उफ् ! महिला हिंसा

- सुनिता लोहनी

बनेपामा बाटोमा हिँडिरहेकी महिलालाई महिलाले नै सिरिन्जले घोपेको उजुरी पर्‍यो प्रहरीकहाँ, १२ असारमा । यो घटना डेढ महिनादेखि राजधानीमा भइरहेको सिरिन्ज आक्रमणकै निरन्तरता थियो । फरक यत्ति हो, पहिलेका घटनाका पीडक पुरुष थिए भने यसपटक महिला । १० जनामाथि सिरिन्ज आक्रमण भए पनि ६ जनाको मात्र उजुरीमा परेको थियो ।

अन्ततः प्रहरीले सिरिन्ज आक्रमणबाट त्रास फैलाउने सन्तोष कार्की, ३० लाई पक्रियो, १३ असारमा । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता उक्तमराज सुवेदीका अनुसार राजधानीमा कुनै सिरिन्ज आत्रमण भएको छैन । पीडक कार्कीले ढलानमा प्रयोग गरिने किलाले युवतीहरूलाई घोच्दै आएका थिए । प्रहरीलाई उनले रमाइलोका लागि त्यस्तो काम गरेको बयान दिएका छन् ।

आफूलाई धर्तीमाता बताउँदै ५ असारमा एक युवतीलाई यातना दिएकी विष्णु कुँवर, ३२ लाई प्रहरीले एक सातापछि पक्राउ गर्‍यो । भद्रकाली परिसरमा युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अभियुक्तलाई पक्रेको हो । घटना हुँदा प्रहरी जवानदेखि सर्वसाधारणको भीड भिडियोमा देखिन्छ । बोक्सीको आरोपमा महिलामाथि हिंसा भइरहेकै छन् ।

राजधानीमा दिनदहाडै गरिएको यो घटनापछि फेसबुकमा ‘धनीका छोरी सेक्सी र गरिबका छोरी बोक्सी’ भन्ने ट्रोल समेत बन्यो । यस्ता घटनामा महिलाले बोक्सीको आरोपमा कुटपिट तथा अभद्र व्यवहार भोग्नुपरेको छ । कतिको त ज्यान पनि गएको छ । ०७५/७६ वैशाखसम्म ३९ वटा बोक्सीसम्बन्धी उजुरी परेका छन् प्रहरीमा । पछिल्लो दशकदेखि एसिड आक्रमणले उत्तिकै आतंक फैलाइरहेको छ । ०७५/७६ मा ६ वटा एसिड आक्रमणक घटना भएका छन् । अधिकांश घटनामा पुरुषले महिलाको सुन्दरतालाई बिगार्ने नियतसहित फ्याँकेको देखिन्छ ।

विगतमा चलेको माओवादी युद्ध, विकृत मानसिकता र प्रविधिको दुरुपयोग गरी अपराध बढिरहेको विज्ञहरूको मत छ । चाखलाग्दो के भने अधिकांश घटनाका पीडित महिला छन् । आखिर महिला नै किन हिंसाका पात्र बनिरहेका छन् त  ? पूर्वएआईजी नवराज ढकाल भन्छन्, “कमजोर समूह जहिले पनि हिंसाको चपेटामा परिरहन्छ । हिजो लोला हान्थे, अहिले सिरिन्जमा पुगेका छन् ।”

ढकालका अनुसार सिरिन्जजस्ता घटना संगठित अपराधभन्दा पनि मनोविकृत मानसिकताबाट आएको हो । उरन्ठेउला, मनोविकृत र अर्काको दुःख देखेर रमाउने व्यक्तिबाट बच्न होसियार हुनुपर्छ । महानगरीय प्रहरी परिसरकी प्रहरी वरिष्ठ उपरीक्षक किरण वज्राचार्य थप्छिन्, “अपराधीहरूले नागरिकलाई आतंकित पार्न सिरिन्जको प्रयोग पनि गर्छन् । तर, महिलालाई सिरिन्जले नै घोपेको हो भन्ने कुनै आधार देखिँदैन ।”

