प्रधानमन्त्रीको सञ्चार माध्यम

- सुरेश किरण

सरकारले गुठी विधेयक फिर्ता लियो । तर प्रधानमन्त्री केपी ओलीले भने कि विधेयक फिर्ता लिएको सञ्चार माध्यमबाट मात्र थाहा पाएँ । विधेयक फिर्ताको कुरा उनले सञ्चार माध्यमबाट थाहा पाएँ भन्नुभन्दा पनि सञ्चारमन्त्रीबाट थाहा पाएँ भनेको भए अझ सुहाउने थियो । किनभने दुनियाँमा जेसुकै घटना घटे पनि प्रधानमन्त्रीलाई त्यही मात्र घटना सत्यजस्तो लाग्छ, जो सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भनेका हुन्छन् । गोकुलले नभनेको कुरा उनलाई साँचोजस्तो लाग्दैन । धन्य, गुठी विधेयक फिर्ता भएको सञ्चार माध्यमले भन्दा पनि उनले साँचो नै रहेछ भनी स्वीकारे ।

गुठी विधेयक फिर्ता लिएको त सरकारले हो । तर सरकार प्रमुख स्वयंले भने यसको जानकारी सञ्चार माध्यमबाट थाहा पाएँ भनेको सुन्दा अर्को आश्चर्य लागेको छ । काम सरकारले गर्छ, निर्णय सरकारले गर्छ । तर सरकार प्रमुखले चाहिँ त्यसको जानकारी रेडियो सुनेर प्राप्त गर्छन् । भनेपछि यो कस्तो सरकार चलिरहेको छ

देशमा ? के सरकारले गर्ने हरेक कामको जानकारी प्रधानमन्त्रीले रेडियो सुनेर नै प्राप्त गर्ने हो ?

विचार गर्नुस् न, जुन देशको प्रधानमन्त्री आफ्नै सरकारले गरेको कामबारे समेत रेडियो सुनेपछि मात्रै थाहा पाउने गर्छन् भने त्यो देशको सरकार कसरी चलिरहेको होला ? वास्तवमा देश त्यसै भाँडभैलोमा गएको त होइन रहेछ । कमरेड बाँस्कोटाज्यू, सरकारले कुनै काम गर्दा कम से कम प्रधानमन्त्रीलाई त अग्रिम जानकारी दिने गरौँ । प्रधानमन्त्रीलाई आफ्नो सरकारले आज के–के काम गर्‍यो भनेर थाहा पाउन दिनभरि रेडियो सुन्न किन बाध्य पार्ने ? 

प्रकाशित: असार ५, २०७६

ट्याग: परिहास