‘आदिवासी नै मूलधारे फिल्म’

- मनबहादुर बस्नेत

आदिवासी फिल्म निर्देशनमा सक्रिय छिन्, पोखराकी जसु गुरुङ । २४ देखि २६ जेठसम्म काठमाडौँमा आयोजित नेपाल ‘आदिवासी जनजाति चलचित्र महोत्सव’मा जसु म्ले क्यु फिल्मबाट उत्कृष्ट निर्देशक भइन् । उनीसँग कुराकानी :

जनजातिका कुरा फिल्ममा उतार्न किन जरुरी छ ?

नेपाल र नेपालीलाई चिनाउने भनेकै आदिवासी–जनजातिका सांस्कृतिक पहिचानले हो । पर्यटक यिनै कुरा हेर्न आउने हुन् । यो लोप भयो भने त नेपालको चिनारी नै हराउँछ । भाषा, संस्कार, संस्कृति नजोगिए आदिवासी त जोगिँदैन नै, नेपाल पनि रहँदैन ।

म्ले क्युमा चाहिँ केको चित्रण छ ?

अहिले जनजाति समुदायले पैसा कमाउनुलाई जोड दिएको छ । म्ले क्युको अर्थ बिर्साउने पानी हो । हामी पानी खाएपछि सबै कुरा बिर्सन्छौँ । तर गुरुङ संस्कारअनुसार पितृ संस्कार अर्घौं गर्दा यो पानी खुवाएपछि मात्रै स्वर्ग पुगिने मान्यता छ । आफ्नो कुरा नभुल्नु भन्छ, यसले ।

पैसालाई जोड दिने प्रवृत्ति सबै समुदायमा नि ?

जसरी पनि लाहुरे बन्नुपर्छ भन्ने मान्यता गुरुङ समुदायमा बढी छ । यसको मूल कारण पैसा नै हो ।

यस्ता फिल्मलाई बजारमा जान भाषाको समस्या होला नि ?

नेपालमा कोरियाली, चिनियाँ फिल्म हेर्ने थुप्रै छन् । भाषा बुझेर होइन । दृश्य सामग्रीको आफ्नै भाषा हुन्छ । भाषा ठूलो समस्या होइन ।

त्यसो भए यस्ता फिल्म च्यारिटीमा मात्रै किन सीमित छन् ?

हलवालाले स्पेस दिँदैनन् । राज्यले केही समयका लागि सहुलियत दरमा हल उपलब्ध गराउन सहजीकरण गर्नुपर्छ ।

राम्रा फिल्म बन्ने हो भने स्पेस पाइएला नि ?

पहिलेभन्दा राम्रा फिल्म बन्न थालेका छन् । हलवालाले विदेशी फिल्मको तुलनामा नेपाली मूलधारे फिल्मलाई त महत्व दिँदैनन् भने आदिवासी जनजाति फिल्मको हालत के होला ?

मूलधारको फिल्मबाट आदिवासी जनजाति फिल्म प्रभावित छन् ?

कबड्डीलगायतका फिल्म जनजातिका कथामा बनेका हुन्, जसलाई दर्शकले रुचाए । राम्रो त आखिरी आदिवासी जनजातिकै विषय रहेछन् । भोलि आदिवासीकै कथा मूलधार हुन सक्छन् ।

मिथलाई फिल्ममा उतार्न कस्ता चुनौती छन् ?

अहिले पश्चिमा संस्कृतिले च्यापिरहेको छ । अनुसन्धानमा बढी खर्च गर्नुपर्छ । कतिपय सांस्कृतिक कुरा लोप हुँदै जान्छन्, समयक्रममा । मौलिकपनसम्म पुग्न गाह्रो छ । यसले लागत बढाउँछ ।

प्रकाशित: असार ४, २०७६

ट्याग: सहरमा