बंगलादेशी गोर्खा

- नेपाल संवाददाता

पृथ्वीनारायण शाहले विसं १८०१ बाट गोर्खाबाट थालेको नेपाल विस्तार अभियान अफगानिस्तानसम्म पुगेको थियो । गोर्खाली बहादुरीका किस्साहरु अझै भेटघाटमा चर्चाको विषय बन्छन् । तिनै गोर्खाली दक्षिण एसियाली मुलुक बंगलादेशमा समेत छन् ।

१ सय ५० वर्ष पुरानो इतिहास रहेको बंगलादेशी गोर्खा बंगलादेशमा ममनसिङ, भोला, रंगमाटीलगायत स्थानमा बस्छन् । ढाकाबाट ३ सय ४ किमि टाढा चटगाउँ हिल ट्रेक्समा पर्ने रंगमाटीमा करिब ५ सयको संख्यामा गोर्खालीहरु बस्छन् ।सन् १८७१ मा इस्ट इन्डिया कम्पनीको एउटा बटालियन कुकी विद्रोह दबाउन जाँदा गोर्खाली त्यहीँ बसेको मानिन्छ ।

नेपाली भाषा थोरै बोल्ने मनोजबहादुर गोर्खा रंगमाटी क्षेत्रका संगीत प्रशिक्षक तथा स्थापित कलाकारहुन् । मनोजकै नेतृत्वमा सक्रिय ‘सुर निकेतन’ बाट बंगलादेशी गोर्खाली कलाकार काठमाडौँ आउँदैछन् । सो संस्थाले नेपाली, बंगाली र अन्य स्थानीय भाषामा गीत–संगीत प्रस्तुत गर्नेछ ।

मनोजबहादुर गोर्खागोर्खाली पुर्खाका छैटौँ पुस्ता हुन् । स्थानीय रहनसहन र वातावरणमा घुलमिल भइसकेका बंगलादेशी गोर्खाहरु आफ्नो पुर्खाको संस्कृतिलाई जेनतेन बचाइरहेका छन् ।

२५ असारमा राष्ट्रिय नाचघरमा आयोजना हुने कार्यक्रम सांस्कृतिक संस्थान र सिस्नुपानी नेपालले संयुक्त रुपमा गर्दैछन् । कार्यक्रममा बंगालादेशी गोर्खालीहरुले गीत–संगीत प्रस्तुत गर्दैछन् । मनोजबहादुर भन्छन्, “जे खाने थाकी, जे भावे थाकी, मोन आमार गोर्खाली ।”(जहाँ भएपनि, जहाँ रहेपनि यो मन त हाम्रो गोर्खाली हो ।)

सिस्नुपानी नेपालका उपाध्यक्ष तथा हास्यव्यंग्यकार मनोज गजुरेल भन्छन्, “परिस्थितिले टाढा हुन पुगेका हाम्रा दाजुभाइलाई संस्कृतिले पुनः नजिक बनाउने प्रयास हो । सयौँवर्षअघि मूलभूमि नेपालबाट छुटेर विभिन्न देशका नागरिक हुन पुगेका आफन्तलाई  पितृभूमिसँग जोडिराख्ने कार्यक्रममा सबैलाई सहकार्यका लागि अनुरोध छ ।”

प्रकाशित: असार ६, २०७६

ट्याग: सहरमा