धन्य स्वयंसेविका

- हरि गौतम

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको वडा–१, २ र ३ मा केही स्वास्थ्य स्वयंसेविका अलग देखिए । जिल्लाको सबभन्दा दुर्गम  मानिएको साविकको स्यालाखदी गाविसअन्तर्गतका यी तीन वडा हाल मदिरामुक्त छन् । आफ्नो क्षेत्रलाई मदिरामुक्त बनाउने अभियानका महत्वपूर्ण अभियन्ता हुन्, स्वास्थ्य स्वयंसेविका ।

१४ फागुन ०७५ मा ३, फागुन १६ मा १ र फागुन १८ मा २ नम्बर वडालाई मदिरामुक्त घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वयंसेविकालाई एकै थलोमा भेट्ने मौका मिल्यो । २ नम्बरको स्यालास्थित स्वास्थ्य चौकीमा मासिक रिपोर्ट बुझाउन आएका रहेछन् । “मदिरामुक्त क्षेत्रको अवस्था कस्तो छ ?’ प्रश्न भुइँ झर्न नपाउँदै उनीहरुले एकै स्वरमा जवाफ दिए, “शान्त छ । कसैका श्रीमतीले कुटाइ खाएका छैनन् । श्रीमती कुटेको भनेर गाउँबाट कसैलाई प्रहरीले पक्रेको छैन । आमालाई कुटेकै कारण कसैका छोराछोरी बिचल्लीमा परेका छैनन्, पढाइ छुटेको छैन । हामी पनि छलफल मिलाउन गाउँ निस्कनुपरेको छैन । योभन्दा अरु के चाहियो ?”

“अब के रक्सी पनि सधैँका लागि बन्द होला त ?’ अर्को प्रश्न सोध्न नपाउँदै पहाडाकी वसन्ती यरीले भनिन्, “कुनै पनि हालतमा बन्द हुन्छ । कसैले सुरु गर्ने प्रयास गर्‍यो भने मात्रै पनि हामी छाड्नेवाला छैनौँ । एकाधबाहेक सबै जनता मदिरा बन्दको पक्षमा छन् ।” त्यसपछि मदिरा बन्द निरन्तर रहोस् भनेर शुभकामना दिएर हिँड्नुको विकल्प मात्रै थियो मसित ।

रक्सी नबनाउने ठाउँ

आठबीसकोट वडा–१ का अधिकांश बस्तीमा मदिरामुक्त घोषणापूर्व पनि रक्सी बनाउँदैनथे । हालको वडा–१ र २ को सीमामा अवस्थित देउतीखोलाभन्दा माथिका गाउँमा घरेलु रक्सी बनाउन छाडेको झन्डै ३० वर्ष पुगिसकेछ । विशेषगरी रोकाजा, डाँडागाउँ, खेत, फिलिंगी, ओख्ले, लुस, गैरीगाउँ, चैतीखारा, बारङे, रागिल र सविट्टेमा घरेलु रक्सी बन्दैनथे ।

यसरी रक्सी नबन्नु/नबनाउनुको कारण थियो, देवता । देउतीखोलामै रहेका साईकुमारी मन्दिरका देवताले नसहेको भन्दै गाउँलेले घरेलु रक्सी बनाउन छाडेका थिए । गाउँमा ठूलो समस्या परेपछि ०४७ देखि रक्सी बनाउन छाडिएको रहेछ । यद्यपि गाउँमा रक्सी भने प्रशस्त पाइन्थ्यो । अन्यत्रै गाउँमा बनाइएको घरेलु रक्सी ती बस्तीमा लिएर बिक्री–वितरण हुन्थ्यो । स्थानीय सरकार, प्रहरी, स्वास्थ्य स्वयंसेविका र महिला सक्रियतामा वडालाई मदिरामुक्त घोषणा गरेपछि हाइसुक्ख भएको महसुस स्थानीयले गरेका रहेछन् ।

देवता सर्न नमान्दा मन्दिर

यात्राका क्रममा वडा–१ का आधा दर्जन बस्तीमा घरेलु मदिरा बनाउन नदिने देवताले मन्दिर सर्न नमानेको अर्को रोचक प्रसंग पनि स्थानीयले सुनाए । आठबीसकोटको वडा–१ र २ को सीमा देउतीखोलामा साईकुमारीको मन्दिर छ । यहाँ हरेक कात्तिक पूर्णिमामा ठूलो मेला लाग्छ । हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म टाढाटाढाका दशनार्थी उक्त मन्दिर दर्शनका लागि आउने गर्छन् ।

यसैलाई लक्षित गरी नगरपालिकाले ५० लाखको लागतमा मन्दिर बनाउँदै छ । थप पर्यटन विकास गर्न भन्दै नगरपालिकाले बनाइरहेको मन्दिरमा देवता सर्न नमानेपछि स्थानीयले केही समय हैरानी बेहोरे । मन्दिर निर्माणको चरणमा छ । तर देवताले त्योभन्दा पहिल्यै मन्दिरमा नसर्ने भनेपछि स्थानीय तथा मन्दिर निर्माण उपभोक्ता समिति समस्यामा परे । दुई/दुई पटकको मानमनितोपछि देवताले सर्ने भनेछन् । मन्दिर अवलोकन गरेर फर्कंदै गर्दा निर्माण हेर्न जाने भन्दै बाटोमै भेटिएका प्राविधिक पवन यादवले मन्दिर निर्माण सकिएसँगै देवता सर्ने भएका छन् भनेर सुनाएपछि म पनि ढुक्क भएर आफ्नो बाटो लागेँ ।

प्रकाशित: असार ४, २०७६

ट्याग: नोटबुक