कम्युनिस्ट फैलाउने निरञ्जनगोविन्द

- हरिराम जोशी

विसं १९९७ को सहिद काण्डसँगै नेपालमा राणा शासनको अत्याचारले सीमा नाघ्यो । विसं २००० तिर गंगालाल श्रेष्ठ नेतृत्वको साम्यवादी संघ, लाल कम्युनिस्टजस्ता वाम क्रान्तिकारी पार्टी भूमिगत रुपमा स्थापित भए । ००४ तिरै केशरजंग रायमाझीले प्रगतिशील अध्ययनमण्डल स्थापना गरे ।

१६ वैशाख ००४ मा काठमाडौँ, पोखरा, विराटनगर, वीरगन्जलगायतका सहरमा क्रान्तिको बिगुल फुकियो । वीरगन्जमा निरञ्जनगोविन्द वैद्यको नेतृत्वमा इन्कलाबको नारा लाग्यो । इन्कलाब अभियानकै क्रममा निरञ्जनगोविन्दलगायत थुप्रै अगुवा समातिए । वीरगन्जका तत्कालीन बडाहाकिमले उनीहरुलाई जेल राख्नुको सट्टा कारबाहीस्वरुप वीरगन्ज रेल्वे प्लेटफर्ममा राखे । वैशाख/जेठको टन्टलापुर घामको रापमा उनीहरुले २१ दिनसम्म यस्तो यातना भोग्नुपर्‍यो ।

पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जनगोविन्द, नरबहादुर कर्माचार्यसमेतको सहभागितामा ७ वैशाख ००६ मा कोलकाताको श्यामबजार टोलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भयो । महासचिवको जिम्मेवारी पाए, पुष्पलालले ।

००८–०९ तिर म नेपाल कम्युनिस्ट पार्टीको ललितपुर जिल्ला कमिटी सदस्य छँदा पार्टी प्रतिबन्धित थियो । कम्युनिस्ट सिद्धान्त र पार्टीलाई अगाडि बढाउन म, सिद्धिलाल सिंह र डा ईश्वरलाल आचार्य चन्दा उठाउन जान्थ्यौँ । ५ देखि २०–२५ रुपैयाँसम्म स्वैच्छिक चन्दा उठाएर पार्टी चल्थ्यो ।

मेरा ५ मामामध्येका कान्छा निरञ्जनगोविन्द जीवनभर पार्टी संगठन विस्तारमा सक्रिय रहे । माइला मामाले बनाएका दिव्यामृत जडीबुटी बेच्न कैयौँ पटक मामा निरञ्जनसँग मच्छेगाउँ, फर्पिङ, दक्षिणकालीलगायत स्थानका मेलापर्वमा पुगेँ । जडीबुटी बिक्री र पार्टी प्रचारका लागि उनले धार्मिक मेलाको पनि उपयोग गर्थे ।

राजा महेन्द्रको ०१७ ‘कू’ पछि पार्टी निषेध राजनीतिमा पनि निरञ्जनले संगठन विस्तारलाई निरन्तरता दिए । त्यस काण्डमा थुप्रै कांग्रेस/कम्युनिस्ट नेताहरु पक्राउ परे । त्यसबाट बचेकाहरु कोही भारत निर्वासनमा गए, कोही नेपालमै भूमिगत भए । निरञ्जनगोविन्दले चाहिँ काठमाडौँ भोटाहिटीमा प्रगतिशील पुस्तक भण्डार खोलेर संगठन विस्तारलाई निरन्तरता दिइरहे ।

कम्युनिस्ट सिद्धान्त विदेशबाट प्रभावित हुँदा कम्युनिस्ट संघ–संगठनवालालाई अन्तर्राष्ट्रिय पार्टी भनिन्थ्यो । प्रतिबन्धित भएपछि पार्टी लाइनअनुसार संगठन विस्तार गर्न निरञ्जनले अभियानै चलाए । भियतनाम, चीन, सोभियत संघ (हाल रुस) लगायत मुलुकबाट ठेलीका ठेली अंग्रेजी र तिनीहरुका मुलुकका भाषामा प्रकाशित वामपन्थी विचारधाराका किताब नेपालमा निःशुल्क आउँथे ।

