नांगो म

- गनेस पौडेल

आइन्स्टाइन भन्थे, ‘मेरो दिमाग नै प्रयोगशाला हो ।’ जवाहरलाल नेहरुले ‘मान्छेको कला नै मान्छेको दिमाग हो’ भन्थे । कुमार नगरकोटीले आफ्नो दिमागलाई घाटजस्तो लाग्छ भनेका छन् ।

‘माई माइन्ड इज एन इनिग्मा’ त धेरैले भन्छन् । मलाई भने मेरो दिमाग नै आफूसँग छैनजस्तो लाग्छ । यो कतै डुल्न गएको छ, कुन दिन बिखर्ची हुन्छ र फर्केर मेरो खप्परमा बस्न आउँछजस्तो लाग्छ । खासमा ‘जस्तो लाग्छ’ होइन, मेरो दिमाग साँच्चै डुल्न हिँडेको छ । ऊ फर्केर बास बस्न आएको दिन मलाई नै नचिनेर फेरि फिर्ता भागोस् भन्ने कदापि चाहन्नँ । त्यसैले पनि मौका पाएसम्म म निर्वस्त्र बस्छु । नांगिएर बस्छु ।

कपडा लगाएर बस्दा नचिन्न पनि त सक्छ नि !

आवरण मानव मस्तिष्कले बनाएको कुरुप आविष्कार हो । वस्त्र, अलंकार र आभूषणले ढाकिएको शरीर, विचार, विज्ञान र वादको आवरणले छोपिएको विवेक, शिक्षा, सम्पक्ति र शत्तिले ढपक्कै ढ्यापिएको दृष्टि, उन्माद, कुण्ठा र असन्तुष्टिको सिरकभित्र गुटमुटिएको आदर्श... ! योभन्दा कुरुप के हुन सक्छ ? सायद यही कुरुप दृश्यले मेरो दिमागलाई दिग्भ्रमित बनाउँछ र भित्रै नपसी फर्केर जान्छ । कैयन पटक मैले मेरो दिमाग बास बस्न फिर्ता आएको, मेरो वरपर हावामा कावा खाँदै अन्योलग्रस्त भौँतारिएको अनि ‘यो त मेरो घर हुँदै होइन’ भन्ने सोचेर फेरि टाढिएको आफ्नै आँखाले देखेको छु । आफ्नै सन्तानले आफूलाई बाटोमा भेट्दा ‘म तपाईंलाई चिन्दिनँ’ भन्यो भने एउटी आमाको अवस्था के हुन्छ ? वा आफूले सर्वाधिक प्रेम गरेर पढाएको शिष्यले बाटोमा भेट्दा अपरिचितझैँ व्यवहार गर्‍यो भने एउटा मास्टरको मनोभाव के हुन्छ ? जब आफ्नै दिमागले मलाई चिन्दैन र फर्केर जान्छ, त्यस्तै अनुभूति हुन्छ ।

कहिलेकाहीँ बिहान उठेपछि मात्रै थाहा लाग्छ, हिजो रातभर मेरो दिमाग आफैँसँग बिस्तरामा थियो । निदाएका बेला ऊ पनि मेरो खप्परभित्र आराम गरिरहेको थियो । एउटा सपनाजस्तो धमिलो सम्झना बाँकी हुन्छ, बिहानपख । सम्झनामा यस्तो विवरण बाँकी हुन्छ– म नउठ्दै मेरो दिमाग उठिसक्छ अनि रातको अघोर निद्रामा निर्वस्त्र पल्टिरहेका बखत कानसम्म आफ्नो थुतुनो जोड्दै आउँछ र फुस्फुसाउँछ, ‘बुझिस् गनेस, म तेरो शरीरको निर्गुण निराकार स्वरुप हुँ । तेरो शरीर मेरो सगुण साकार प्रारुप हो । म अदृश्य तँ हुँ । तँ सादृश म होस् ।’ उसले भनेको म निद्रामै सुन्छु, तर बिहान उठ्दा सबका सब बिर्सिसक्छु । दिमागै नभएको मान्छेले सम्झनु पनि त कसरी ? दिमाग नभएकै कारण मैले धेरै कुरा बिर्सिसकेँ । अस्ति भर्खर कञ्चनपुर हो कि कतातिर हो, एउटी बालखी बलात्कृत भएर मारिएकी थिई, त्यो बिर्सें । दुई साता अगाडि काठमाडौँमै बम पड्केर कुन्नि कति जना मरे भन्ने विवरण बिर्सें । वाइडबडी बिर्सें । मार्सीको चामल बिर्सें । जनस्वास्थ्यको बरखी बार्न बसेको एउटा बूढो डाक्टर थियो रे केसी थरको, त्यो पनि बिर्सें । नाकाबन्दीको कारण त मेरो दिमाग झन् कैयन साता भारतमै अलपत्र परेको थियो । त्यसलाई नबिर्सने त कुरै भएन । भुइँचालो बिर्सें । ‘जनयुद्ध’ बिर्सें । दासढुंगा र १९ जेठ त लासमाथिको राजनीति न थिए, त्यसलाई सम्झन सक्ने कुरै छैन । मैले बिर्सेका यस्ता कैयन कुरा छन्, त्यसलाई यहाँ राखिसाध्य छैन ।

