[मौसम] मनसुनले डोर्‍याएको कृषि

- यम बम

यस वर्ष नेपाली आकाशमा औसतभन्दा १० दिन ढिला गरेर मनसुन प्रवेश गर्‍यो, ५ असारमा । बाफ बोकेको जलवाष्पयुक्त हावा ताप्लेजुङ बिन्दुबाट प्रवेश गरेकामा मुलुकभर विस्तार झएर सक्रिय हुन बढीमा १० दिन लाग्नेछ । र, सक्रियता बढेसँगै मुलुकभर भारी वर्षा गराउनेछ ।

नेपाली आकाशमा औसतमा जुन १० अर्थात् जेठ अन्तिम साता मनसुन भित्रिनुपर्ने हो । तर वर्षायामका १ सय ५ दिन कायम रहनुपर्ने यो प्रणाली पछिल्ला वर्षमा ढिलो गरी प्रवेश गरेको छ । र, बढीमा २३ दिन ढिलै टुंगिन्छ । ०७५ मा भने मनसुन १० वर्षयता नै पहिलो पटक औसतभन्दा २ दिन अघि २५ जेठ (८ जुन) मा भित्रिएको थियो ।

कृषि उत्पादनको वृद्धि दर र आर्थिक वृद्धि दरको आकलनमा मनसुनको आगमन एवं प्रभावको महत्त्वपूर्ण भूमिका रहन्छ । असार–साउनमा वर्षा कम भए धान, मकैलगायत बाली उत्पादन प्रभावित हुन्छ भने वर्षा अनुकूल रहे उत्पादन पनि बढ्छ । ०७५ मा मनसुनी वर्षा अनुकूल हुँदा धान उत्पादन ८.८९ प्रतिशत बढेर ५६ लाख १० हजार मेट्रिक टन पुग्यो । सोही वर्ष मकै उत्पादन ३.५ प्रतिशत वृद्धि भयो । ०७४ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टनमा खुम्चिएको थियो ।

केन्द्रीय तथ्यांक विभागले १३ वैशाखमा सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार धानसहितका कृषि उत्पादन सप्रिँदा आर्थिक वृद्धि दरलाई सघाउ पुर्‍यायो, चालू आर्थिक वर्ष ०७५/०७६ मा प्रक्षेपित आर्थिक वृद्धिदर ६.८१ प्रतिशत कायम हुने देखिएको छ । धान, गहुँ, मकैलगायतका कृषिबालीको उत्पादन बढ्दा कृषि क्षेत्रको आर्थिक वृद्धि दर २.७२ प्रतिशतबाट बढेर ५.०३ प्रतिशतमा कायम छ । यद्यपि समग्र यो समूहको योगदान भने केही खुम्चिएर २६.५ प्रतिशत रह्यो ।

मनसुन अवधिभर औसतमा ०७४ र ०७५ मा क्रमशः ९२ प्रतिशत (१ हजार ३ सय ९१ मिलिमिटर) र ९४ प्रतिशत (१ हजार ४ सय १०.८ मिलिमिटर) वर्षा भएको देखिन्छ । मनसुन समयावधिको ४ महिनामा कुल वार्षिक वर्षाको ८०.५ प्रतिशतसम्म पानी पर्छ ।

तथ्यांकमा खासै अन्तर नदेखिए पनि ०७५ मा समयमै सुरु भएको मनसुन अन्त्यसम्म सक्रिय बन्यो, अनावृष्टि, अतिवृष्टि खासै भोग्नुपरेन । तर ०७४ मा औसतभन्दा २ दिन ढिलो मनसुन भित्रिए पनि सुरुआतीमा निस्क्रिय रह्यो भने साउन अन्तिम साता (१०–१५ अगस्त) मा तराईमा ठूलो बाढीले जनधनको क्षति गर्‍यो, धानबाली नष्ट पार्‍यो ।

बर्खे झरीले कृषिसँग सीधा सम्बन्ध राख्छ । किसानका लागि वर्षाको पानी मूल्यवान हुन्छ किनकि कृषिका लागि कम्तीमा ६५ प्रतिशत पानी वर्षाबाट प्राप्त हुन्छ । ०७५/०७६ को आर्थिक सर्वेक्षणअनुसार कुल कृषियोग्य २६ लाख ४१ हजार हेक्टर जमिनमध्ये ८० प्रतिशतमा धान खेती हुन्छ, जबकि १४ लाख ७५ हजार हेक्टरमा मात्र सिँचाइ उपलब्ध छ । आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘स्रोतमा पानीको उपलब्धताको कमी, जल स्थानान्तरण तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा ढिलाइले सिञ्चित क्षेत्रफलको ३३ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ हुन्छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी भन्छन्, “बर्खाको सुरुआतीमा खडेरी र धान पाक्ने समयमा डुबान भयो भने उत्पादन घट्ने गरेको देखिन्छ ।” त्यसबाहेक रासायनिक मल अभाव, रोगव्याधिले पनि उत्पादनमा प्रत्यक्ष असर गर्छ ।

हालको स्थितिमा मनसुनी प्रभावको कमीबाट बच्न बहुआयामिक रणनीति बनाउन आवश्यक छ, जसबाट सुक्खा सामना गर्न र जलवायु अनुकूलन बालीको खोज गर्न सकियोस् । मन्त्रालयका प्रवक्ता सुवेदी खडेरी र डुबानबाट जोगिएर फल्ने धानबाली सिफारिस भए पनि पर्याप्त हुन नसकेको स्वीकार्छन् । त्यसमा पनि अर्को समस्या छ, एउटै ऋतुमा सुरुआतीमा खडेरी र पछि डुबानमा पर्दा धान उत्पादन घट्न जान्छ ।

