योगमाया वरिपरि

- सुनिता लोहनी

४ असार, ०७६ । चिरिक्क जीउ नै चर्कनेजस्तो घाम छ । कहिलेकाहीँ छोटो भ्रमण भिसामा आउँछ बादल । सडकमा सरकारकाविरुद्ध नाराबाजी चलिरहेछ, गुठी विधेयक ०७५ खारेजीका लागि । शिल्पी थिएटरको मञ्चमा कराउँदै छिन्, योगमाया सामन्तवादविरुद्ध ।

विसं १९२४ मा भोजपुरमा जन्मेकी योगमाया नीलम कार्की निहारिका, ४५, को ऐतिहासिक उपन्यासको प्रमुख पात्र हुँदै अहिले शिल्पीमा आइपुगेकी छन् । निहारिकाले चलिरहेको गुठी आन्दोलनलाई कटाक्ष गर्दै भनिन्, “हेर्नुस्, समाज खासै परिवर्तन भएकै छैन । योगमायाको धेरै मागमध्ये ‘भूदान गर’ पनि एक हो । हिजो योगमाया कराइन्, आज सडकमा जनता कराइरहेका छन् ।”

०५१ मै मौन जीवनबाट उपन्यासमा पाइला टेकेकी निहारिकाको नियतिको खेल, अर्की आइमाई, चीरहरणजस्ता उपन्यास प्रकाशित भइसकेका छन् । त्यसैगरी बेली, कागजमा दस्तखत, हवन कथासंग्रह र ब्रेन फिभर कवितासंग्रह प्रकाशित भइसकेका छन् ।

योगमाया राणा शासनमा समाज सुधारक थिइन् । उनले भारतबाट फर्केपछि भोजपुरमा सामन्तवादविरुद्ध लड्न चेतना फैलाइन् । योगमायाले दासप्रथा उन्मूलन, मानापाथीको कारोबारमा बेइमान नगर्न र सती प्रथाविरुद्ध चेतना फैलाएकी थिइन् ।

मञ्चमा सेतो पहिरनमा साध्वीको भेषमा मिथिला शर्मा छिन् । आफ्ना अनुयायीलाई सामन्तीविरुद्ध लड्न हौस्याउँदै छिन् । उनी ६८ अनुयायीसहित अरुण नदीमा जल समाधि लिन्छिन् ।

योगमायालाई नाट्य परिमार्जन तथा निर्देशन गरेका टंक चौलागाईं, ३७, थिएटरमा दर्शकको भीड देखेर प्रफुल्लित छन् । भन्छन्, “कसैले लेखिदिएको राम्रो किताबमा काम गर्न झनै मज्जा आउँदो रहेछ ।”

चौलागाईं स्वयं लेखक हुन् । उनका जिरो कटेज, काठमाण्डु गीत र टालाटुली उपन्यास प्रकाशित छन् । विद्यालयमा नाटक पढाउने चौलागाईंलाई लेखनभन्दा पनि निर्देशन प्रिय लाग्छ । ०७३ मै माधवी नाटक मञ्चन गरेर ख्याति कमाएका उनले योगमायामा पात्रहरुको भीडै लगाएका छन् । कर्ली कपाल हल्लाउँदै उनी भन्छन्, “मलाई धेरै पात्रहरुसँग काम गर्न मन पर्छ । उपन्यासमै धेरै पात्र थिए ।” दोहोरो र तेहरो पात्र खेलेर कुल २८ कलाकारले चरित्र निर्वाह गरेका छन् ।

चौलागाईंलाई धेरै कलाकारसँग काम गर्न मज्जा आउँछ । तर व्यक्तिगत रुपमा यति धेरै कलाकारसँग काम गर्दा सबैको अभिनय क्षमता उत्कृष्ट निकाल्न गाह्रो हुन्छ, अभिनयको पाटो खड्केको उनी महसुस गर्छन् । “हामीले भरपूर कोसिस गरेका छौँ,” उनी थप्छन् ।

