सन्काहा सर्जनको प्रेम (फिल्म समीक्षा  : कबिर सिंह)

फिल्म : कबिर सिंह | रेटिङ : २.५/५ |

- गोकर्ण गौतम

बलिउडलाई कथाको अभाव छ । ठूलै ब्यानर र स्टार पनि ‘रिमेक’ फिल्मतिर लहसिएका छन् । खासगरी हिट भइसकेका दक्षिण भारतीय फिल्मको दबदबा छ, बलिउडको मूलधारमा । कबिर सिंह  यही शृंखलाको नयाँ उदाहरण हो । दुई वर्षअगाडि प्रदर्शित तेल्गु फिल्म अर्जुर रेड्डीको हिन्दी ‘रिमेक’ हो यो । दुवै फिल्मका लेखक/ निर्देशकचाहिँसन्दीप भांगा । तेल्गु फिल्मको शीर्ष भूमिकामा विजय देवरकोन्डा देखिएका थिए, कबिर सिंहमा शाहिद कपुर । एकदमै सन्काहा सर्जनको प्रेमकथा हो यो, जहाँ मायासँगै रक्सी, चुरोट, ड्रग्स र झैँझगडा छ । सँगै, ‘हिरोले जे गरे पनि हिरै हुन्छ’ भन्ने मानसिकतबाट ग्रसित पनि । यद्यपि, आजको युवा पुस्ताको सोच र व्यवहारलाई धेरै कोणबाट पहिल्याउन सफल छन् निर्देशक । शाहिदको विपरीतमा छिन्, कायरा आडवानी ।

झगडालु भएपनि चिकित्साशास्त्रको पढाइमा अब्बल छन्, कबिर सिंह (शाहिद) । एउटै कलेजमा पढ्ने कनिष्ठ छात्रा प्रीति (कायरा) सँग माया बस्छ । आनीबानी बिल्कुल भिन्न भएपनि प्रीति बिस्तारै कबिरलाई मन पराउँछिन् । उनीहरुको सम्बन्धमा आइपुग्छ, प्रीतिको परिवार । अनेक प्रयास गर्दा पनि परिवारलाई मनाउन सक्दैनन् । प्रीतिको अर्कैसँग विवाह हुन्छ । उसै त सन्काहा, त्यसमाथि प्रेमवियोग । अब कबिरको हालत के होला ? प्रीतिलाई फेरि आफ्नो बनाउन सक्छन् ? क्लाइमेक्स आमहिन्दी फिल्मभन्दा अलग छैन ।

एउटा चर्चित भनाइ छ, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ ।’ यसलाई शिरोधार्य गर्ने हो भने फिल्ममा कबिरले जे–जे गरे, सबै स्वीकार्य छन् । आखिर उनले प्रेमकै लागि गरेका हुन् । तर ‘हिरो’सँग यस्ता गुण पनि हुन्छन्/हुनुपर्छ, जुन अनुसरणयोग्य हुन् । यसहिसाबमाचाहिँ कबिर प्रिय लाग्दैनन् । झगडा मात्र गर्छन्, रक्सीमै डुब्छन्, प्रेम पनि जबर्जस्ती गर्छन्, परिवारको मतलबै छैन । मातेर बिरामीको सर्जरी गर्छन् । चक्कु देखाएर बलात्कारको प्रयास गर्छन् । र, यी हर्कतलाई लेखक/निर्देशक सन्दीपले सही र सार्थक रुपमा देखाउने प्रयास गरेका छन् । फिल्ममा सबैभन्दा खट्कँदो पक्ष यही हो । मुख्य पात्रले महिलालाई हेर्ने दृष्टिकोण पनि पाच्य छैन । हिरोइन जीया शर्मा (निकित दत्ता) को चरित्र फाल्तु लाग्छ ।

तर फेरि पनि एकोहोरो प्रेम देखाउने मामलामा निर्देशक सफल छन् । शाहिदको चरित्र स्थापित गर्न फुटबलको दृश्य नै पर्याप्त छ । कलेजबाट निस्काशन हुँदा पनि डीनसँग डराउँदैनन् । शिर ठाडो बनाएरै कुरा गर्छन् तर उनको जिन्दगीमा बदलाव आउँछ, प्रीतिको प्रवेशसँग । यो जोडीको रोमान्सलाई बडो मनछुने ढंगले देखाइन्छ । हरेक दर्शकले कबिर र प्रीतिमा कहीँ न कहीँ आफूलाई पाउँछन् । अन्यथा, उनीहरुको विछोडमा दर्शकको मन किन पोल्थ्यो र ?चुम्बनका दृश्यको गन्ती नै छैन ।

कबिरलाई अतिरञ्जित गरिएकै छ । हिंस्रक लाग्छ तर सत्य के पनि हो भने कबिरको आधारभूत चरित्र अहिलेको युवा पुस्ताकै नियति हो । धैर्य नहुने, रिसाउने, आफूलाई केन्द्रमा राख्ने, जे चाह्यो, त्यही पाउनैपर्ने, अन्यथा कुलतमा फसिहाल्ने, व्यावहारिक हुन नखोज्ने आदि–आदि । त्यसो त, प्रीतिजस्ता साहसिक प्रेमीका पनि नभएका होइनन्, जो अर्कै केटासँग बिहे भइसक्दासमेत प्रेमको अन्त्य स्वीकार्दैनन् । पहिलो नजरमै प्रेम हुने, साथीहरु सधैँ हिरोको पक्षमा हुने, क्लाइमेक्सतिर हिरोइनको परिवार एकाएक परिवर्तन हुनेजस्ता ‘क्लिसे’ दृश्यबाट फिल्म मुक्त छैन । तर अवगुणलाई ढाकछोप गरिदिन्छ, शाहिदको शानदार प्रस्तुतिले । अस्थिर र आक्रामक भूमिकामा उनी जीवन्त लाग्छन् । उनको अभिनय हैदर र उड्ता पञ्जावभन्दा निखारिएको छ । उनको ओरालो लागिरहेको करिअरमा यस फिल्म संकटमोचक हुनेमा सन्देह छैन । कबिर सिंह चरित्रचाहिँ आफैँमा देवदासको आधुनिक र अतिरञ्जित संस्करण लाग्छ ।

कायरा आडवानीका लागि पनि यो फिल्म सम्झनालायक छ । उनको चरित्रको ग्राफ कबिरभन्दा विश्वसनीय छ, जसलाई उनले सशक्त ढंगले निर्वाह गरेकी छन् । कबिरको हजुरआमा बनेकी कामिनी कौशल फिल्मकी आदर्श पात्र हुन् । उनका हरेक संवादले मन छुन्छ । दृश्यभाव अनुकूलको पार्श्व संगीत प्रशंसनीय पक्ष छ । मध्यान्तरपछिका केही दृश्यमा कैची चलाएको भए फिल्म अझ चुस्त हुन्थ्यो । आधा दर्जनभन्दा ज्यादा गीतलाई कथावाचनमै प्रयोग गरिएको छैन । ‘रिमेक’ मात्र भएकाले सन्दीपलाई दिल खोलेर ‘स्यावास’ भन्न सकिन्न ।

शाहिद कपुरका फ्यान र ‘लाउड लभस्टोरी’का पारखीले कबिर सिंह नछुटाउँदा हुन्छ । अर्जुर रेड्डी हेरेकाले त उस्तै कथाका लागि किन तीन घन्टा खर्चनु र !

प्रकाशित: असार ६, २०७६