बलात्कारकै घटना हेर्ने हो भने ०७०/७१ मा ९ सय १२ मात्र भएकोमा ०७५/७६ मा १ हजार ८ सय ७ पुगेको छ । जबर्जस्ती करणी ०७०/७१ मा ४ सय १४ रहेकोमा ०७५/७६ मा ६ सय ५२ घटना प्रहरीमा दर्ता भएका छन् । ०७०/७१ मा महिला बेचबिखनको घटना १ सय ८५ उजुरी परेका थिए भने ०७५/७६ को वैशाखसम्म मात्रै १ सय ९७ पुगेका छन् । घरेलु हिंसामा ०७०/७१ मा ६ हजार ८ सय ३५ दर्ता भएका थिए भने ०७५/७६ वैशाखसम्म १० हजार ९ सय ९८ पुगिसकेको छ । प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, “महिला सशक्तीकरणसँगै अपराधको रिपोर्टिङ बढेको छ । हिजो चुपचाप बस्ने महिला आज आफ्नो आत्मसम्मानविरुद्ध असर पर्‍यो भने उजुर गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।”

हिंसा बढाउँदै प्रविधि

०७५ माघको पहिलो साता सामाजिक सञ्जालमा अश्लील क्रियाकलाप गरेको भिडियो भाइरल भयो । भिडियोमा डल्लु–लगनखेल रुटमा चल्ने फोर्स गाडीमा हस्तमैथुन गरी सिटमा बसिरहेकी केटीको कपालभरि लाग्ने गरी वीर्यपात गरिएको दृश्य थियो । सार्वजनिक गाडीमै त्यस्तो हर्कत गर्न सक्नेले अरु बेला एकान्तमा महिलालाई कस्तो व्यवहार गर्ला ?

प्रहरी प्रवक्ता पोखरेलका अनुसार सामाजिक सञ्जालको दुरुपयोगबाट हुने यौनजन्य हिंसा बढी छ तर उजुरी कम । अधिकांश घटना संवेदनशील हुने गरेकाले महिलाहरू खासै उजुरी दिँदैनन् । भन्छन्, “प्रतिष्ठामा असर पर्ला भनेर रिपोर्ट गर्दैनन् । परिवार वा अन्य व्यक्तिबाट पीडितले फेरि हिंसाको सिकार बन्नुपर्ने हुन्छ ।”

अपराधशास्त्रीहरूका अनुसार अपराधमा लाग्ने समूह समाजमा जहिले पनि हुन्छ । त्यो समूह केबाट बढी प्रभावित हुन्छ, अपराध पनि त्यहीअनुरुप घट्दै जान्छन् । युवा पिँढीमा विभिन्न एप, ग्याजेटको प्रयोग, टेलिभिजन, चलचित्रको प्रभाव छ । संसारमा घटेका अपराधबारे तुरुन्त थाहा पाउन सकिन्छ । पूर्वएआइजी ढकालका अनुसार त्यसलाई प्रयोगमा ल्याउन जो–कोही चाहन्छन् । भन्छन्, “युवाहरू आत्मकेन्द्रित बढी भए । व्यक्तिसँग अन्तरसंवादभन्दा भर्चुअल संसारमा रमाउँछन् । आफ्नै सोचाइलाई मात्र महत्त्व दिइरहँदा अपराध बढेका हुन् ।”

०५२ देखि ०६२ सम्म १० वर्षे माओवादी द्वन्द्व चल्यो । १७ हजार नागरिक मारिए भने अहिले पनि हजारौँ नागरिक बेपत्ता छन् । त्यो द्वन्द्वले समाजलाई धेरै पछाडि धकेलेको छ । लामो समय मान्छे असुरक्षित रहे, बाँच्नलाई धेरै हत्कण्डा अपनाए । ढकाल भन्छन्, “तिनलाई समाजमा पुनर्स्थापना गर्न खोइ त मनोसामाजिक परामर्श ?”