विशेषतः तराईमा असार महिना धान रोपाइँका लागि उत्तम हुन्छ । कृषिविज्ञका भनाइमा ३ साताको बीउ रोप्दा उत्पादन बढ्छ । सोही कारण पनि १५ असारलाई धान दिवसको रूपमा मनाइन्छ । तर पछिल्ला वर्ष अपवादबाहेक धान दिवस खडेरीमै मनाउनुपर्ने बाध्यता छ । त्यसको सीधा प्रभाव ढिलो गरी मनसुन भिक्रिनु र ढिलो नै निस्त्रिय बन्नु हो ।

जेठ अन्तिम साता छाउनुपर्ने मनसुन ढिलो गरी भित्रिन्छ नै, असोज पहिलो साता (२३ सेप्टेम्बर) सम्म निष्क्रिय भइसक्नुपर्नेमा त्यसको २ सातापछिसम्म रहने गरेको छ । ०७५ मा पनि अक्टोबर ५ (१९ असोज) सम्म मनसुन कायमै रह्यो भने ०७४ मा त ३० असोज (१६ अक्टुबर) सम्म । “यसले गर्दा चाहिने समयमा पानी नपर्ने, खडेरी हुने र धान काट्ने बेला पानी पर्ने देखिएको छ,” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “मनसुनले किन ट्रेन्ड परिवर्तन गरिरहेको छ, यो खोजको विषय बनेको छ ।”

विभागको सन् १९७१ देखि २०१४ सम्मको तथ्यांक केलाउँदा नेपालमा वार्षिक –१.३३३ मिलिमिटरका दरले कम वर्षा भइरहेकामा मनसुनमा मात्र –०.०८१ मिलिमिटरका दरले घटिरहेको छ । तापक्रम वृद्धि दर भने वार्षिक न्यूनतम ०.००२ डिग्री सेल्सियस र अधिकतम ०.०५६ डिग्री सेल्सियस छ ।

पछिल्ला वर्षमा बर्खायाममा समेत झरी पर्ने क्रम घट्दै गएको छ । बरु केही घन्टा ठूलो पानी पर्ने र कैयौँ दिनसम्म खडेरी पर्ने गरेको छ । जस्तो, २७ असार ०७५ राती र दोस्रो दिन बिहान गरी १० घन्टे अवधिमा भक्तपुर क्षेत्रमा १ सय २९.६ मिलिमिटर वर्षा भयो । ०७४ मा पनि साउन अन्तिम साता अगस्त १२ र १३ मा २४ घन्टे अवधिमा हेटौँडा क्षेत्रमा ५ सय ३ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

त्यति मात्र होइन, मनसुनका सुरुआती २ महिनामा कम पानी पर्ने र त्यसपछि बढी पर्ने गरेको छ । ०७४ जुन–जुलाईमा क्रमशः २ सय ४.६ मिलिमिटर र ४ सय ६४.५ मिलिमिटर वर्षा भएकामा अगस्तमा ५ सय १३.२ र सेप्टेम्बरमा २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको थियो । ०७५ मा भने तुलनात्मक रूपमा राम्रो वर्षा भएको देखिन्छ । त्यो वर्ष जुन–जुलाईमा क्रमशः २ सय ३५.५ मिलिमिटर र ४ सय ७१.४ मिलिमिटर वर्षा भएकामा अगस्तमा ४ सय ६६.३ मिलिमिटर वर्षा मापन भएको छ ।


मनसुन कति कमजोर

१४ औँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को ५–१० वैशाखमा काठमाडौँमा भएको भेलाले यस वर्ष नेपालको प्रदेश १, २, ३ र ५ को केही पश्चिमी भू–भागमा औसतभन्दा कम वर्षा हुने आकलन गरेको थियो । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ ।

अस्ट्रेलियाली मौसम विज्ञान विभागले यस वर्ष दक्षिण एसियाली मुलुकमा ‘एलिनो’ को प्रभाव पर्ने आकलन गरेको थियो । ‘एलिनो’ ले भू–मध्य रेखास्थित प्रशान्त महासागरको पर्वूी क्षेत्रको पानी औसतभन्दा बढी तात्ने प्रक्रियालाई जनाउँछ, जुन गत डिसेम्बरमा देखिएको थियो । तर हाल ‘एलिनो’ बिलाइसकेकाले त्यसको प्रभाव नपर्ने बताउँछिन्, मौसमविद् मानन्धर । भारतीय मौसम विज्ञान विभागले पनि ‘एलिनो’ को प्रभाव नपर्ने आकलन गरिसकेको छ । प्रशान्त महासागरमा तातो हावा र पानीले मनसुन प्रक्रियामा पार्ने प्रभाव नै ‘एलिनो’ हो । एलिनो तटस्थ हुँदाका बखत मनसुनमा औसत वर्षा हुन्छ ।

सामान्यतः सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९ सय ५ देखि १ हजार १ सय ५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने त्यसभन्दा कम र बढी वर्षा भए क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

प्रकाशित: असार ८, २०७६

ट्याग: मनसुन