राज्यकै संरक्षणमा सखाप सम्पदा

- हरिराम जोशी

लिच्छवि तथा मल्लकालीन राजा–महाराजाले काठमाडौँ उपत्यकामा थुप्रै मठमन्दिर, पुरातात्विक सम्पदा स्थापना गरे । र, काठमाडौँ उपत्यकालाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र मन्दिरै मन्दिरको सहर भन्न थालियो । पुरातात्विक सम्पदा संरक्षण गर्ने सरकारी नीति हुँदाहुँदै पनि शासकहरुले विभिन्न समय काठमाडौँ उपत्यकाका प्राचीन सम्पदामा आँखा गाडे । पुरातात्विक सम्पदा मासेर व्यावसायिक प्रयोजनमा लगाए ।

पञ्चायतकालमै काठमाडौँ, भोटाहिटीको १३ सय वर्ष पुरानो गैरीधारा (सप्तश्री) नष्ट गरेर टुँडिखेल विस्तारका नाममा ०४१ मा सब–वे बनाइयो । पुरातात्विक सम्पदा मानिने त्यहाँका मूर्ति नेपाल म्युजियममा थन्काइयो । भोटाहिटीमै मन्दिर विस्थापित गरी सरकारी स्वामित्वकै साझा भवन बनाइयो । सुन्धारामा कर्मचारी सञ्चय कोष भवन निर्माण गरिँदा मूल पुरियो र धारा सुके ।

काठमाडौँ नक्सालमा राज्य पक्षले रातारात नेपाल टेलिकम भवन ठड्यायो । सरकारी स्वामित्वकै टेलिकम भवनको जग निर्माणका क्रममा श्रशोः लेखिएका इँटा भेटिएका थिए । यसको अर्थ हुन्छ, श्री अंशुवर्मा । नेपालका धेरैजसो इतिहासकार टेलिकम भवन बनाएकै स्थलमा अंशुवर्माको राजप्रासाद रहेकामा एकमत छन् । टेलिकम भवन निर्माणका क्रममा मलगायतका इतिहास, पुरातत्वविद्ले पनि उक्त स्थल अवलोकन गरेका थियौँ । इतिहासकारले टेलिकम भवन निर्माण केही समय थाँती राखेर अंशुवर्माको दरबार भए/नभएको यकिनपछि मात्र काम अगाडि बढाउन आग्रह गरे पनि त्यसलाई राज्यले सुनेन । ०३८ मा इतिहास, संस्कृति र पुरातात्विक विषय समेटेर मेरै सम्पादनमा निस्कने रोलम्बमा पनि राज्य पक्षको उदासीनताबारे लेखिएको थियो । यस्तो प्राचीन स्थलमा राज्य पक्षबाटै थप अनुसन्धान हुनुपर्नेमा त्यसलाई बेवास्ता गरियो र सरकारी भवन ठडाइयो ।

ललितपुरमा पनि राज्य पक्षबाटै पुरातात्विक सम्पदा नष्ट भए । सुरुमा छेमडोल अड्डा हुँदै ००९ मा ललितपुर नगरपालिका र ०७३ मा ललितपुर महानगरपालिका कायम गरिएको पुल्चोक भवनमा कुनै बेला चार वटा ऐतिहासिक महत्वका प्राचीन पोखरी थिए । ती पोखरी मासेर नगरपालिका भवन, त्रिपद्म हाई स्कुल, गणेश मन्दिरलगायतका संरचना बनाइयो । पुराताफ्विक सम्पदा नष्ट गर्ने काम राज्य पक्षबाटै भयो ।

ललितपुर कुमारीपाटीनेरको पोखरी पनि राज्य स्तरबाटै नामेट पारियो । यो पोखरी राजा गीर्वाणयुद्धविक्रम शाहले भिन्से वहालका गुभाजुलाई दान गरेका थिए । पछि सरकार मातहत लगी ललितपुर नगरपालिकाले बिक्री गरेर ठूल्ठूला भवन बनाउन स्वीकृति दिएपछि अहिले पोखरीको अस्तित्व नै नामेट भएको छ ।

ललितपुर लगनखेलमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको प्रयाग पोखरीलाई राज्यबाटै नष्ट गरियो । ललितपुर नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएर पोखरीले चर्चेको स्थललाई व्यक्तिगत तथा संस्थागत रुपमा बिक्री गरी अहिले त्यहाँ आलिसान महल ठडिएका छन् । कुपन्डोलमा होटल हिमालय बन्नुअघि त्यो स्थानमा पनि पानीका धारा बग्थे । तर होटल निर्माणपछि त्यहाँका सबै प्राचीन धारा सुके ।

नेपालका प्राचीन तथा ऐतिहासिक धरोहरको उत्खननमा पनि राज्यबाटै खासै पहल भएको छैन । पहिलोपल्ट विसं ०२२ मा नेपालको पुरातत्व विभाग र इन्डियन को–अपरेसन मिसनको संयुक्त प्रयासमा नेपालका तारानन्द मिश्र तथा जनकलाल शर्मा र भारतका एसबी देव सम्मिलित टोलीले लाजिम्पाट र हाँडीगाउँको उत्खनन गरेको थियो ।

नेपालमा कार्यरत भारतीय पुरातत्वविद् नीलरत्न बनर्जीको नेतृत्वमा र पुरातफ्व विभागको सक्रियतामा हाँडीगाउँ र गोकर्ण क्षेत्रमा उत्खनन गरिएको थियो । उक्त टोलीले उत्खनन गर्दा फेला पारेका प्राचीन महत्वका तामाका भाँडा, मूर्ति, इँटालगायतका वस्तु पनि राज्यले संरक्षण गर्न सकेन ।

प्राचीन सम्पदा मासेर सरकारी भवन बनाइँदा त्यहाँका मूर्ति, इँटा, अभिलेख सबै नेपाल म्युजियममा राखियो । २५ असार ०३० मा सिंहदरबार आगलागी हुँदा ती सबै अमूल्य ऐतिहासिक सम्पदा नष्ट भए । नेपालको कानुनमै कला–संस्कृति र पुरातात्विक सम्पदास्थल मास्नुहुन्न भनेर लेखिए पनि राज्य स्तरबाटै त्यसको पालना भएन । राज्यले आज मात्र हेर्‍यो, भोलिको पुस्तालाई सम्झेन ।

 प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: असार १२, २०७६

ट्याग: स्मरण