[पुस्तक समीक्षा] दीपेन्द्रको दानवीकरण

पुस्तक : दरबारको दुःखान्त | कथाकार : सुन्दरप्रताप राना | प्रकाशक : किताब पब्लिसर्स | पृष्ठ : ३०७ | मूल्य :   ६०० रुपैयाँ |

- यादव देवकोटा

‘शाही हत्याकाण्डको साक्षी’ परिचयसहित तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती सुन्दरप्रताप रानालिखित पुस्तक दरबारको दुःखान्तको उपशीर्षक छ, 'राजपरिवार र संहार : मैले जसरी देखेँ' । पुस्तकको बाहिरी पातोमा लेखिएको छ, 'त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्, तत्कालीन प्रमुख शाही पाश्र्ववर्ती सुन्दरप्रताप राना । उनले यो पुस्तकमा आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् ।' लेखकले पुस्तकको सुरुआतमै 'दरबार हत्याकाण्डको साक्षी भएकाले त्यस घटनाबारे मसँग धेरैले धेरैखाले जिज्ञासा राख्ने गर्नुभएको छ (पृ ९)' लेखेर आफू भयानक गोलीकाण्डको प्रत्यक्षदर्शी भएको दलिल पेस गरेका छन् ।

लमजुङे राजकुमार द्र्रव्य शाहलाई लिगलिग र माझकोटको मगर राज्य मासेर राजा थपना गर्ने ६ थरघरमध्ये गोर्खाकै रैथानेमा गंगाराम रानामगर मात्रै थिए । बाँकी गणेश पाँडे, नारायणदास अज्र्याल, भगीरथ पन्त, गजानन भट्टराई, केशव बोहरा, सर्वेश्वर खनाल, मुरली खवास द्रव्य शाहले गोर्खा हात पार्नु केहीअघि मात्रै त्यहाँ पुगेका थिए । पाँडे र अज्र्याल इस्माली, पाल्पाली राज्यबाट आएका थिए भने पन्त, खनाल, बोहरा, खवास, भट्टराईहरु द्रव्य शाहसँगै लमजुङबाट आएका थिए । द्रव्य शाहलाई लमजुङबाट सुरक्षा दिएर गोर्खा ल्याउने र आफ्नै भेगको मगर शासित राज्य मासेर गोर्खामा शाहवंशीय शासन सुरु गराउने तिनै गोर्खाली गंगाराम रानामगर खलक (सम्भवतः ?) का एक सदस्य सुन्दरप्रताप राना प्रमुख शाही पाश्र्ववर्ती रहेर द्रव्य शाहका उत्तराधिकारी वीरेन्द्र शाहको सुरक्षाको बन्दोबस्त गरिरहेका बखत हत्याकाण्डमा परी राजपरिवारको कत्लेआम भएको घटना आफैँमा अनौठो संयोगले भरिएको देखिन्छ ।

जसरी द्रव्य शाहलाई गोर्खामा शाहवंश सुरुआत गर्न गंगाराम रानासहित केशव बोहरा पनि सामेल थिए, द्रव्य शाहका उत्तराधिकारीको प्रमुख 'अंगरक्षक' मा सुन्दरप्रताप राना र गजेन्द्र बोहरा (दीपेन्द्रका पाश्र्ववर्ती) रहनु पनि अर्को रोचक संयोग देखिन्छ । उत्कर्षमा तिनै राना र बोहराको मौजुदीमै जसरी वीरेन्द्र र दीपेन्द्रको हत्या दरबारको सुरक्षा घेराभित्रै १९ जेठ ०५८ रातमा भयो, त्यसले तिनका पूर्वजले गोर्खामा थपना गरेको शाहवंशीय शासनको समाप्तिका लागि निर्णायक परिघटनाका रुपमा पटाक्षेप भयो । त्यही गोर्खाली शाहवंशको अन्त्येष्टिको 'आधार प्रकरण' दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र परिवारको वर्णनमा आधारित पुस्तक हो, दरबारको दुःखान्त

