सीको असफल बिहे

- लक्ष्मी लम्साल/बेइजिङ

यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति सी चिनफिङको सरकारले उच्च सम्मानका लागि ऊनको बिदाइ कार्यक्रम गरिरहेको थियो । ख ह्वा तिनै व्यत्ति हुन्, जो कुनै बेला राष्ट्रपति सीका ससुरा पर्थे ।

 चीनका लागि लामो कूटनीतिक सेवा गरेका ख ह्वा उमेरका हिसाबले पनि शतक काटेका थिए । जतिखेर उनी बेलायतका लागि चिनियाँ राजदूतको कार्यभार सम्हालिरहेका थिए,  कान्छी छोरी ख लिङलिङले सी चिनफिङसँग बिहे गरेकी थिइन्, सन् १९७९ मा । त्यतिखेर सी फुच्येन प्रान्तको गभर्नरका रुपमा कार्यरत थिए । हालकी श्रीमती फङ लीयुआनको सर्वत्र चासो र चर्चा भए पनि ख लिङलिङबारे धेरै चिनियाँ अनभिज्ञ छन् ।

त्यसमाथि सी चिनफिङ भनेको विश्वस्तरीय नेता, जसको कुना–कुनामा के गतिविधि हुन्छ भन्ने चासो आम मानिसमा हुने नै भयो । सीका बारे चासो राख्नेहरुले उनको पहिलो बिहे सम्बन्धमा पनि जिज्ञासा राख्ने नै भए । एउटा अर्थमा भन्ने हो भने ’पूर्वपत्नी’ नै भइसकेको, बितेको विषयमा मानिसले त्यति वास्ता नगर्नु पनि असान्दर्भिक होइन ।

ख लिङलिङ पनि स्वावलम्बी नारी हुन् । चिनियाँ अनलाइनका अनुसार उनी लन्डनको एउटा निजी अस्पतालमा वरिष्ठ निर्देशक हुन् । लन्डन युनिभर्सिटीमा ओरिएन्टल एन्ड अफ्रिकन चिकित्सा स्कुलकी भिजिटिङ प्रोफेसर पनि हुन् । मुस्किलले उनीसँग पश्चिमा मिडियाले साक्षात्कार गर्ने अवसर पाउने रहेछन् । चाइना डिजिटल टाइम्स अनलाइनमा उनी सम्बन्धित थोरै सामग्री सार्वजनिक छन् । यद्यपि यस विषयलाई लिएर चिनियाँ सञ्चार माध्यमले नक्कली भन्ने टिप्पणी गरेको पनि सुनिन्छ ।

चीनमा सहजै नखुल्ने द्विभाषिक अनलाइनमा बताइएअनुसार उनले सी चिनफिङ चीनको राष्ट्रपति बनेकामा खुसी व्यक्त गर्दै कुनै दिन राष्ट्रपति बन्लान् भन्ने नसोचेको बताइन् । उनले भनिन्, ’तर उनी निकै आदर्शवान र क्षमतावान थिए । त्यतिखेर मैले थाहा पाइनँ कि उनको प्रतिभा केका लागि उपयोगी हुन्थ्यो ।’

बिहेको ३ वर्ष अर्थात् १९८२ मा सी चिनफिङ र ख लिङलिङको सम्बन्धविच्छेद भयो । उनको अर्को नाम ख स्याउ मिङ हो । सन् १९८० को दशकदेखि नै उनी बेलायतमा बस्दै आएकी छन् । आफ्ना पूर्वपतिबारे मूल्यांकन गर्दै उनले इमानदार छवि तर जिद्दी स्वभावको भन्छिन् । सम्भवतः लामो समय सहयात्रा नगरेकाले उनले साँच्चै नै चिन्न सकिनन् ।

परम्परावादी चीनमा त्यस समय पारपाचुके उति सामान्य थिएन । हालको पाका पुस्ताले समेत नयाँ पुस्ताले गर्ने दोस्रो बिहेमा भाग लिन हिच्किचाउँछ । अहिलेको पुस्ता निकै उदार र खुलस्त भएकाले सहजै बिहे वा पारपाचुके गर्ने गरेको पाइन्छ ।

’फर्किएर हेर्दा धेरै कुरा जे–जति उनले गरेका थिए, वास्तवमा ती सही थिए । तर म त्यतिखेर सानै र संवेदनशील थिएँ । ऊनी निस्क्रिय बस्ने खालका व्यक्ति थिएनन्, योजनाअनुसार केही न केही गरिरहेका हुन्थे ।’ बरु आफूलाई निस्क्रिय करार गर्दै उनले भनिन्, ’अन्ततः महिलाले त्यस्ता पुरुष मन पराउँछन्, जसले रोमान्स भन्ने कुरा बुझ्छन् । सी त्यस्ता थिएनन् । प्रायः मलाई लाग्थ्यो, उनी खुलस्त छैनन् ।’

बिहे गरेको वर्षदेखि नै सी र खबीच मनमुटाव चलिरह्यो । चिनियाँ मिडियामा सीको पूर्वपत्नीसम्बन्धी कुनै पनि सामग्री भेटिँदैनन् । तर पश्चिमा मिडियाका अनुसार बिहेपछिका दिनमा उनीहरुबीच लगातार झैँझगडा हुने गर्थ्यो । उनीहरुको बिहेले धेरै लामो समय काट्न सकेन । अन्ततः तीन वर्षमै शक्तिशाली राष्ट्रपति सी चिनफिङको पहिलो बिहे अन्त्य हुन पुग्यो ।

सी चिनफिङले यो सम्बन्ध जोगाइराख्न प्रयत्न गरे पनि सकेनन् । उनले सार्वजनिक जीवन र आफ्नो जिम्मेवारीमा निरन्तर रहेकाले त्यसतर्फ पर्याप्त ध्यान दिन नपाएको पनि हुन सक्छ । हुन त जनगणतन्त्रका प्रवर्तक नेता माओका पनि ४ पत्नी थिए, भनिन्छ । अगुवा नै भएकाले पनि हुन सक्छ, बिस्तारै यो क्रम अरु नेताहरुमा पनि सर्दै गयो र क्रमशः यस्तो कुरा पचाउन थालियो । तथापि सन् २००० अघिसम्म चीनमा पारपाचुके भन्ने शब्द लोकाचारका हिसाबले त्यति खुलस्त मानिन्थेन ।

प्रकाशित: असार ९, २०७६