अर्ग्यानिक सलामी

- लक्ष्मण गाम्नागे

सलामी भनेको विशेष व्यक्तिलाई सम्मान गर्ने कुरा हो, अर्चना गर्ने कुरा हो, पदको पूजा गर्ने प्रचलन हो । हिजोआज सम्मानका लागि मात्र होइन, यदाकदा कसैलाई पगाल्न र पखाल्न पनि सलामी दिन थालिएको छ । सलामी दिने चलन देउताका पालामा पनि थियो, राजाका पालामा पनि थियो । देउता, राजा, सन्त, महन्त, ऋषिमुनिहरु, धार्मिक गुरुहरु, बाबाहरु, पादरीहरु सबैलाई उच्च आसनमा राखेर भक्तजनहरुले सलामी दिन्छन् । सलामी खाने व्यत्तित्व अरु मानिसभन्दा अग्लोमा उभिएकै हुनुपर्छ किनभने ऊ अग्लो हो भन्ने सबैलाई थाहा नहुन सक्छ । धेरैले ‘यो नाथे त्यै फलानो त हो नि’ भनेर उसको नाममा एकलख्खे लगाएर बोलाउन बेर लगाउँदैनन् । उसलाई विशेष र बेग्लै देखाउनका लागि सलामी एक प्रभावकारी माध्यम हो । त्यसैले सलामी गौरवको कुरा हो, यो दिनु र लिनु हाम्रो संस्कृति हो । यसको जगेर्ना गर्नुपर्छ ।

केही समयअगाडि एक जनप्रतिनिधिलाई पिर्कामा उभ्याएर सलामी दिएको विषयमा निकै पखाल्ने काम भयो । उनले लजाउँदै आफू परिबन्दमा परी पिर्कामा चढ्नाले मर्कामा पर्न गएको प्रस्टीकरण दिएछन् । खासमा यो लजाउनुपर्ने वा माफी माग्नुपर्ने घटना थिएन । यो त सामाजिक सन्जालवालाहरुले अनावश्यक हल्ला चलाएर उडाएका मात्र हुन् । उनीहरुले टेबुलमाथि चढेका जनप्रतिनिधिलाई बाँसको टुप्पोमा पुर्‍याए । त्यहाँबाट पनि माथि लगेर डोजरको अंकुसेमा झुन्ड्याएर सलामी लिएको पनि देखाए । सामाजिक सन्जालवालाहरु तिललाई पहाड बनाउन र नेताहरुको खिल्ली उडाउनकै लागि यो धर्तीमा जन्मेका हुन् । यिनीहरुसँग डराउनु हुँदैन । आलोचना गर्ने, उडाउनेहरुका कुरा सुन्न थाल्यो भने त दिनदिनै डाडुमा पानी तताएर डुब्नुजस्तो पार्छन् ।

खासमा ती नेतालाई दिएको पिर्के सलामी अर्ग्यानिक सलामी हो । यसका आफ्नै विशेषताहरु छन् । सिंहदरबार भर्खरै गाउँमा गएको हुँदा राता कार्पेटहरुको बन्दोबस्त गर्न भ्याई नसकेको हुनसक्छ । त्यस्ता कार्पेट जोड्न नसकेका स्थानीय निकायमा यस्तै अर्ग्यानिक तरिका अपनाउनुपर्छ । कार्पेटको सट्टा कुनै रातो कपडा, त्यो पनि नभए रातो रुमाल, रातो सर्ट, रातो टोपी, रातो पेटीकोट, रातो पटुका आदि कुनै वस्त्र बिछ्याएर भीआईपी पाहुनालाई उभ्याउन सकिन्छ । रातो कपडा फेला नपरे उहाँको पाउमुनिको स्थानमा रातो माटो वा अबिर दलेर पनि रातो बनाउनैपर्छ । जसरी पनि उहाँलाई रातो कार्पेटमाथि उभ्याएर सलामी दिनुपर्छ अनि मात्र उहाँ भुइँमान्छेहरुबाट छुट्टिनुहुन्छ ।

गाउँमा सलामी दिने विशेष मन्चहरु बनाउन बाँकी रहेकाले पिर्का, टेबुललगायत अर्ग्यानिक मन्चहरु बनाइएको हो । अर्ग्यानिक सलामीमा सलामी दिइने व्यक्तिलाई अग्लो बनाउन अनेक उपायहरु अपनाइन्छ । व्यक्तित्व चढेर आउनुभएको मोटरको छतमा राखेर सलामी दिन सकिन्छ । मोटर नभए खाटमाथि, खाट नभए टेबुलमाथि, नत्र कुर्सीमाथि, कुर्सी नभए पिर्कामाथि । पिर्का पनि कहिलेकाहीँ नभेटिन सक्छ, त्यस्तो बेलामा डेक्ची, डब्बी, कराई, ताई, गाग्रा, बाल्टी आदि प्रयोग गरेर भए पनि प्रमुख अतिथिको उचाइ बढाउनै पर्छ । कुनै कारणले त्यस्ता भाँडाकुँडा फेला नपरे जोरईट्टामाथि उहाँलाई उभ्याएर उहाँको व्यक्तित्वमा दुई ईट्टा थप गरिदिनुपर्छ । त्यस्ता मन्च बनाउने कुनै साधन स्रोत नभेटिए कुनै मतदाताका डडाल्नुमा उभ्याएर भए पनि सलामी दिनुपर्छ । सलामीचाहिँ दिनैपर्छ । यो देउताका पालादेखि आएको परम्परा हो, धान्नैपर्छ ।

प्रकाशित: असार १५, २०७६

ट्याग: झटारो