आँगनमै चिहान

- राजकुमार राउत/ लहान, सिरहा

मानिस भन्छन्, मरेपछि डुमै राजा । अमिर होस् वा फकिर, मरेपछि मानिसलाई चाहिने साढे तीन हात जमिन मात्रै हो । त्यही पनि नरहने गरी सार्वजनिक जमिन अतिक्रमित भएपछि सप्तरीको सीमावर्ती बोदेवर्साइन नगरपलिका–३ का कुशमाहार, सरश्वर र मधुवनबासी वर्षौंदेखि आफ्नै आँगन र करेसाबारीमै अन्त्येष्टि गर्न बाध्य छन् ।

तीन गाउँमा ६ सय ५० घर अल्पसंख्यक, सीमान्तकृत दलित, भूमिहीन र विपन्न समुदायको बसोबास छ । कुशमाहारका दशरथ मण्डल, ४०, सार्वजनिक जमिन नहुँदा तीन गाउँका मानिस आफ्नै घरआँगन र करेसाबारीमा लासलाई जलाउने र गाड्ने गरेको सुनाउँछन् ।

“सात वर्ष पहिलेसम्म गाउँमा यस्तो अवस्था थिएन, गाउँ/समाजमा कसैको मृत्यु हुँदा सार्वजनिक पोखरीको डिल, सिमसार जग्गामा संस्कार गर्थ्यौं,” उनी भन्छन्, “तर गाउँका हुनेखाने, टाठाबाठाले सार्वजनिक जमिन अतिक्रमण गरेर पुस्तौँपुस्तादेखि दाहसंस्कार गर्दै आएको स्थान नदिएपछि के गर्ने ?”

बोदेवर्साइन नगरपलिका–३ का अध्यक्ष अनोजकुमार यादव लास जलाउने ठाउँ पनि नरहने गरी सार्वजनिक जग्गा अतिक्रमण भएको स्वीकार्छन् । भन्छन्, “हुनेखानेहरूले १ हजार रुपैयाँ ट्याक्टर भाडा तिरेर चार किलोमिटर परको बलानबिहुल गाउँपालिकाको बिहुल नदीमा लगेर अन्त्येष्टि गरे पनि गरिबीका कारण दलित, भूमिहीन र विपन्न समुदाय आफ्नै जमिनमा दाहसंस्कार गर्न बाध्य भए ।”

धनीहरूले धर्मकर्म सबै बिर्सेर लास जलाउने ठाउँ फनि नरहने गरी सर्वजनिक जमिन अतिक्रमण गरेको आत्रोश पोख्छन्, मधुवनका किसुन सदा । “गाउँमा लास जलाउने ठाउँ छैन । बास बस्ने माटो पनि आफ्नो छैन । ज्याला मजदुरी गर्ने मुसहरलाई अहिले खाए भरेलाई के खाने, कहाँबाट ल्याउनु पैसा ?” सदा भन्छन्, “मजबुरीका नाम महात्मा गान्धी भनेजस्तै जमिन हुनेले घरपछाडि करेसाबारीमा, नहुनेले आफ्नै आँगनमा दाहसंस्कार गर्छौं ।”

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरकारले घाटको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । तर बोदवर्साइन नगरपालिकाले भूमिहीन दलितका लागि अहिलेसम्म घाटको व्यवस्था गरेको छैन । घाट निर्माणका लागि हारगुहार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको उनीहरूको भनाइ छ ।

प्रकाशित: असार ९, २०७६

ट्याग: प्रदेश २