझेन अनि उनले बनारसमा गंगा नदीको पानी हातमा लिएर पुष्पलाललाई साक्षी राखेर पार्टी र राजनीतिक गतिविधिबाट संन्यास लिए । नेतृत्व नै अल्मलिएको अवस्थामा युवाले मात्रै गरेर केही हुनेवाला उनले देखेनन् । त्यसपछि संगठित वाईसीएलको स्वामित्व लिने कोही भएन र त्यो स्वतः विघटित भयो । 

प्रकाशित: असार १८, २०७६

ट्याग: इतिहास