हो, यसरी रात्रि विश्राममा आएर सपनामा फुस्फुसाउन छाडेको पनि धेरै भयो, मेरो दिमागले । खै के भयो, ऊ अचेल सपना र सम्झनामा समेत आउन छाड्यो । उसको अत्तापत्ता केही नभएको पनि मुलुकौँ समय भयो । चेतना, आत्मा र शरीरको अनेकन व्याख्या गरेर रात सुधार्नेर मेरो दिमाग अचेल कहाँ गयो ? न्याय, समता र मुक्तिको बखान छाँटेर नअघाउने मेरो दिमाग कता हरायो ? ऊ हिँडेकै दिनदेखि रात रत्ति नसुध्रेकाले मैले उसलाई नखोजी भएको छैन । जुन दिन ऊ भेटिनेछ, चिरिप्प समातेर मेरो खप्पर–कक्षमा आजीवन कैदी बनाएर राख्नेछु ।

त्यसैले त म दिनदिनै टाढा–टाढा पुगिरहेको हुन्छु । उसलाई खोज्नै भनेर म कहिले दर्शनशास्त्रका गहिरा खोँचमा भासिन्छु, कहिले धर्मशास्त्रका अभेद्य गुफामा पस्छु । कहिले प्राचीन युद्धका वीभत्स किस्सामा फस्छु, कहिले रुमानी साहित्यका मुलायम हरफहरुमा डुब्छु । कहिले समयले कहिल्यै सुल्झाउन नसकेको देशी राजनीतिको भुलभुलैयामा अल्झिन्छु, कहिले कुनै गरिब राष्ट्रलाई उठ्नै नदिने गरी बुनिएको पुँजीवादको कुटिल कूटनीतिमा घोत्लिन्छु । ठेगानाविहीन ठेगानामा पठाइएको कुनै गुमनाम चिट्ठीलाई ठेगान लगाउन हिँडेको बूढो हल्काराझैँ म अचेल साह्रै अन्योलग्रस्त छु ।

कहिले पुग्छु म छाउगोठमा– कतै प्रथम रजस्वलाको रगतमा डुबेर मरेकी किशोरीसँगै मेरो मगज पनि मरिसक्यो कि ? कहिले पुग्छु, सहरको अस्पतालमा– कतै ओखतीको बिल तिर्न नसकेर आत्महत्या गरेको बिरामीसँग । उसले पनि हाम फाल्यो कि छतबाट ? कहिले अमिताभको फिल्मी चरित्र सहन्साहझैँ सहरका अध्याँरा गल्लीमा पुग्छु र हेर्छु वरपर– कतै बलात्कारबाट जन्मेको सन्तान खेलाउँदै बसेकी कुनै बौलाही स्त्रीको मगजसँग सट्टीपट्टी पो हुन पुग्यो कि ? कहिले पोखरा लेकसाइडका आधुनिक औराहरुमा भड्किन्छु– कतै खोल्न बाँकी ‘इन्जोय जोन’ का परिकल्पनाकारको पछिपछि कन्डोम माग्दै पो हिँडिरहेको छ कि ? कहिले सिंहदरबारका सबै गेटतिर बरोबर आँखा दौडाउँछु– कतै प्रधानमन्त्रीको चुट्किलामा ताली पड्काउन पालो कुरेर पो बसेको छ कि ?