निहारिकालाई भने उपन्यासमा धेरै पात्र भएको मन पर्दैन । चीरहरण मा धेरै पात्रसहितको उपन्यास लेखे पनि महाभारतको कथासँग जोडिएकाले सजिलो भएको उनी तर्क गर्छिन् । “सत्य घटनामा आधारित, ती व्यक्तिका सन्तति अझै छन्,” उनी थप्छिन्, “मैले अध्ययन–अनुसन्धान गरेर लेखेकी हुँ ।  एकदम गाह्रो भएको थियो ।” लेखनको कुरा गर्दा योगमायाले ब्लड प्रेसरको तनाव दिएर गएको निहारिका बताउँछिन् । बाटोमा हिँड्दा कतै योगमाया, कतै गंगा, कतै प्रेमनारायण भेटेको । चरित्रको धङधङीले उनलाई पछिसम्म पनि छाडेनछ ।

नाटक मञ्चनका क्रममा चौलागाईंले थुप्रै चुनौती खेपेका थिए । एक त अरुको चलेको सिर्जनामा काम गर्न र न्याय दिन गाह्रो हुन्छ । “लेखकलाई चित्त बुझाउनुपर्‍यो । उपन्यासका आफ्नै पाठक हुन्छन्, उनीहरुलाई पनि चित्त बुझाउनुपर्‍यो,” चौलागाईं प्रस्ट्याउन खोज्छन् ।

नाटकको अर्को बाध्यता समयसीमामा बाँधिनुपर्छ । निहारिकाको मोटो उपन्यासलाई सुरुमा उनले ३ घन्टा हुँदै अन्ततः १ घन्टा ३० मिनेटमा झारे । जल–समाधि दृश्यलाई स्टेजमा उतार्ने क्रममा धेरै कठिन भएको उनी सम्झन्छन् ।

नदी देखाउन सेतो कपडा वा प्रोजेक्टरको सहायता लिने चलन भए पनि उनलाई त्यस्तो ‘क्लिसे’ लाग्छ । निर्देशक भन्छन्, “मैले सेतो कपडा पनि किनेको थिएँ ।” केही विकल्पै नभए प्रयोग गर्ने सोच उनले बनाएका थिए । अन्तमा उनले विम्बलाई रोजे । विम्बजति उचित न्याय पाठकका लागि अरु के होला ?

केही दर्शक जो ऐतिहासिक पात्रका आफन्त थिए, उनीहरु नाटकमा खेलाइने कलाकार स्वयं पात्र नै हुन् भन्ठान्थे । मैले  मामा फटिकबहादुर, डम्बरबहादुरलाई देखेको छैन । उहाँहरु यस्तो हुनुहुन्छ र ? भन्नेसम्मका अन्तरसंवाद चौलागाईंसँग छन् । त्यसकारण उनी यसमा जोखिम पनि देख्छन् । तर हरेक कुराको गुणदोष भएजस्तै बलियो कथा भएकाले प्रस्तुतिमा मात्र ध्यान दिन सजिलो भएको उनी सुनाउँछन् ।

उसो त लेख्नु पनि सजिलो काम होइन । निहारिका उपन्यास लेख्दाको क्षण सम्झिँदै भन्छिन्, “कहिले एउटै वाक्यमा पनि एक घन्टा अड्किएकी छु । त्यसकारण पनि मलाई पात्रहरुको असाध्यै माया लागेर आउँछ ।” रिहर्सलदेखि तीन पटक दर्शकसँगै नाटक हेरेकी निहारिकालाई चौलागाईंको निर्देशन चित्त बुझेको छ ।

नाटकमा योगमायालाई सती प्रथा उन्मूलनका पक्षमा उभिएको मात्र देखाइँदा चित्त नबुझेको उनी बताउँछिन् । “सती प्रथाविरुद्ध योगमायाले बोलेकी मात्र हुन् । तर दासप्रथा उन्मूलन गर्न उनले अभियानै चलाएकी थिइन् । चन्द्रशमशेरलाई पत्र नै पठाएकी थिइन्,” निहारिका भन्छिन्, “भोजपुर पुग्दा कसैले सती प्रथाबारे योगमायालाई सुनाएको मात्र हो । उनी आफैँले देखेकी होइनन् । उनले महिलाका लागि मात्र नभएर समग्र समाजका लागि काम गरेकी हुन् । यो सन्देश मात्र नजाओस् भन्नेमा म चिन्तित छु ।”