ती किताब केही अंग्रेजीमै र केही उल्था गरेर नेपाली भाषामा छापेर निरञ्जनले संगठन विस्तार र पार्टी समर्थकको संख्या बढाए । कम्युनिस्ट मुलुकबाट नेपाल ल्याइने पुस्तक चार–पाँच रुपैयाँमा पाइन्थ्यो भने भारत, युरोप, अमेरिकाजस्ता मुलुकबाट आएका किताब ४–५ सयमा ।

रंगीन कलेबरको पिपुल्स रिभ्यू म्यागजिन चीनबाट आउँथ्यो । निरञ्जनले आफ्नो पुस्तक पसलमा कापीकिताब किन्ने विद्यार्थीलाई गाता राख्न पिपुल्स रिभ्यूका पृष्ठ निःशुल्क बाँड्थे । यसको उद्देश्यचाहिँ संगठन विस्तारमा युवा पुस्तालाई आकर्षित गर्नु हुन्थ्यो ।

प्रतिबन्धित अवस्थामा पनि कम्युनिस्ट सिद्धान्तको विस्तार गर्न पार्टी निकटहरु शिक्षक भई सुगमदेखि दुर्गम गाउँसम्म पुगे । तिनीहरुले बालमस्तिष्कमा अरुले लेखेको पुस्तक पढाए । साथै कम्युनिस्ट सिद्धान्तलाई पनि फैलावट गरे । स्कुल/कलेजमा वामपन्थी विचारधारा भएकाहरु बढे ।

इसाईहरु भन्छन्, ‘पाँच वर्षमुनिका बालबच्चा हामीलाई जिम्मा दिनूस् ।’ यसको अर्थ कलिला बच्चालाई जे शिक्षा दिइयो, त्यो जीवनभर स्मरणमा रहन्छ । यसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट सिद्धान्तलाई नेपालभर फैलाउन भूमिका खेल्नेमध्येमा निरञ्जन पनि एक हुन् । विद्यालय उमेरमै कम्युनिस्ट सिद्धान्त घोकेर राजनीतिमा लागेको पुस्ता नै अहिले नेपालमा सरकार र पार्टी चलाउन समर्थ बन्न सकेको हो । बारा–पर्सा र रौतहट कार्यक्षेत्र भए पनि निरञ्जनले मकवानपुरगढीका गाउँगाउँ पुगेर प्रचार गरे ।

कम्युनिस्ट सिद्धान्त फैलाउन पञ्चायतकाल उपयुक्त समय बनिदियो । भूमिगत कार्यकर्ताहरु गाउँ/सहरमा राती रुप/भेष बदलेर संगठन विस्तारमा सक्रिय रहे । कुनै बेला म आफैँ दाजुसँग राती पाटनबाट हिँडेरै कुरियागाउँ (अहिलेको अनामनगर) पुगेको थिएँ, संगठन विस्तारका लागि ।

९० वर्षको उमेरमा पार्टी स्थापनास्थल हेर्ने अन्तिम इच्छास्वरुप निरञ्जन कोलकाता गए । त्यहाँ पुगेपछि क्यान्सर लागेको पत्ता लाग्यो । त्यहाँको औषधोपचारले निको नभएपछि भक्तपुर क्यान्सर अस्पताल र बीएन्ड बी अस्पतालमा उपचारार्थ रहेकै समय ०७० मा उनको निधन भयो । जीवनभर सफेद राजनीति गरेका निरञ्जनगोविन्दले सत्ता प्राप्तिभन्दा कम्युनिस्ट सिद्धान्तमै जोड दिएर संगठन बलियो बनाएकै कारण नेपालमा कम्युनिस्ट फैलिएका हुन् ।

प्रकाशित: असार ४, २०७६

ट्याग: स्मरण