उफ् कोलकाता

- रविन्द्र मानन्धर

मान्छे गर्मी छल्न भनेर हिमाल नजिक जान्छन् । हामी भने जेठको अन्तिम साता सात जना कोलकाता पुगेका थियौँ, ताजपुरमा हुने तीनदिने जलरंग कार्यशालामा सहभागी हुन । ‘जोरका झट्का धीरेसे लगे’ भनेझैँ विमानभित्र परिचारिकाले उद्घोष गरेको ३० डिग्री तापक्रम सहर पस्दा ४२ डिग्रीमा उकालो लागिसकेछ । टाउकोमा कसैले हेयर ड्रायर चलाइरहेको भान हुन्थ्यो । कोलकातावासी पंखा र एसीकै भरमा बाँच्ने रहेछन् ।

प्राकृतिक रुपमा वातानुकूलित ठाउँमा बस्ने हामीलाई त्यो गर्मी असहृय त हुने नै भयो । धन्न, सहरमा हरियालीलाई विशेष महफ्वका दिइएको रहेछ । यस्तै गर्मी खेपेर होटल पुग्दा नेपाली सामाजिक संजालमा देशतिरको खबर भने यस्तो थियो, विकास भन्दै धमाधम रुख काटिादै, उच्च तापक्रममा नयाँ रेकर्ड, अत्यधिक गर्मीको कारणले उडिरहेका चरा खस्न थाले आदि–आदि ।

दुई मित्रको घुरेली

पाँच रातको कलकत्ता बसाइमा चार रात मैले साथीहरुसँग कोठा सेयर गरेँ तर प्रायः रात म अनिँदो पल्टिरहेँ । सँगै सुतेका दुई साथी घुर्नमा निपुण रहेछन् । छन्द मिलाएर, धुन फेरी–फेरी घुर्न प्रतिस्पर्धा गरेजस्तो लाग्यो । कतै सुनेको थिएँ, घुर्ने मानिसको  नाकको प्वाल १० सेकेन्ड बन्द गरिदिएमा घुराइ रोकिन्छ । मैले घडी हेरेर दस सेकेन्डसम्म मित्रको नाक दुई अँगुठाले च्याप पारि दिएँ तर अवस्था उस्तै । तकियाले कान थुन्नुको विकल्प थिएन ।

ताजपुरको बसाइमा भने मेरो ओछ्यान दुई च्याम्पियनहरुको बीचमा पर्‍यो । निदाउन पल्टेको मात्र के थिएँ, दायाँबायाँ दुवैतिरबाट घुराइ सुरु भइहाल्यो । कोभन्दा को कम Û हपहप रापिएको रिसोर्टमा कहिलेकाहीँ सर्प–बिच्छी पनि आउने भएकाले सावधानी अपनाउन होटलवालाले सुझाएका थिए । तर त्यस्तो खतरनाक आवाज सुनेर त कोठाका सर्पबिच्छी भागे सायद ।

मदिराको करामत

कार्यशालाको दोस्रो साँझ मदिरा पाउँदै नपाइने ठाउँ ताजपुर रिसोर्टमा कसोकसो गरी हार्ड ड्रिंक्स भित्रिएछ । घरदेखि टाढा भएको मौकामा यसो मदिरा चाखौँ न भन्ने भइहाल्यो । मैले बियरसम्म चाखेँ । तर रक्सी ? दुई जना बहाना बनाएर अलप भयौँ । तेस्रो साथीलाई भने मुडवाले समूहले  भरोसा दिलाएर मज्जाले पिलाएछ । साथी अबेर राती कोठामा आएर पल्टे ।

मेरो यसै पनि निद्रा पातलो, साथी बीचबीचमा अनिद्राले छट्पटिएको थाहा पाएँ ।

अकस्मात् साथी जुरुक्क उठे अनि मूलढोका खोले । “कता तपाईं ?” मैले सोधेँ । बर्बराएको आवाज आयो, “ट्वाइलेट” । हाम्रा कोठाभित्रको बाथरुमको ढोका र मूलढोका सँगसँगै थिए । मूलढोका अलि पर ठूलो तलाउ थियो । ट्वाइलेटको ढोका त दायाँतिर छ भनेर कराएँ । उनी मूलढोका थुनेर बाथरुम पसे ।

रातको त्यो किस्सा सुनाउँदा उनले विश्वास गरेनन् ।

पालोको पैँचो

एकपटक खाना खाइवरी फर्कने क्रममा पालैपालो रेस्टुराँको ट्वाइलेट प्रयोग गरेथ्यौँ । कृष्ण हरायो एकाएक । महिला शौचालयबाट फुत्त बाहिर निस्केपछि जिल्ल पर्‍यौँ । उसले शौचालयको ढोकामा टाँसिएको संकेत त विचारै गरेनछ । सब गललल हाँस्यौँ ।

कुरा यतिमा सकिएन । कोलकाताबाट ताजपुर जाँदा हाइवेमा पर्ने एउटा रेस्टुराँमा १५ मिनेट मात्र भनेर हाम्रो गाडी रोकियो । कसैलाई शौचालय जान हतार थियो, कसैलाई चिया पिउन । गाडीमा भारतीय तथा बंगलादेशी कलाकार पनि थिए । भुइातलामा भएको शौचालय खुला खालको थियो । साहुले माथिको तलामा जान आग्रह गरे । महिला शौचालय अगाडि हाम्रै टोलीका महिलाहरुको भीड लाग्यो । एकछिनपछि महिला शौचालयको ढोकाबाट निस्कने व्यक्ति कृष्ण नै थियो । महिला साथीहरु वाल्ल परे । हतारमा बसबाट झरेको उही कृष्णले फेरि पनि ढोकामा टाँसेको संकेत हेर्न भुलेछ । अब भने टोलीका सबैले उसलाई जिस्काउन थाले, “नामै कृष्ण, कामै कृष्ण ।” उसको अनुहारले भन्दै थियो, पख तिमीहरुको पालो पनि कसो नआउला ।

नभन्दै सुवासचन्द्र बोस एयरपोर्टमा सुरक्षा जाँचका विभिन्न चरणमा हामी भिन्नाभिन्नै लाइनमा पर्न गयौँ । म र रसिक राई गफिँदै थियौँ । दुवै जना झुक्किएर महिला लाइनमा उभिन पुगेछौँ ।

प्रकाशित: असार १७, २०७६

ट्याग: नोटबुक