नेकपाको दुई नम्बरिया मोडल

- जनक नेपाल

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको छिटो नामकरण गर्न दबाब दिँदै १२ जेठमा जनकपुरमै आएर भनेका थिए, “हामी कहिलेसम्म दुई नम्बरिया भएर बस्ने ?” प्रदेश २ ले मधेस, मिथिला, मिथिला–भोजपुर वा त्यस्तै केही नाम ढिलोचाँडो तय गर्ला नै । तर प्रतिपक्ष नेकपाभित्र हुर्किएको द्वन्द्वको दुई नम्बरिया मोडल भने छिट्टै टुंगो लाग्ने देखिएन ।

दुई नम्बरियाको अर्थ हो, अवैध काम । बिनाकुनै कानुनी अधिकार नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्ना प्रतिस्पर्धी नेता शत्रुघ्न महतोको सांसद पद १५ दिन निलम्बन गरिदिए । अनुशासन उल्लंघन गरे पार्टीले आन्तरिक कारबाही गर्न सक्ला, तर उनले सभामुखझैँ सांसद निलम्बनको पत्र पठाइदिए ।

पार्टी एकताअघि नै मण्डल र महतोको द्वन्द्व उत्कर्षमा थियो । कतिसम्म भने प्रदेश सभाको पहिलो बैठकमा अरु सबै पार्टीका एक नेताले मात्र शुभकामना दिए । तर नेकपाका एकले अर्कालाई नछाडेपछि दुवैलाई बोल्न दिनुपर्‍यो । संसदीय दलको निर्वाचनमा दुवैले सक्दो चलखेल गरे । संसदीय दलमा मण्डल निर्वाचित भएपछि दुई नेताको सम्बन्ध झनै चिसियो ।

पछिल्लो विवादको चुरो संसद्को लेखा समिति सभापति को हुने भन्नेमा थियो । नेकपाभित्र पूर्वएमालेबाट मण्डल संसदीय दलका नेता र सुन्दर विश्वकर्मा प्रमुख सचेतक भएपछि पूर्वमाओवादीलाई लेखा र प्राकृतिक स्रोत समिति सभापति दिइयो । महतोले त्यो भागबन्डा मानेनन् । उनले कांग्रेस र समाजवादी पार्टीका सांसदलाई प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराए, जहाँ नेकपाका भरत साहको पहिल्यै उम्मेदवारी परिसकेको थियो । साहले सभामुख सरोजकुमार यादवकै अघिल्तिर महतोको उम्मेदवारीपत्र च्यातिदिए ।

चर्को भनाभन र तनावपछि संसदीय दलका नेता मण्डलले महतोलाई प्रदेश सांसदबाट निलम्बनको पत्र काटिदिए । लेखा सभापतिको उम्मेदवारी भने दुवैका रद्द भए । महतोको उम्मेदवारी फोरमका प्रस्तावक पारस साहले फिर्ता लिइदिए भने साहले सांसद रामकुमार यादवको किर्ते हस्ताक्षर गरेको खुल्यो । नेकपा सांसद यादवले उजुरी दिएपछि उम्मेदवारी स्वतः रद्द भयो । उम्मेदवारी रद्द भए पनि नेकपाभित्रको दुई नम्बरिया द्वन्द्व भने तत्काल अन्त्य हुने देखिँदैन ।

‘ए, ऊ त उताको !’

जनकपुरधामका अधिकांश होटल एवं रेस्टुराँमा बालश्रमिक देखिन्छन् । जहाँजहाँ सोध्यो, एउटै जवाफ आउँथ्यो, ‘यताको हैन, उता (भारत) को हो ।’

जताका हुन्, कापीकिताब बोक्ने हातमा जुठा भाँडा देख्दा नमज्जा लागिरहेकै थियो । शिक्षित र प्रतिष्ठित परिवारभित्रै बालश्रमिकले पाएको यातनाको कुरा सुनेर झन् उदेक लाग्यो । लहान प्राविधिक शिक्षालयबाट भर्खर निवृत्त प्राचार्य योगनारायण यादवको घरबाटै प्रहरीले एक बालिकाको उद्धार गरेछ । यादवपत्नीको यातनाले बालिकाको टाउको रक्ताम्ये भएछ । यादवपत्नीका माइतीले दिएको १ लाख ऋण भुक्तानीका लागि सात वर्षअघि भारत बिहार मधुवनीस्थित पहाडघाट छेउको बस्तीबाट उनलाई जनकपुर ल्याइएको थियो । यादवले घरमा कुकुर पालेका छन् । त्यसलाई भन्दा नराम्रो व्यवहार ती बालिकामाथि गरिरहेका छन्, किनभने उनी ‘उता’ की हुन् ।

उद्धार र उपचारपछि प्रहरीले बालिकालाई स्थानीय गैससको एउटा सेल्टरमा राखिदियो । तर बालश्रमिक राखेर यातना दिने यादवविरुद्ध भने कुनै मुद्दा चलाएन । कारण, उनी प्रथम राष्ट्रपति रामवरण यादवका भतिजा रहेछन् । प्रहरी र उच्च अधिकारीको दबाबले हैरान प्रहरी उपरीक्षक शेखर खनालले मुद्दा चलाएर थप हैरानी बेहोर्न चाहेनन् । उच्च अधिकारीलाई ‘जय नेपाल’ गर्दै गैरकानुनी हर्कत देखेको नदेख्यै गर्नमै सुरक्षित ठाने । 

जाँगरिलो जनकपुर

एक दशकमै आफ्नो रुप–रंग फेरेछ, जनकपुरले । हरेक साँझ गंगासागरमा आरती उतारिन्छ । सहरका ठूला र भित्री सडक फराकिला र कालोपत्रे हुँदैछन् । ती सबै संघीयताअघिकै योजना हुन् । तर प्रदेश सरकारको निगरानीमा तिनले गति लिएका छन् । अस्थायी प्रदेश राजधानी रहेको यो ऐतिहासिक सहरमा अभूतपूर्व चहलपहल देखिन्छ । काठमाडौँदेखि सधैँ टाढा महसुस गरेको सहरले दैलोमै सरकार भेटेको छ । प्रदेश सरकार र संसद्मा नयाँ उत्साह र जोश/जाँगरको महसुस भयो । प्रतिनिधिसभामा पुगिसकेका दर्जन धेरै नेताहरु रहेको प्रदेश २ संसद्ले छिट्टै परिपक्वता हासिल गरेको देखियो ।

एउटा समृद्ध सहरको परिभाषाभित्र विविधता पनि पर्छ । मधेस आन्दोलनपछि उत्पन्न तनावले विस्थापित पहाडी समुदाय फर्किएन । हिन्दु धार्मिक सहर बनाउने कोसिसले मुस्लिम समुदाय पनि पातलिँदै छ । त्यसले जनकपुरले सद्भावपूर्ण विविधता भने गुमाउने लक्षण देखिँदैछ । तर मध्यसहरमा रेलको लिक बनिसकेको छ । दुई महिनामा स्वदेशी रेल कुद्नेछ । समृद्धिको अर्को यात्रा सम्भवतः त्यहीँबाट सुरु हुनेछ ।

प्रकाशित: असार ११, २०७६