मोहनापारिका गुमनाम बस्ती

  • सुदूरपश्चिम प्रदेश

- मोहन बुढाऐर/हौसलपुर

भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको छ, हौसलपुर गाउँ । मोहनापारिको नेपालको करिब ४०/५० हेक्टर क्षेत्रफलमा रहेको यो कुनाको बस्ती वर्षौंदेखि गुमनामजस्तै छ ।

नेपाल–भारतको सिमानामा बग्ने मोहनापारिको हौसलपुर कैलारी गाउँपालिका वडा नं ७ मा पर्छ । यहाँ बस्ने २८ घरपरिवार थारुको नेपाल सम्बन्ध सरकारी कामकाजसँग मात्रै जोडिएको छ । अझ भन्नु पर्दा, नेपाली नागरिकता बनाउनका लागि मात्रै जिल्ला सदरमुकाम धनगढी पुग्छन् । राजधानी काठमाडौँ देखेको त कोही पनि छैन ।

यहाँको रहनसहन, बोलीभाषा र संस्कृतिमा पनि भारतीय प्रभाव छ । यहाँका अधिकांशले नेपाली भाषा बोल्न जान्दैनन् । यिनीहरूसँगको सम्पर्क मातृभाषा थारु र हिन्दी मात्रै हो । भारतीय बस्तीसँग ऐँचोपैँचोको सम्बन्ध जोडिएको छ । भारतको बेलापुरसुवा बस्तीसँग यो गाउँ साँध खेतको आली मात्रै छ ।

घाँसदाउराका लागि दुदुवा नेसनल निकुञ्जभित्रै पस्छन् । खेतको सिँचाइ गर्न कुलो पनि निकुञ्जभित्रैको तालको पानी प्रयोग गर्छन् । निकुञ्जका वनकर्मी तथा कर्मचारीको दयामाया नभए उनीहरूको खेत सिञ्चितसम्म हुँदैन । उनीहरूको गाउँ नियम–कानुन र बस्ने काइदा निकुञ्जले तोकिदिएको छ ।

पुरुषहरूलाई निकुञ्जभित्र प्रवेश निषेध छ । महिला मात्रै घाँसदाउरा र गाईगोरु बाख्रा चराउन जान पाउँछन् । कहिलेकाहीँ महिलामाथिको दुर्व्यवहार पनि सहेर बस्नुपर्ने बाध्यता छ ।

उनीहरूको गाउँदेखि सहरको सम्बन्ध भारत नै हो । त्यसैले उनीहरूले चलाउने सवारी साधनदेखि खेत जोत्ने ट्याक्टरसम्म भारतीय नम्बर प्लेटका छन् । उब्जेको अनाज बिक्री र दैनिक उपभोग्य वस्तुको किनमेल पनि भारतीय बजारमै हुन्छ । गाउँका मुखिया रवेन्द्र चौधरी भन्छन्, “हामी नेपालको भूमिमा बसेका मात्रै हौँ, सवै सम्बन्ध भारतसँगै राख्नु परिरहेको छ ।” चोरडाँकादेखि बर्खामा मोहनाको बाढीबाट बच्न भारतीय सुरक्षाकर्मीसँग उद्धारका लागि याचना गर्नुपर्ने स्थिति छ ।

मोहना नदीमा पुल बनाएपछि मात्रै नेपालसँगको सम्बन्ध जोडिने मुखिया चौधरी सुनाउँछन् । तर पाँच दशकअघि मात्रै बसेको यो बस्तीलाई नेपालको नक्सामा जंगल जनाइएको छ । गाउँका एक्ला बृद्ध रामबहादुर चौधरी, ६०, सुनाउँछन्, “अहिलेसम्म यो गाउँ लालपुर्जाविहीन छ ।” सीमामा बस्ने नेपालीको अस्तित्व बचाउन र बलियो बनाउन नेपाल सरकारको उपस्थिति देखिन आवश्यक रहेको औल्याउँछन्, मिखराम चौधरी, ३२, । भन्छन्, “गाउँको लालपुर्जा दिनु पर्‍यो, स्कुल, स्वास्थ्यचौकी, सीमा प्रहरीचौकी राख्नुपर्‍यो ।”

बालबालिका भारतीय स्कुलमा

मिखरामका अनुसार यहाँका बालबालिकाको प्रारम्भिक शिक्षा नै भारतको बेलापरसुवाको सरस्वती शिक्षा मन्दिरमा हुन्छ । त्यहाँ शिशुदेखि ८ कक्षासम्म ४५ जना विद्यार्थी पढ्न जान्छन् ।

“जनगण मन अधिनायक जय हे, भारत भाग्य विधाता...भारतको राष्ट्रिय गीत स्कुले बालबालिकालाई कठस्थ छ,” उनी भन्छन्, “भारतको इतिहास र भूगोलको ज्ञान भएका बालबालिकालाई नेपालको नक्सा कस्तो छ भन्नेसम्म थाहा छैन ।”

यहाँका किशोरकिशोरी हाईस्कुल र उच्च शिक्षाका लागि पनि लखिमपुर जान्छन् । लखिमपुरको गान्धी इन्टर कलेजमा गाउँका २०/२५ विद्यार्थी पढ्दै छन् । मिखरोमले लखिमपुर गान्धी कलेजबाटै अर्थशास्त्रमा डिग्री गरेका छन् । उनी लखिमपुरको एक प्राइभेट कम्पनीमा काम गर्छन् ।