कहिले पुग्छु म, भावुक कविका उच्चाट संवेदनाले भरिएका अक्षरमा । कहिले टुपुल्किन्छु, आक्रोश ओकल्ने गद्यहरुमा । कहिले टाँसिन्छु, आर्ट ग्यालरीका भित्तामा अनि पर्खेर बस्छु, ऊ नभए पनि उसको छायाचित्र मात्रै पनि टाँसिन पो आइपुग्छ कि एक दिन । कहिले टहलिन्छु इतिहासले म्युजियम बनाइदिएका दरबारका चोटाकोठामा । कहिले हिमालको कठ्यांग्रिदो कुहिरोभित्र पुग्छु, कहिले तालु सुकाउने गर्मीले सेकिएको मधेसको मिराजमा । कहिले कर्णालीका दुख्याहा पहाडी छालसँग आँसुझैँ बग्दै पो आएको छ कि भनेर तटहरुमा पर्खिबस्छु, कहिले सडक कुनामा लुकेर गम सुँघ्दै पो बसेको छ कि भनेर पेटीपेटीमा पैदल मार्छु । तर अहँ, ऊ भेटिन्न ।

साँच्चै भनेको हुँ । ‘ढाँट्नु केलाई छ र ?’ मैले उसलाई खोज्न बाँकी कुनै ठाउँ बाँकी भए मरिजाम् । त्यसैले सोचेको हुँ, सायद उसले आफू फर्केर आउने शरीर नै पो चिनेन कि ? मलाई नांगिन मन पर्दै जानुको मूल कारण खासमा यही हो ।

थाहा छैन, मेरो मस्तिष्क अहिले कहाँ छ ? मेरो चेतना अहिले के गर्दै छ ? मेरो विवेक कता बन्दी भएको छ ? पुलिसले बरु निर्मलाको बलात्कारी फेला पार्ला, अख्तियारले बरु ह्वेलभन्दा पनि ठूलो भनिएको माछालाई कानुनको मसिनो बल्छीमा उधिन्ला, एनसेलले बरु पूरापूर कर तिर्ला, स्वीस बैंकको अदृश्य पैसा बरु सुटुक्क राष्ट्र बैंकको सरकारी खातामा जम्मा होला, क्यान्टोनमेन्टको फाइलमा सपनाको डेबिटक्रेडिट नमिल्दा बितर्किएका सिपाहीको हरकिताब मिल्ला वा टुप्लुक्क आउला रेल–पानीजहाज–समृद्धिको सुखी सपना दैलोमा । तर अहँ, मेरो मस्तिष्क फर्केर आउने कुनै गुन्जायस छैन । मेरो दिमाग घर फर्किने कुनै छेकछन्द छैन । मेलोमेसो छैन । भाँतभाँती छैन ।

म त्यसै जोगी भएको होइन, साथी । ‘मन थिएन जोगी बन्नलाई’ भन्ने गीत मेरै लागि लेखिएको हो ।

कहिलेकाहीँ लाग्छ, ऊ अखबारको कुनै श्यामश्वेत पानामा कुँजिएको खिरिलो सूचनाका निख्ला अक्षरहरुमा कैद भएर बसेको छ, जहाँ लेखिएको छ– ‘मालिक म बौलाएँ । मलाई लिन आऊ ।’ तर उत्ति नै खेर लाग्छ, मेरो दिमागले त कुनै चल्तीको म्यागजिनको कभर फोटोमा टाँसिएर आउने हैसियत राख्छ । कोही किन बौलाओस् ? कोही किन गुमनाम होस् ? कोही किन बर्बाद होस् ?

कहिले लाग्छ, कुनै सम्भावना नभएको मेरो खप्परमा बेरोजगार भएर बस्दाबस्दा आजित भएरै ऊ त्यहाँबाट भागेको हो । अहिले कुनै अरबको ओयसिसमा मकै गोड्दै बसेको छ वा कुनै तबेलामा घोडा वा ऊँटका कुभो कन्याउँदै छ वा हुन सक्छ, विश्वकप फुटबलको आयोजनाका खातिर बनाइएको कुनै रंगशालाको स्क्याफोल्डिङमा अडेस लागेर रंगरोगन गर्दै छ ।

बाध्यताले गर्नुस् या रहरले, जब कुनै काम बारम्बार गरिरहनुहुन्छ, त्यो तपाईंको बानी हुन्छ । आदत हुन्छ अनि मान्छे ‘आदत से मजबुर’ हुन्छ । दिमाग खोजीको चक्करमा लाग्दा–लाग्दा मलाई नांगिने बानी परेको हो । चुरोटको अम्मलीलाई निकोटिनको तलतल लागेझैँ आवरणभित्र बसेको केही बेरमै मलाई नांगिने रहर तीव्र भएर आउँछ । यसरी नांगिनु मेरो चेतन चाहनाजस्तो भएको छ । त्यसो त सुनेको छु, नांगिनु सबै मनुष्यको अवचेतन चाहना हो । त्यसो भए के, मेरोजस्तै अरु मनुष्यको दिमाग पनि अचेल तिनको शरीर छाडेर डुल्न हिँडेको छ ?

