बाटो र नागरिक

- सुरेश किरण

सबैलाई थाहा भएकै कुरा हो, अहिले देशमा गुठी विधेयकविरुद्ध आन्दोलन चलिरहेको छ । यो त्यति चर्किने आन्दोलन पनि थिएन । माइतीघर मण्डलामा धर्ना बस्न आएका गुठीयारमाथि सरकारले पानी हानेपछि आन्दोलन चर्किन गएको हो । गुठीयारमाथि किन पानी हानेको भनेर कांग्रेस सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले भनेछन्, ‘सडक अवरुद्ध गरे । गाडी रोके । मान्छेलाई जान दिइएन । नागरिकको आवतजावत गर्ने अधिकार हनन गरे । त्यसैले पानी र लाठी हानेको ।’

अरुलाई कस्तो लाग्यो कुन्नि ! गृहमन्त्रीको जवाफ मलाई त राम्रो लाग्यो । तर्कपूर्ण पनि लाग्यो ।

त्यही दिन बेलुकी ललितपुर जावलाखेलमा रातो मछिन्द्रनाथको भोटो जात्रा रहेछ । म घर जाँदै थिएँ । थापाथलीमा बाटो बन्द थियो । न कसैलाई आउन दिइएको थियो, न त कसैलाई जान दिइएको थियो । यातायात ठप्पै । नागरिकको आवतजावत गर्ने अधिकारको पूर्ण हनन भएको थियो । कारण सोध्दा थाहा भयो, राष्ट्रपतिको सवारी हुनेवाला छ रे ।

मैले गृहमन्त्रीलाई सम्झेँ । नागरिकको सडकमा हिँड्ने अधिकारको त पूरै हनन भएको छ । सडक पूरा कब्जा गरिएको छ । सायद केही बेरमै यता पनि पानी हान्ने हो कि ? सडकमा हिँड्नु नागरिकको अधिकारै हो । जसले यो अधिकार हनन गर्छ, त्यसलाई पानी पनि हानिन्छ, लाठी पनि हानिन्छ ।

म गृहमन्त्रीको वाणीलाई सम्झँदै खुरुखुरु बाटो काट्न गएँ । सडकमा पुगेँ । “ओए, ओए ! को हो त्यो । समात् त्यल्लाई !” कोही प्रहरी कराएको सुनियो, तर प्रहरी कराउँदैमा म किन डराउने ? बाटोमा हिँड्नु मेरो मानव अधिकार हो । गृहमन्त्रीले नै भन्नुभएको । म गृहमन्त्रीको भाषण सम्झँदै थिएँ, ड्याम्म मेरो टाउकामा केही बज्रियो । लाठी रहेछ ।

“किन बाटोमा हिँडेको ? रोकिरा देखिनस् ?” लाठी हान्ने प्रहरीले

सोध्यो । मैले गृहमन्त्री सम्झेँ । जवाफ सम्झिन सकिनँ ।

प्रकाशित: असार ४, २०७६

ट्याग: परिहास