दोस्तीमा दरार

- माधव बस्नेत

रीतबहादुर खड्काको स्मृतिमा हाम्रा साथीहरू (पूर्वएमाले) कोही पनि नआउने ? म ठिंग एक्लै भएँ । यस्तो पनि हो एकता ?’

संघीय संसद् सदस्यसमेत रहेका नेकपा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ ३ जेठ अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा यसरी भुनभुनाउँदै थिए । कारण थियो, अघिल्लो दिन पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वएमालेका नेता/कार्यकर्ताको उपस्थिति न्यून हुनु ।

२ असार ०५९ मा रौतहटमा मारिएका नेकपा (माओवादी) का नेता रीतबहादुर खड्का ‘प्रताप’ को स्मृति कार्यक्रम राखेको थियो, शहिद रीतबहादुर खड्का स्मृति प्रतिष्ठान, दोलखाले बिहान ८ बजे धुम्बाराहीमा । कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै नेकपाका थुप्रै नेता/कार्यकर्ता निम्त्याइएका थिए ।

निर्धारित समयभन्दा केही ढिलो गरी कार्यक्रममा प्रचण्ड सहभागी भए । तर कार्यक्रम समापन हुने तरखर भइरहँदासमेत प्रधानमन्त्री रहेका अर्का अध्यक्ष ओली आउने कुनै छाँट थिएन । ओली त आएनन् नै, पूर्वएमालेका श्रेष्ठबाहेक कोही पनि उपस्थित भएनन् ।

विगतमा यस्ता कार्यक्रममा कम्तीमा महासचिव विष्णु पौडेल सहभागी हुने गरेका थिए । त्यस दिन उनै पौडेलको समेत उपस्थिति देखिएन । नेताहरूको त कुरै छाडौँ, पूर्वएमाले ‘स्कुलिङ’ का कार्यकर्ताको सहभागितासमेत फाट्टफुट्ट मात्र थियो ।

राजनीतिको प्रारम्भिक दिनमा रीतबहादुर स्वयं ०४३ देखि तत्कालीन नेकपा माले निकट अनेरास्ववियुमा आबद्ध भई ०४६ मा दोलखा जिल्ला कमिटी सचिव र जिल्ला जनआन्दोलन समितिको सचिवसमेत थिए । उनी ०४८ मा एमाले परित्याग गरी तत्कालीन मसालमा प्रवेश गरेका थिए ।

प्रतिष्ठानको अध्यक्ष नेकपाकै केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री देवी खड्का हुन् । पार्टी एकताको छोटै समय सही, आफ्नै ‘स्कुलिङ’ बाट हुर्केका नेताको स्मृतिसभामा समेत पूर्वएमाले नेता/कार्यकर्ता उपस्थित नहुनुले दुई खेमाबीचको भावनात्मक दरार आकलन हुन्छ ।

त्यसो त पूर्वमाओवादीको छाती पनि यही घटनाबाट जाँच्न सकिन्छ । सार्वजनिक कार्यक्रम, पार्टी दस्तावेज होस् वा वेबसाइट एनसीपीडटओआरजीडटएनपीमा समेत प्रधानमन्त्री ओलीको नाम अगाडि छ । निर्वाचनलाई आधार मान्ने हो भने पनि पूर्वएमाले ७१ र पूर्वमाओवादी २९ प्रतिशत हो । यस हिसाबले पनि दुई अध्यक्षमध्ये स्वतः ओलीकै नाम अघि आउँछ । त्यसमाथि यसबेला ओली मुलुकका कार्यकारी प्रमुख हुन् । तर खड्काको स्मृतिसभामा उपस्थितिका लागि बाँडिएको निमन्त्रणा कार्डमा प्रचण्डको नाम अगाडि र ओलीको पछाडि छ । यति मात्र होइन, ओलीलाई प्रधानमन्त्रीका रूपमा सम्बोधनसमेत गरिएको छैन ।

सचेततापूर्वक नै यस्तो कार्ड बनाइएको जानकारको भनाइ छ । पूर्वएमालेहरूलाई विचार पढाउनुपर्छ, वैचारिक बहसलाई प्रस्ट्याउनुपर्छ भन्ने प्रचण्डकै सुझावमा त्यो कार्यक्रम पार्टीको अर्को केन्द्रीय कार्यालय पेरिसडाँडामा नगरेर धुम्बाराहीमा गरिएको थियो ।