रत्नबहादुर बस्नेत हत्कडी लगाएर विसं १९९५ मा जेलमै बितेको, टेकबहादुर बस्नेत जेल तोडेर भागेको । यिनलाई निहारिका बलियो पात्रको रुपमा हेर्छिन् । तर नाटकमा यिनीहरुले त्यति स्थान नपाएको उनको गुनासो छ ।

त्यसैगरी योगमायाले सात वर्षे छोरी नैनकलाको बिहे गरिदिन्छिन् । नाटककारले सुरुमा यो चरित्र राख्न नमानेको उनी सम्झिन्छिन् । निहारिका भन्छिन्, “उनीहरुले उमेर बढाएर राख्न चाहेका थिए । तर मैले मानिनँ ।”

इतिहासलाई तोड्न नहुने तर्क छ उनको । योगमायाको त्यो निर्णयलाई उपन्यासमै उतार्न पनि निकै कठिन भएको उनी सम्झिन्छिन् । पछि नाटकमा ठूलो उमेरकी केटीलाई सात वर्षे बालिकाको भूमिका दिइएको छ ।

दाहाल यज्ञनिधिबाट प्रेरणा पाएपछि निहारिकाले योगमाया लेखेकी हुन् । सांग्रिला बुक्सका मणि शर्माले नाटक बनाउने योजना सुनाएपछि निहारिकाले मिथिला शर्मालाई नै योगमायाको चरित्रका लागि उपयुक्त देखिन् । योगमाया करिब ६० वर्ष उमेरकी र रंगमञ्चमा काम गरेको अनुभव भएकाले मिथिला नै उपयुक्त लागेको थियो निहारिकालाई । त्यसपछि चौलागाईंले योगमायाको छविमा मिथिलालाई नै देखे । “मैले भरोसा हस्पिटलमा स्क्रिप्ट लिएर भेट्न जाँदा उहाँकी आमा बित्नुभएको थियो,” उनी सम्झन्छन् ।

गोपीकृष्ण चरित्र चौलागाईंलाई खुबै मन पर्छ । उपन्यासमा खासै धेरै स्थान नभए पनि उनले गोपीकृष्णबाटै नाटक सुरु गरेका छन् । उनी आफैँले सुरुमा गोपीकृष्णको भूमिका गरेका थिए । तर पछि कामविशेषले युरोप जानुपर्ने भएपछि उनले उक्त चरित्र अरु कसैलाई दिए । गोपीकृष्णले तल्लो जातको केटी बिहे गरेपछि जात काट्छ, समाजले अनि उसले आत्महत्या गर्छ । त्यसैगरी काइँली कमिनी चौलागाईंको अर्को मन पर्ने चरित्र हो । सो चरित्रमा छुवाछूत एकदमै बलियो भएर आएको छ ।

सुन्दरीजलमा उत्तरवाहिनी गुफा छ । त्यहाँ वज्र घर छ, जहाँ योगमायाका अनुयायी प्रेमनारायण आएर तपस्या गरी बसेका थिए । निहारिकाले उपन्यास लेखनका क्रममा ती ठाउँमै गएर अनुसन्धान गरेकी थिइन् । अन्यायको जाँतोमा पिसेर मर्नुभन्दा बरु यही ढुंगाले थिचेर मर्नु जाती । माइतीले गाली गर्‍यो भने यति सानो सहयोग पनि गर्न सकेनन् भने कुन भरोसाले बाँचोस् यो चेली । जब उनले खिपेर लेखेका संवाद पात्रले मञ्चमा बोल्थे, जीउमा सिरिंग काँडा उम्रेको उनी बताउँछिन् । काइँली कमिनीको पात्र जसरी नाटकमा प्रस्तुत भएको छ, निहारिकाको चित्त बुझेको छ ।

अहिले पनि अत्याचारको विषय आउँदा उनी योगमाया सम्झिन्छिन् । “योगमायाले त्यो बेला गरेको काम अहिले हामी किन गर्न सक्दैनौँ ?” निहारिका भन्छिन्, “योगमायाको समाधि माक्र होइन, क्रान्तिका कुरा फैलाउनु पनि जरुरी छ ।”

प्रकाशित: असार १०, २०७६