गिद्धको बासस्थान

- सुरेश किरण

हालै मात्र हो, एउटा रिपोर्ट सार्वजनिक भएको छ । देशमा गिद्धको संख्या घटिरहेको छ । अर्थात् गिद्ध लोप हुँदै छ । गिद्ध लोप भएकामा संरक्षणवादी चिन्तित छन् । अध्ययनले देखाएको छ, देशको जुन–जुन ठाउँमा पहिले गिद्ध देखापर्ने गरेका छन्, अहिले त्यहाँ गिद्धको संख्या कम हुँदै गएको छ । गिद्धको संख्या कम भए त्यसको असर पर्यावरणमा पनि पर्न सक्छ ।

तर मलाई लागिरहेको छ, देशबाट गिद्ध यस्तो विधि हराएकै चाहिँ पक्कै होइन । सायद गिद्धहरुले आफ्नो बासस्थान सारेको हुनुपर्छ । पहिले उनीहरु जुन–जुन ठाउँमा देखापर्थे, अहिले त्यहाँबाट बासस्थान सारेर अर्कोतिर बस्न गएको हुन सक्छ । अहिले गिद्ध बस्ने स्थान देशमा अचानकजसो बढेको पाइन्छ । यदि त्यतातिर गएर हेर्‍यो भने त्यहाँ गिद्ध बसिरहेका हुन सक्छन् ।

अतः संरक्षणवादीलाई अनुरोध गर्न चाहन्छु, गिद्ध हराए भनेर चिन्ता नगर्नुस् । तिनीहरु हराएका छैनन् । अझ मलाई त लाग्छ, अझ बढेको हुनुपर्छ । बरु उनीहरु बस्ने सही बासस्थान पत्ता लगाउनुस् । अझै धेरै ठाउँमा धेरै प्रकारका गिद्ध यथावत् रहेको पाउन सकिन्छ ।

प्रकाशित: असार ५, २०७६

ट्याग: परिहास