♦♦♦

पुस्तकमा तत्कालीन राजा वीरेन्द्र, युवराज दीपेन्द्र, रानी ऐश्वर्य, राजकुमारी श्रुति, अधिराजकुमार निराजन, अन्तिम राजा ज्ञानेन्द्र, आमा रत्न र कान्छा भाइ धीरेन्द्रको व्यक्तिगत वर्णन रोचक छ । शाहवंशीय राजतन्त्रको पछिल्लो पुस्ताका उत्तराधिकारीको व्यक्तिगत विवरण निकै सरल र पठनीय छ । युवराज दीपेन्द्र हार्न नचाहने, सन्काहा, हठी, उटपट्याङ, माता-पिताद्रोही, परपीडक र सानै उमेरदेखि प्रेममा परेको पुस्तकमा छ । पहिले सुपि्रया शाह र पछि देवयानीसँग विवाह गर्न खोज्दा रानी र युवराजबीचको टकरावकै उत्कर्षमा दरबार हत्याकाण्ड मञ्चित भएको लेखकको निष्कर्ष छ । ऐश्वर्य जुद्धशमशेरको खलक र देवयानी चन्द्रशमशेरको खलक हुँदा दरबारमा टकराव भएको पूर्ववर्तीहरुकै बयान उनले दोहोर्‍याएका छन् ।

जुद्धशमशेरको खलक र चन्द्रशमशेरको खलकबीच प्रतिस्पर्धा र इगो रहेको अनि त्यसैका कारण दीपेन्द्रको बिहे देवयानीसँग हुन नसकेको तर्कचाहिँ कच्चा छ किनभने राजकुमारी श्रुतिको बिहे चन्द्रखलकमै भएको थियो भने श्रुतिमार्फत बिहे प्रस्ताव आएर दरबार (रानी ऐश्वर्यसमेत) युवराजधिराजको गरिमा राणासँगै विवाह होस् भन्ने बडामहारानीको चाहना थियो (शाह, उही, पृ ४९) । सहमत भएको भनिएकी गरिमा राणा स्वयं चन्द्रशमशेर खलककी थिइन् । श्रुतिको बिहे चन्द्रशमशेरका साइँला छोरा केशरशमशेरका नाति, केयरशमशेरका छोरा गोरखशमशेरसँग भएको थियो भने गरिमा गोरखका काका लोकभक्तकी छोरी थिइन् ।

♦♦♦

रानाको लेखन वीरेन्द्रको अधिक प्रशस्तिमा केन्दि्रत छ भने दीपेन्द्रको दानवीय चरित्र निर्माणमा । दानवीकरणको उत्कर्ष दीपेन्द्रमा हत्यारा हुने चरित्र थियो भन्ने आम मानिसमा विश्वास उत्पन्न गराउनेमा परिलक्षित देखिन्छ । हरेक व्यक्ति कमजोरी र योग्यतासहित उभिएको हुन्छ भन्ने सार्वभौम तथ्यलाई नै खारेज गर्ने गरी रानाले वीरेन्द्रको एकपक्षीय विरुदावली तयार गरेका छन् । दीपेन्द्रमा अस्वाभाविक चरित्र निर्माण हुनुमा मातापिताले रेखदेख र हेरचाहमा गरेको बेवास्ता नै कारण भएको तर्क भने उचितै देखिन्छ । दरबारका रनर, नानी र एडीसीहरुको भरमा हुर्किएका दीपेन्द्रलाई उक्साउनेमा रानाजस्तै एडीसीहरुको पनि हात छ भन्ने तथ्य दरबारकै केही शक्तिशाली भारदारले लेख्दै आएका छन् । राना दीपेन्द्रसँग हिँड्ने गरेका बेला भएको एउटा घटनाले दीपेन्द्र कसरी अल्लारे एडीसीहरुको बलमा उदण्ड हुने गरेका थिए भन्ने संकेत गर्छ, भलै उक्त घटनामा राना सामेल भएका होऊन् या नहोऊन्, '०४५ तिर नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्र र उनका केही साथी तथा अंगरक्षकले पेय पदार्थ लिँदै र खाना खाँदै गर्दा के कुरामा विवाद परेछ, कुटपिट चलेछ र ती अंगरक्षक घाइते भएछन् । युवराजको सम्म मर्यादा राखेछन् । सबैले रिस ती अंगरक्षकमाथि पोखेछन् ।' (खनाल, रेवतीरमणः अनुभूति अभिव्यक्ति, पृ २५८)