तिरो भारतलाई

दुदुवा नेसनल पार्कसँग जोडिएका मोहनापारिका दुई बस्ती भारतलाई तिरो बुझाउँछन् । नागबेलीजस्तै घुमेको सीमानदी मोहनापारि कैलारी गाउँपालिकाको वडा नं ३ मा पर्ने मोहनपुर र शिवरत्न बस्ती पनि पर्छन् । यी दुई बस्ती हौसलपुरजति नेपालबाट टाढिएको छैन । यहाँ प्राथमिक तहसम्मको स्कुल छ । उच्च शिक्षाका लागि विद्यार्थी बर्खामा डुंगा र हिउँदमा काठको पुलबाट नेपाल पढ्न आउँछन् ।

स्थानीयले विद्यार्थीलाई बर्खामा नदी वारपार गर्न डुंगा चलाउँछन् भने हिउँदमा काठेपुल हाल्छन् । तर रोजगारी र रासनपानीका लागि भने सीमावर्ती चन्दनचौकी बजार नगई हुँदैन । वनजंगल आफ्नो नभएर दुदुवा नेसनल निकुञ्जमै निर्भर छन् ।

निकुञ्जबाट सुविधा लिएवापत यहाँका बासिन्दा हरेक माघीमा निकुन्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् । “तिरो बुझाएबापत निकुञ्जछेउको जंगलबाट घाँसदाउरा गर्न र बाख्रा चराउने सुविधा पाएका छौँ,” शिवरत्नपुरका रूपलाल चौधरी भन्छन्, “तिरो नगद र जिन्सी दुवैमा तिर्ने गरेका छौँ ।”

मोहनपुरका ६१ घर परिवारले हरेक माघीमा चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो बेसार बुझाउने गरेका छन् । शिवरत्नपुरका ८४ घर परिवारले वार्षिक प्रतिघर ३ सय रुपैयाँ निकुञ्ज प्रशासनलाई बुझाउने गरेका छन् । “मालपोतजस्तै वार्षिक तिरो बुझाएर निकुञ्ज प्रशासनलाई खुसी पार्नुपर्ने हाम्रो बाध्यता छ,” गाउँका दधिराम चौधरी भन्छन्, “निकुञ्जबाट घाँसदाउरा र गाईगोरु चराउने सुविधा लिन र बस्तीको सुरक्षार्थ यति गर्नैपर्छ ।”

निकुञ्जका वनकर्मी र भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सम्बन्धमै सामाजिक सुरक्षा निर्भर रहने स्थानीय फुलराम चौधरीको भनाइ छ । “सम्वन्ध कुनै कारणले चिसिएको बेला बाटो, जंगल प्रयोग गर्न नपाएर घेराबन्दीमा पर्छौं,” उनी सुनाउँछन्, “रोजगारी र रासनपानीका लागि दुदुवाको जंगल भएर चन्दन चौकी जाने बाटो छेकिदिन्छन् भन्ने डर सधैँ हुन्छ ।”

वडासदस्य पार्वती विक स्वयं आफनो वडामा पर्ने मोहनपुर र शिवरत्नपुरको समस्यालाई सम्बोधन गर्न सजिलो नभएको स्वीकार्छिन् । “मोहना नदीमा पुल नबनेसम्म यहाँका बासिन्दाको भारत निर्भर जिन्दगीबाट मुक्ति दिन सकिँदैन,” उनी भन्छिन्, “वडा तथा गाउँपालिकाको विकासका गतिविधिसँग जोड्न मोहना नदी बाधक छ । मोहनपुर र शिवरत्नपुरमा राज्यको विकासको पूर्वाधारमा एउटा प्राथमिक विद्यालयबाहेक केही छैन । यहाँका नेपालीले राज्यको कुनै सेवा पाएका छैनन् ।”

गाउँपालिका अध्यक्ष लाजुराम चौधरी भौगोलिक रूपमा टापुमा रहेका ऊक्त बस्तीमा विकासका सबै कार्यक्रम लैजान सजिलो नभएकाले मोहना नदीमा झुलुंगे पुल निर्माण र विद्युतीकरणका लागि पहल भइरहेको बताउँछन् ।

भोट बैंक मात्रै

मोहनपुरमा ०५२ मा एउटा प्राथमिक विद्यालय खुलेको थियो । हालसम्म प्राथमिक तह नै छ । बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा पोस्ट केही नभएको यो गाउँ अन्धकारमै छ । तीनतिरबाट नदीले घेरेकाले वारपार गर्न झोलुंगे पुल बने बस्ती नेपालसँग जोडिन सक्ने स्थानीय कुलप्रसाद चौधरीको भनाइ छ । भन्छन्, “यी गाउँ नेताको भोट बैंकजस्ता मात्र छन् ।”

मोहनपुरका गाउँका पाका सेन्धु चौधरीका अनुसार ०४९ को स्थानीय निर्वाचनमा यहाँका बासिन्दा पहिलो पटक मतदाता भएका थिए । “तत्कालीन हसुलिया गाउँ विकास समितिको वडा नं ४ अर्न्तगत यो गाउँ परेको थियो,” उनी भन्छन्, “पहिलो पटक वडाध्यक्ष उम्मेदवार सरकारी कर्मचारी लिएर मतदाता नामवली संकलन गर्न आएका थिए । त्यसको केही समयपछिको निर्वाचनमा यहाँका करिब ५०/६० जनाले भोट हाल्यौँ ।” उनका अनुसार बस्तीका धेरैको नागरिकता पनि त्यसपछि बनेको हो ।

प्रकाशित: असार १८, २०७६