नागरिकलाई नसुन्दा...

- शब्द/तस्बिर : सरोज बैजु

डेढ वर्षअघि तीनै तहका चुनावमा वामपन्थी गठबन्धनलाई भारी मत हालेर जिताएका काठमाडौँका रैथानेलाई के थाहा, तिनैका क्रियाकलापविरुद्ध यति छिट्टै सडकमै उत्रनुपर्ला भनेर ! केही समययताको शासकीय कमजोरी छताछुल्ल गर्ने एउटा घुम्ती बन्न पुग्यो, संघीय संसद्‌मा दर्ता गुठी विधेयक ।

स्थानीयको चर्को विरोधपछि सरकारले ३ असारमा विधेयक फिर्ता लिने घोषणा त गर्‍यो, तर काठमाडौँबासी त्यतिले सन्तुष्ट भएनन् । विधेयकलाई सधैँका लागि खारेज नै गर्नुपर्ने मागसहित राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भयो, भोलिपल्ट । यी तस्बिर त्यसैका झलक हुन् ।

प्रदर्शनमा गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् का साथमा हजारौँ सर्वसाधारणको उपस्थितिका कारण माइतीघर वरपरका सडक ४ घन्टा ठप्प हुन पुगेका थिए भने पूरै राजधानीको यातायात अस्तव्यस्त बन्न पुग्यो ।

दुई तिहाइको सरकार बनाउन मत दिएका हातहरू नै सरकारविरोधी प्लेकार्ड बोकेर नारा लगाउँदै विशाल र्‍यालीमा सहभागी भएका थिए । विभिन्न नारा लगाउँदै राजधानी प्रवेश गरेका उनीहरूले कुनै पार्टीको झन्डा बोकेका थिएनन् । राष्ट्रिय झन्डामुनि स्वतःस्फूर्त नारा लगाउँदै हिँडेका नागरिक देखेर बटुवा भन्दै थिए– दुई तिहाइको दम्भ बोकेको सरकारले यो देखेर पनि नदेख्यै गरे राम राम मात्र भन्न सकिन्छ । 

ललितपुर, भक्तपुरलगायत विभिन्न क्षेत्रबाट मौलिक पहिचानको बाजागाजासहित टाढाटाढाको नेवार बस्तीबाट सर्वसाधारण सभामा सहभागी हुन आएका थिए । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई गायक योगेश्वर अमात्यले विभिन्न जात र रंगका फूल दिएका थिए । बन्दुक र लठ्ठी बोकेका प्रहरीले आफूले लगाएको सुरक्षा पोसाकमा कार्यक्रम अवधिभर फूल सिउरिएको दृश्य आफैँमा रोचक थियो । विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने खबरदारी प्रदर्शनकारीले गरे । कार्यक्रम सकिएपछि स्वयंसेवकले सडकमा मिल्काइएका प्लेकार्ड, पानीका बोतललगायत फोहोर संकलन पनि गरेका थिए । 

तस्बिरहरु हेर्नुहोस् : 

 

प्रकाशित: असार ५, २०७६