त्यसो भए त विप्लव हुन्छ । प्रलयको प्रारम्भ हुन्छ । कल्पना गर्नुस् त, संसारका सबै मान्छे एकातिर, तिनको दिमाग अन्तैतिर । उफ् !

नांगिदा–नांगिँदै मलाई यस्तोसम्म भान पर्न थालेको छ– ‘खासमा म नांगिनकै लागि जन्मेको हुँ । नांगिनु मेरो बाध्यता होइन, बरु रहर हो । त्यसैले म हरहमेसा आशा गर्छु कि तन, मन, विचार, बुद्धि र विवेकले पनि नांगिरहन पाऊँ । नग्नताले मलाई सिर्जनात्मक ऊर्जा दिन्छ । आफू हुनुको अनुभूति दिन्छ । बचाइको भान दिन्छ । आडम्बरबाट मुक्ति दिन्छ ।’

यही भानले गर्दा अवसर पाउनेबित्तिकै म नांगिइहाल्छु । जब कोठामा एक्लै हुन्छु, म कपडा फुकालिहाल्छु । कहिले पण्डित हरिप्रसाद चौरसियाका बाँसुरीले पार्ने बयेलीमा गहुँको बालाझैँ लहरिन्छु, त कहिले चिनियाँ पियानोवादक ल्याङल्याङका स्ट्रोकमा मदमस्त बहकिन्छु । कहिले टेलिभिजनमा घन्काउँछु, पिना वाउसका ‘डेड क्यान डान्स’ का सिरिज अनि नग्न नृत्यमा फनाफन फन्किन्छु । कहिले आफ्नो किशोरकालीन यादमा रल्लिँदै ‘साउन्ड अफ अन्डरग्राउन्ड’ मा उफ्रिन्छु, त कहिले अल्ला रखाको तबलामा कसैले ननाचेको कत्थक नाच्छु । नग्नता र नृत्यको कम्बोमा म आफूलाई जीवनको अत्यन्त नजिक पाउँछु ।

नाचेर पुगेन वा नाच्ने दिमागै आएन भने म विजयपुर खोलाको एकान्तकुनातिर जान्छु र जोरजोरले तथानाम गीत गाउँछु । नांगो गीत । त्यो गीत, जो मैले यसअघि कहिल्यै गाएको थिइनँ, जो सुनेकै थिइनँ । लेखेकै थिइनँ । भकाभक गीत फुरायो, गायो । जथाभावी गायो । एकान्तमा गाइने नग्न गीत मलाई अस्तित्वको आराधनाजस्ता लाग्छन् ।

भान न हो ।

जब सिर्जनात्मक ऊर्जा सकिँदै गएर मानसिक शिथिलता महसुस गर्छु, मलाई नांगिने जरुरत पर्छ । नृत्य र गीत मात्रै होइन, कहिलेकाहीँ मेरा औँला पनि कम्प्युटरका किबोर्डमा नांगा शब्द खोप्न थाल्छन्– टुकटुक, टुकटुक । टाकटाक टाकटाक । ठ्याकठ्याक, ट्याकट्याक । अविराम, अविचल टाइप गर्दै, डिलिट गर्दै । फेरि टाइप गर्दै, फेरि डिलिट गर्दै । यसरी टाइप गर्दै गर्दा म छेवैमा रेकर्डरलाई ‘अन मोड’ मा राख्न भुल्दिनँ । मलाई कम्प्युटरको किबोर्डले निकाल्ने धुनजस्तो मधुर केही लाग्दैन । त्यो धुन मात्रै सुन्नका खातिर पनि म केही न केही लेखिरहन्छु ।

अनुमान गर्नुस् त, यो आलेख लेख्दा मेरो कम्प्युटरको किबोर्डले कस्तो धुन बजाएको थियो होला ? यसको रेकर्ड सुन्ने हो ?

 

प्रकाशित: असार ४, २०७६

ट्याग: निबन्ध