यस्ता दर्जनौँ प्रकरणले जिल्ला कमिटीले पूर्णता पाउँदा/नपाउँदै पूर्वएमाले र पूर्वमाओवादीको भावनात्मक सम्बन्धको डोरी फुस्किँदै गइरहेको देखाउँछ । ९ जेठमा विप्लव समूहका पोलिटब्युरो सदस्य तथा पूर्वराज्यमन्त्री पदम राई नेकपा प्रवेश गर्दैर् थिए । धुम्बाराहीमै भएको ऊक्त कार्यत्रममा राईलाई स्वागत गर्नेको हूलमा पूर्वमाओवादीको संख्या उल्लेख्य थियो भने पूर्वएमालेको संख्या झिनो ।

यस्तै अर्को दृश्य देखियो, १४ जेठमा । पूर्वमाओवादी पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’ को नाममा स्थापित ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ नेकपाका केन्द्रीय सदस्य सूर्य थापालाई दिइएको थियो, जहाँ पूर्वएमाले निकट प्रेस चौतारीका २० प्रतिशत सदस्य पनि उपस्थित थिएनन् ।

दुई खेमाबीचको मनमुटाव कुन हदसम्म छ भन्ने ख्याल गर्न एक पटक प्रदेश ५ तिर लागौँ । प्रदेश ५ का अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले १ असारमा प्रदेशको बजेट सार्वजनिक गरे । त्यो बजेटमा ‘जनयुद्ध’ लाई प्राथमिकता नदिइएको भन्दै पूर्वमाओवादीले सामाजिक सन्जाल रंगाए । यसरी असन्तुष्टि जनाउनेमा नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मादेखि अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङ, अर्का नेता दीपेश पुनलगायतको पंक्ति थियो ।

रीतबहादुरका कान्छा भाइसमेत रहेका प्रदेश ३ का सांसद विशाल खड्काका शब्दमा पूर्वमाओवादीभन्दा पनि खासगरी पूर्वएमालेका बहुसंख्यक नेताहरूको प्रस्तुति/अन्तर्वार्ता हेर्दा पार्टी एकतै भएको छैन भन्नेजस्तो बुझिन्छ । यसले पनि भावनात्मक एकतामा कहीँ न कहीँ समस्या परेको छ ।

“जनयुद्धमा शहिद भएका, बेपत्ता पारिएका, यातना पाएका परिवारले त्यो आन्दोलनमा बगेको रगत, मर्म, पीडालाई बिर्सन सक्दैनन्,” खड्काको कथन छ, “तर नेकपा भइसक्दासमेत एक थरी साथीहरू जनयुद्ध भन्ने शब्द उच्चारण नै गर्न चाहँदैनन् । पूर्वमाओवादीको इतिहास गौरवपूर्ण हो भन्न अप्ठेरो मानिरहेका छन् ।”

पूर्वएमालेका केही नेताहरूले जबज (जनताको बहुदलीय जनवाद) बाहेकका शब्द उच्चारण नै गर्न नचाहेको खड्काको बुझाइ छ । यही बुझाइले पार्टीभित्र दरार उत्पन्न गर्दै छ । “दुई पार्टीबीचको त कुरै छाडौँ, एउटै पूर्वपार्टीभित्र समेत भावनात्मक एकता छैन,” करिब ८ वर्ष जेल बसेका खड्का थप्छन्, “दुइटै पार्टीभित्र दुइटा वर्ग छ । पार्टी मिल्नेबित्तिकै ती वर्गको मेल सम्भव छैन ।”

नेकपाकै अर्का केन्द्रीय सदस्य सूर्य थापाको ठम्याइचाहिँ अलग छ । थापाका अनुसार पिछडिएका जाति, क्षेत्र, महिलामा जागृति ल्याउन, शान्तिपूर्ण जनक्रान्तिमा सहभागी हुन, राजतन्त्र फाल्न जनयुद्धको योगदानलाई स्वीकारेरै पार्टी एकता भएको हो । तर जनयुद्धका नकारात्मक विकारको स्तुतिगान गाउन एकता भएको होइन ।

“माओवादीका धेरैजसो नेताले जनयुद्धका नकारात्मक प्रभावको समेत स्तुति गाइदिनू भन्छन्,” थापा सुनाउँछन्, “पूर्वएमाले र पूर्वमाओवादीबीच भावनात्मक असंगति यही छ ।”

पीडा आ–आफ्नै

‘जनयुद्ध’ का कारण सन्तान, आफन्त गुमाएका, पारिवारिक विखण्डन भएको पूर्वएमाले पंक्ति ठूलो छ । यसको एक उदाहरण सूर्य थापा नै हुन् । उनका जेठा दाजुलाई माओवादीले हत्या गरेका थिए । यसर्थ व्यक्तिगत पीडाका कारण पनि पूर्ववत् यी दुई पार्टीबीच भावनात्मक एकता कसिलो हुन नसकेको देखिन्छ ।