सर्फ टार्गेट” मा महिला

प्राकृतिक कानुनअनुसार बलियोले निर्धोमाथि आफ्नो बल देखाउँछ । समाज परिवर्तनसँगै अपराधको तौरतरिका फरक हुन्छ । अपराधीले जुनै समाजमा पनि कमजोरसँग पौठेजोरी खोज्छन् । अपराध कानुनका विज्ञ हरिप्रसाद मैनाली भन्छन्, “हाम्रो समाजले महिलाको परिकल्पना साधारण र नरमको रूपमा हेरेको छ । त्यहीअनुरुपको हुर्काइले उनीहरू प्रतिवाद गरिहाल्दैनन्, जसले अपराधीको मनोबल बढेको छ ।”

महिलाले आफूलाई सधैँ कमजोर भएर बस्न नहुने पूर्वएआइजी ढकालको तर्क छ । समयअनुसार आइपरेका चुनौती स्वीकार्दै त्यहीअनुरुप आफूलाई तयार पार्नुपर्छ भन्छन्, उनी । उनका अनुसार अपराधी मोटरसाइकलमा आएको छ भने तुरुन्त मोबाइलबाट फोटो खिच्ने, चर्को आवाजले कराएर मद्दत माग्ने, जसले गर्दा अन्य व्यक्तिको सहायताले समात्न सकियोस् ।

उसो त समाजमा बढिरहेको अपराधलाई रोक्न प्रहरीले प्रयास नगरेको पनि होइन । सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थलमा महिलाविरुद्ध अभद्र व्यवहार तथा यौनजन्य हिंसा घट्न थालेपछि प्रहरीले १८ साउन, ०७४ देखि सेफ्टीपिन अभियान सुरु गर्‍यो, उपत्यकाभित्र । यात्रुहरूबाट यस्ता ठाउँमा दुर्व्यवहार भएको उजुरी आएपछि कारबाही गर्न सार्वजनिक गाडीमा सादा पोसाकमा प्रहरी खटाउन थालिएको प्रहरी वरिष्ठ उपरीक्षक वज्राचार्यको भनाइ छ । भन्छिन्, “कम्तीमा यात्रीले सुरक्षित यात्रा गर्न सकोस् र पीडकले कोही छैन भन्दै कमजोरमाथि अत्याचार गर्न नसकोस् ।” प्रहरीको यो कामले समाजमा शान्ति सुरक्षा कायम गर्न सकारात्मक भूमिका खेलेको वज्राचार्यको तर्क छ ।

काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थलमा घटेका महिलामाथिका अभद्र तथा अश्लील हर्कत गरेका उजुरी ०७५ साउनदेखि ०७६ जेठसम्म १ सय ५७ वटा दर्ता भएका छन् । तीमध्ये १ सय ५८ लाई प्रहरीले समातेको छ भने ५८ का विरुद्ध मुद्दा दायर गरेको छ । सेफ्टीपिन अभियानका साथै महानगरले १०० नम्बर फोनलाई चुस्त बनाएको एसएसपी वज्राचार्यको दाबी छ । “प्रहरीको भूमिका घटना हुनुभन्दा पनि हुन नदिन खोज्नु हो,” उनी भन्छिन्, “आपतमा परेका बेला सेवामा प्रहरी हाजिर छ ।”


अझै एसिड आक्रमण

२ जेठ, ०७६ मा जेनी खड्कामाथि उनकै श्रीमान् विष्णु भुजेल, २८ ले एसिड आक्रमण गरे । विष्णुको पहिलो श्रीमती पनि भएको थाहा पाएपछि जेनी एक्लै बस्दै आएकी थिइन् । विष्णुले आफू काम गर्ने ग्यारेजबाट एसिड झिकेर छ्यापेको प्रहरीको बयानमा बताएका छन् ।

घरमा राखिने इन्भर्टरको ब्याट्रीदेखि गाडी बनाउने वर्कसप र सुनचाँदी पसलमा एसिडको प्रयोग हुन्छ । तर यी सबै ठाउँमा कति मात्रामा एसिड चाहिन्छ ? त्यसको बारेमा कुनै हिसाबकिताब नराखी एसिड बिक्री वितरण भइरहेका छन् । मदिरा बेच्न लाइसेन्स चाहिन्छ, किन्न १८ वर्ष पुगेको हुनुपर्छ । प्राणघातक एसिड किन्न भने कुनै त्यस्तो प्रमाण चाहिँदैन ।

