गणितको आख्यान

- अनिलसिंह प्रधान

गणितमा रुचि राख्छन् फ्रान्सेली न्यायाधीश फर्मा । एक दिन डाइफान्टानसको गणितीय समस्याको किताब उनको हात पर्छ । र, हरेक दिनजसो ती समस्यालाई अभ्यास गर्दै साध्य पनि बनाउँछन् भने कति यसै छाडिदिन्छन् । फर्माको मृत्युपछि उनका छोराले ती अभ्यासपुस्तिका प्रकाशन गर्छन् । त्यही पुस्तकका स्टेटमेन्टलाई आधार मानी संसारभरि नै अभ्यास गरिन्छ तर बुझ्न सरल मानिएको फर्माको अन्तिम एउटा साध्य समस्या नै रहिरहन्छ । एक जर्मन व्यवसायी आफ्नी प्रेमिकासँग सम्बन्ध बिग्रेपछि सुसाइड नोट लेखेर बस्छन् । तर आत्महत्याका गर्न केही घन्टा बाँकी रहेकाले पुस्तकालय छिर्छन् । फर्माकै साध्यमाथि प्रख्यात गणितज्ञ कुमेरले गरेको कन्जेक्चरमा दोष भेट्टाउँछन् । अनि आत्महत्याको मनसाय पन्छाएर उक्त समस्या हल गर्नेलाई १ लाख रुपैयाँको घोषणासमेत गर्छन् ।

१० कक्षा पढ्ने एन्ड्र्यु विल्स नामक बेलायती विद्यार्थीले पुस्तकालयमा भेटिएको किताबको समस्याबारे शिक्षकलाई सोध्दा थाहा भयो– त्यो साध्य अहिलेसम्म प्रमाणित भएको छैन । तिनै विल्सले गणितमै विद्यावारिधि गरेपछि ९० को दशकमा उक्त समस्या हल गर्छन् । तर उनको ख्याति विश्वव्यापी भइसकेपछि गणितीय पुष्टिमा समेत केही त्रुटि फेला पर्छ । थप एक वर्ष लगाएर उनले पुष्टि गरिछाडे । यसरी ३ सय ५८ वर्षपछि फर्माको अन्तिम साध्यले समाधान पाउनुका साथै विल्सले पनि गणितका सबैभन्दा ठूलो पुरस्कार हात पार्छन् ।

गणितज्ञको श्रमसाध्यका कथा भएकाले पनि पठनीय छ, भौतिकशास्त्री सिमोन सिंहको फर्माज लास्ट थियरम । गणितका इतिहास र केही रोचक घटनावलीमा आख्यानको स्वाद छ । गणितजस्तो जटिल मानिएको विषयमा समेत सिमोनले पाइथागोरसदेखि व्यावहारिक ज्ञानसम्म सम्प्रेषणीय ढंगले लेखेका छन् । एउटा साध्य प्रमाणित गर्न खर्च भएको श्रम र समयलाई कथात्मक शैलीमा वर्णन गरिएकाले जोकोहीका लागि पनि रुचिकर हुन सक्छ, यो पुस्तक । यसमा अनेक अभ्यास र योगदानका थुप्रै व्यक्तिका रोचक कथा छन् ।

ध्रुवचन्द्र गौतमको उपन्यास निमित्त नायकको युवा पात्रमा मैले सायद आफैँलाई भेट्टाएँ । जुन अध्याय र अनुच्छेदबाट पढे पनि उत्तिकै आनन्द दिने यो उपन्यासले जीवनलाई नजिकबाट बुझ्न सघाउँछ । सहरी परिवेशमा रचित उपन्यासको मीठो वाक्यगठनमा छिपेको श्यामव्यंग्यले मलाई आकर्षित गर्‍यो । विश्लेषकहरु भन्छन्, उनका आख्यानमा उत्तरआधुनिक अवयव प्रयुक्त छन् तर म विज्ञानको विद्यार्थी भएकाले साहित्यिक अंगबारे उति गहिरो ज्ञान राख्दिनँ । गौतमले चमकधमक महाआख्यानभन्दा साधारण पात्रका अभाव टिप्छन्, मलाई त्यसले कायल पार्छ ।