♦♦♦

रानाले राजदरबार र राजपरिवारको सुरक्षा व्यवस्थामा पुनर्विचार गर्न विज्ञ समिति बनाएको र त्यसैका आधारमा आफूलाई अवकाश दिइएको, तर उक्त समितिलाई कारबाहीको सिफारिस गर्ने कार्यादेशै नभएको उल्लेख गरे पनि तत्कालीन प्रमुख सैनिक सचिव विवेक शाहले भने दरबार हत्याकाण्डसम्बन्धी छानबिन गर्न आन्तरिक रुपमा कार्यटोली गठन भएको लेखेका छन् । (शाह, विवेकः मैले देखेको दरबार, पृ २०३) शाहले 'दरबार हत्याकाण्ड छानबिन गर्न आन्तरिक रुपमा गठित कार्यटोलीको प्रतिवेदनअनुसार त्यसबेला कार्यरत शाही पाश्र्ववर्तीलाई के-कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा चाँडै निर्णय लिँदा उपयुक्त हुन्छ' (शाह, उही, पृ २०६) भनेर राजा ज्ञानेन्द्रमा जाहेर गरेका थिए ।

♦♦♦

जिउँदोमा सुरक्षा दिन 'स्ट्यान्ड बाई' बस्नुपर्ने अवस्थामा ढुक्कैले राजा भएको स्थान छाडेर अर्कै भवनमा गएर बसेको उल्लेख गरेका रानाले मानिसको सहानुभूति लिन र आफूप्रति उठ्न सक्ने आक्रोशलाई 'सेबोटेज' गराउन लेखेका छन्, 'महाराजाधिराजको निर्जीव शरीरलाई छाड्नै सकिनँ । सरकारको हात समातेर उभिइरहेँ निकै बेर (पृ ३०) ।' पाश्र्ववर्तीहरुलाई दरबारको निजी भोज या उत्सवको हलभित्र जान या बाहिरबाट चिहाउन नदिइए पनि 'ड्युटी' मा रहेको पाश्र्ववर्ती कार्यक्रम भएको स्थानबाहिर सतर्क अवस्थामा बस्न छाडेर ढुक्कैले अर्को भवनको एयरकन्डिसनर चलेको कोठामा गएर आमोदप्रमोदमा नरमाएको भए हत्याकाण्डका बखत हतियार भिरेर आइरहेका दीपेन्द्रलाई तत्काल रोक्न सक्ने या पहिलो फायर खुलेपछि त्यसमा काउन्टर गरेर राजालाई जोगाउन सक्ने अवस्थामा त्यसप्रति भएको एडीसीहरुको लापरबाहीलाई रानाले 'त्यस्तै गर्ने गरिन्थ्यो' भनेर गैरजिम्मेवार जागिरे मनोवृत्ति प्रकट गरेका छन् ।

♦♦♦

हत्याकाण्डमा दीपेन्द्रले गोली चलाएको प्रत्यक्षदर्शीले देखेको भनेर विवरण आए पनि आफैँलाई गोली हानेको देखेको विवरण आजसम्म कसैले सार्वजनिक गरेका छैनन् । हत्याकाण्डमा तमाम नातेदारमाथि गोली दागेर त्रिभुवन सदनतिर जाँदै गरेका दीपेन्द्रलाई पछ्याउँदै गएकी रानी ऐश्वर्यलाई समेत ढालेपछि अन्तिममा गोली निराजनमाथि दागिएको थियो । निराजनमाथि दीपेन्द्रबाट 'फायर' भएपछि दीपेन्द्रमाथि अचूक निशाना लगाएर निराजन नजिकै रहेको व्यक्तिले ढालिदिएको भनेर बाहिरिएका 'सूचना' अफवाह मात्रै थिएनन् कि भन्ने राजीव शाही शंकास्पद तवरले गोली लागेर ढलेका वीरेन्द्रलाई छाडेर हराउनु, उनैले हतारहतार दीपेन्द्र नै हत्यारा भनेर मानिसको घृणा केन्दि्रत गराउन पत्रकार सम्मेलन गराउनु, पछि तिनै घटनास्थलबाट भाग्ने राजीवलाई ज्ञानेन्द्रले विभूषित गर्ने, दरबारमा चलाइएका हतियारको फिंगर पि्रन्ट टेस्ट नगराइनु, ज्ञानेन्द्रले दरबारमा दीपेन्द्रले गोली चलाएर हत्याकाण्ड मच्चाएको जानकारी पाउँदा-पाउँदै पनि स्वचालित हतियार पड्कन गई हत्याकाण्ड मच्चिएको बताउनु, त्रिभुवन सदन भत्काउनु, वीरेन्द्र-दीपेन्द्रको एडीसी मात्रै होइन, हत्याकाण्डपहिले नै अमेरिकामा तालिममा जान रवानापत्र लिइसकेका एडीसीहरुलाई बर्खास्त गर्ने तर निराजनका एडीसीलाई आफ्नै एडीसी बनाएर संरक्षित गर्ने कामले निर्दिष्ट गर्छ । उसै पनि वीरेन्द्र र ज्ञानेन्द्रबीच ज्यानै लिने स्तरको घटना त्यसअघि नै घटेको जानकारी पाउनेहरुले दीपेन्द्रलाई हत्यारा नमानी अज्ञात हत्याराको कल्पना गर्नु स्वाभाविक हुने नै भयो, 'के फुर्ति गर्छौ, तिमीभन्दा अगाडि म राजा भएको' भनेर ज्ञानेन्द्रले भनेकाले झगडा परेको रहेछ (शाह, हृषिकेश : प्रारब्ध पुरुषार्थ, पृ १६६) ।