०७१/७२ देखि ०७५ चैतसम्मको तथ्यांक हेर्दा हालसम्म १७ जनामाथि एसिड आक्रमण भएको छ । त्यसमा १३ जना महिला र ३ जना पुरुष रहेका छन् । पीडकमा हेर्दा १९ जना पुरुष र एक जना महिला परेका छन् । हुनतः एसिडको घटना संगठित अपराधजतिको त छैन तर सभ्य समाजको परिकल्पना गर्ने हो भने यस्ता घटना हुनु हुँदैन ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार अधिकांश एसिड आक्रमणमा महिलाको रूप र पुरुषको अहम्का कारण भएको अनुसन्धानबाट खुलेको छ । भन्छन्, “पक्षहरूबीच विवाद हुँदा पीडितले रूपको कारण घमण्ड गरेको भन्ने पीडकलाई अनुभूत हुँदा पीडितको घमण्ड तोडिदिन्छु भन्ने भावनामा पीडकले एसिड हानेको देखिन्छ ।”

एसिडसम्बन्धी कानुन नभएका होइनन् । १ भदौ ०७५ देखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३ को (२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी कार्बाही हुने पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक बताउँछन् । त्यसमा अनुहार कुरूप पारिदिएमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

यस्तै, अन्य अंगमा एसिड प्रहार गरेर क्षति पुगेको पाइए ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । घटनाको प्रकृति हेरेर दुवै सजाय हुने व्यवस्था कायम छ । एसिड आक्रमणबाट पीडितको मृत्यु भएमा प्रहार गर्ने विरुद्ध कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगमा समेत मुद्दा चल्न सक्नेछ । वरिष्ठ अधिवक्तासमेत रहेका पाठक भन्छन्, “हामीकहाँ प्रशासन चुस्त छैन । प्रशासन चुस्त भयो भने यस्ता आक्रमण आफैँ कम हुँदै जान्छन् ।”

प्लास्टिक सर्जन जसवन शाक्यका अनुसार एसिड आक्रमणबाट प्रताडित महिलाको समस्या अरु कसैले बुझ्न सक्दैनन् । अधिकांश महिला जो एसिड वा अन्य कुनै कारणले शरीर जलेर अस्पताल आउँदा पीडितका आफन्तजनले ‘पुरानै मुहार फर्केर आउने होइन, किन पैसा खर्च गर्ने’ जस्ता कुरासँग जुध्नु परेको शाक्यको भोगाइ छ । भन्छन्, “हामी पीडितलाई हेर्न, सुन्न, बोल्न जे कुरामा गाह्रो भएको छ । त्यसको अपरेसन गर्छौं । उनीहरूकै शरीरको छाला काटेर अनुहारमा वा अन्य चाहिएको भागमा सर्जरी गर्छौं ।”

अन्य रोगजस्तो एसिडबाट जलेको शरीरमा यति नै खर्च लाग्छ भन्न नसकिने चिकित्सकहरूको मत छ । एसिडबाट साधारणतया १२ देखि १५ प्रतिशत जलेको हुन्छ ।

१० फागुन, ०७१ मा एसिड आक्रमणमा परेकी संगीता मगरले अहिलेसम्म कति सर्जरी गराइन्, थाहा छैन । उनका अनुसार एक पटकको सर्जरीमा करिब ६० हजार खर्च हुन्छ । सानो अप्रेसनमा १५/२० दिन अस्पतालमा बस्नुपर्छ भने ठूलोमा २ महिनासम्म । कानुनले एसिड पीडितलाई पीडकबाट उपचार खर्च दिलाउने भने तापनि अहिलेसम्म आफू र अन्य एसिड पीडितले सो रकम नपाएको उनको भनाइ छ । भन्छिन्, “अहिलेसम्म जति उपचार खर्च भएको छ, सबै बुबाममीले खर्च गर्नुभएको हो । अझै सर्जरी गर्न बाँकी छ, त्यो पनि उहाँहरूले नै त गर्ने होला !”

प्रकाशित: असार १७, २०७६