नेकपाका शीर्ष नेताद्वय ओली र प्रचण्डले एकअर्कालाई गरिरहेको व्यवहारले पनि दुई खेमाका नेताहरूलाई टाढा पुर्‍याइरहेको छ । जस्तो, पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, सञ्चार र गुठी विधेयक तथा लोकसेवा प्रकरणलाई मात्र हेर्ने हो भने प्रचण्डले सरकारलाई सहयोग गर्नुको साटो अप्ठेरोमा पार्ने काम गरेको ओली निकटस्थको बुझाइ छ ।

यी सबै घटनामा प्रचण्ड विपरीत कित्तामा उभिएका छन् । जानकारका अनुसार ओलीसित सल्लाह नगरी प्रचण्ड मन्त्रीहरू फेरबदल हुँदैछन् भन्दै कम्तीमा दर्जन पटकभन्दा बढी बोलेकाले सरकारलाई अस्थिर बनाउने प्रयास गरेको भनेर ओलीले चित्त दुखाएका छन् ।

सञ्चार र गुठी विधेयकमा प्रचण्डले प्रस्टै सडकको स्वरलाई साथ दिएका छन् । प्रचण्ड लोकसेवा आयोगको विज्ञापन पनि खारेज हुनुपर्छ भनिरहेका छन् । सरकारलाई संकट परेका बेलामा सार्वजनिक रूपमा रक्षा गर्नुको साटो विपक्षीलाई नै मलजल पुग्ने गरी प्रचण्ड बोलेको भन्दै ओलीले आफ्नो ‘किचन’ मा रिस पोखिरहेका छन् ।

यति मात्र होइन, वैवाहिक जीवनको ५० औँ वर्षगाँठका अवसरमा प्रचण्डले साढे ८ सय पाहुनालाई प्रतिप्लेट ३ हजार २ सय रुपैयाँका दरले सोल्टी होटलबाट खाना लगेर विवादास्पद व्यापारीका घरमा पार्टी दिएकामा पनि ओली उनीसँग सन्तुष्ट छैनन् ।

को–पाइलटमै टक्कर

प्रचण्ड पनि ओलीसँग कम रुष्ट छैनन् । खासगरी सरकार सञ्चालनदेखि अन्य सानातिना कुरामा समेत आफूलाई मतलव नदिएको, सल्लाह, सुझाव ग्रहण नगरेको उनको दुःखेसो छ । प्रचण्ड योभन्दा पनि ओलीले पूर्वसहमतिबमोजिम सत्ता हस्तान्तरण गर्नबाट पछि हट्ने हुन् कि भन्नेमा सशंकित छन् ।

पार्टी एकताको घोषणायता औपचारिक रूपमा केन्द्रीय कमिटी बैठक एक पटक पनि बसेको छैन । तल्ला कमिटी गठन भर्खरै भए पनि ठूल्ठूला भएकाले बैठक बस्ने स्थान छैन । कमिटी ठूला भएकैले कदाचित बैठक बसिहाले एजेन्डा/विषयमा छिर्दैन । निश्चित नेताहरूको मिलेमतो र लेनदेनमै बैठक समाप्त हुन्छ ।

“विचार, योगदानका आधारमा छरितो कमिटी बनाएको भए बैठकमा धेरै थरी स्वार्थ घुस्न पाउने थिएन । त्यसले विगतदेखिको तुषलाई राजनीतिक रूपमा निरुपण गरेर भावनात्मक एकता जागृत गराउने योजना अघि सार्ने थियो,” नेकपाका अर्का एक केन्द्रीय सदस्य भन्छन्, “धेरै मानिस म पार्टीको मान्छे हुँ भनेर कोट, टाई लगाएर हिँडेका छन् । तर उनीहरू नै जिम्मेवारीविहीन छन् ।”

नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालका भनाइमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले समय–समयमा बैठक राखिदिएको भए पार्टी ‘फङ्सन’ मा जान्थ्यो । आचारसंहिता बन्थ्यो । नेताहरूका आनीबानी, संगठन आदिका असन्तुष्टि बैठकभित्रै उठ्थे । त्यहीबाट समाधान खोजिन्थ्यो । भुसाल भन्छन्, “समय–समयमा बैठक राखेर एउटै स्पिरिट कायम गर्न नसक्दा सबै नेता/कार्यकर्ताले हामी सबैसामु चुनौती पनि समान छन्, उपलब्धि पनि समान छन् भनेर महसुस गर्न पाएका छैनन् । त्यसैले भावनात्मक एकता हुन नसकेको हो ।” 

प्रकाशित: असार ९, २०७६