कवि बन्ने लक्ष्य बोकेको विनय आफ्नो घरको वास्तविकता बिर्सेर प्रेम स्थापित गर्न लालायित छ । तर दैनिकी अस्तव्यस्त छ । विद्यार्थी जीवनमा धेरैलाई आफ्नो भविष्यको चिन्ता र चासो हुन्छ नै । आफूले चाहेअनुरुपको परिस्थिति अनुकूल नहुँदाको युवा मनको हुन्डरी र हन्डरलाई आकर्षक शैलीमा प्रस्तुत गरिएकाले पनि यसको छाप निरन्तर रह्यो ममा । पञ्चायतकालीन राजनीतिक शोषणका विकृति, बेथिति र विसंगतिलाई यो उपन्यासले उदांगो पारेको छ । निमित्त नायक कुनै बेला हामी साथीहरुबीच सामूहिक वाचन गर्थ्यौं र मस्त हाँस्थ्यौँ । तर हाँसिसकेपछि त्यो कथनको अन्तर्यमा रहेको गाम्भीर्यमाथि छलफल गर्थ्यौं । भनिन्छ, हास्यरस नहुँदो त जीवन मरुभूमिमय नै भइदिन्छ । यही नीरसता कम गर्न पनि ध्रुवचन्द्रलाई दोहोर्‍याइरहन्छु ।

नोम चोम्स्कीसँग उनका चेला र साथीहरुले गरेका वैचारिक विमर्श संकलित छ, अन्डरस्ट्यान्डिङ पावरमा । अन्तर्राष्ट्रिय राजनीति, मिडिया, अर्थतन्त्र, समाजवाद, साम्यवादको सेरोफेरोमा घुमेको यो किताबको केन्द्रमा शक्ति–राजनीति छ । राजनीतिक शत्तिले मिडियालाई कसरी उपयोग गर्छ भन्ने भेउ पाउन यो किताब सहयोगी हुन्छ ।

‘प्यालेस्टाइन राज्य थिएन’ भन्नका खातिर अनेक तथ्य र सन्दर्भसहित जोन पिटर्सले फ्रम टाइम इम्मेमोरियल लेखे र उक्त किताबमाथि विश्वकै चर्चित म्यागजिनले सकारात्मक समीक्षा छापे पनि । कोही अध्येताले त्यस किताबमाथि अध्ययन गर्दै जाँदा एकाध मात्र होइन, कुनै पनि सन्दर्भ–सामग्री फेला परेन । अन्त्यमा थाहा भयो, पुस्तकमा उल्लिखित सामग्री सबै झुट रहेछन् । मिथ्यांक प्रस्तुत गरेर कथित विद्वान्हरुले आम मानिसलार्ई कसरी गलत दिशामा डोर्‍याउँछन् भन्ने बताएका छन्, चोम्स्कीले ।

चोम्स्कीको पुस्तकका सन्दर्भ र उदाहरण केही पुराना भए पनि ती हाम्रा लागि उपयोगी हुन सक्छन् । सन् २००२ मा पहिलो पटक प्रकाशित पुस्तकमा त्यसअघिकै प्रसंग र उदाहरण आउनु स्वाभाविक हुन् । निकट विगत र केही पहिलेका भियतनाम युद्धका घटनाबारे उनले राखेका धारणा वर्तमान बुझ्नसमेत काम लाग्छन् । लोकतान्त्रिक भनिएका राज्यका कल्याणकारिता दिनप्रतिदिन कम हुँदै जानुका कारणबारे उनले गरेका व्याख्या उत्तिकै बलियो लाग्छ । किताब प्रकाशित भएयता सञ्चार जगतमा उल्लेखनीय परिवर्तन भएका छन् । सामाजिक सन्जालजस्ता माध्यमले धेरै कुरा बदलेका छन् तर चोम्स्कीले सञ्चारबारे गरेको विश्लेषण उत्तिकै सान्दर्भिक लाग्छन् । तथ्य, तथ्यांक, उदाहरण र चुस्त विश्लेषणका आधारमा राखिएका मत पढ्दा लाग्छ, चोम्स्कीजतिको सत्य बोल्न सक्ने सार्वजनिक बौद्धिक सायदै अरु कोही होला ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: असार १०, २०७६

ट्याग: तीन किताब