रानाले आम नागरिकको स्तरबाट हत्याकाण्डका सन्दर्भमा उठेका अनेकन प्रश्नलाई पुस्तकमा उल्लेख गरेका मात्रै छैनन्, हत्याकाण्ड वरपरका केही शंकास्पद विवरणसमेत पेस गरेका छन् । हत्याकाण्डमा गोली लागेर ढलेका वीरेन्द्रको शरीर समातेर बसिरहेका डा राजीव शाही राना दगुरेर भित्र छिर्दाछिर्दै राजालाई बेवारिसे छाडेर किन/कता भागे ? दरबार हत्याकाण्डको उच्चस्तरीय छानबिन समिति गठन भइसकेपछि छाउनी अस्पतालमै हतारहतार पत्रकार सम्मेलन गरेर दीपेन्द्रलाई दोषी करार गर्ने हतारो किन देखाए भन्नेमा दरबारको दुःखान्तले पाठकलाई सोचमग्न बनाउँछ ।

आजसम्म पनि जसरी हत्याकाण्डमा गोली चलाउने दीपेन्द्र हो भन्नमा तमाम प्रयास केन्दि्रत भएको छ । कसैले पनि दीपेन्द्रको हत्याका सन्दर्भमा किटेर बोलेको छैन, आफैँले सुसाइड सुट गरेको अनुमान मात्रै पाइन्छ । रानाले पनि नशाले झुम भएर अरुले सहारा दिएर खोपीमा लगेर सुताइदिएका दीपेन्द्रले एमपी-५ मेसिनगन, एम-१६ एटू कमान्डो राइफल, अटोमेटिक १२ बोर र पेस्तोल भिरेर वीरेन्द्रकै परिवार छानेर किन सिध्याए र घटनास्थलमै रहेका शाहजादा पारसलाई किन केही पनि भएन भनेर जनस्तरबाट उठेका प्रश्नलाई बल पुग्ने गरी त्यसपछि शंकास्पद बनाउने गतिविधि भएको र बृहत् दायराबाट खोजबिन र अनुसन्धान गर्ने काम नभएको उल्लेख गरेका छन् (पृ २८०) । उनले दरबार हत्याकाण्डको गम्भीरताअनुरुप खासमा गतिलोसँग छानबिनै नभएको धारणा राखेका छन् ।

♦♦♦

रानालाई 'शाही हत्याकाण्डको साक्षी' लेखिए पनि त्यो सफेद झूट भएको तथ्य पुस्तकले नै बताउँछ । 'हत्याकाण्ड हुँदा म त्रिभुवन सदनको अर्को कुनामा थिएँ, गोली चलिरहेको आवाज सुनेको थिएँ । तर युवराजधिराजले गोली हानेको मैले देखेको होइन । त्यसैले त्यस रात बिलियर्ड हलभित्र गोली कसरी चल्यो, त्यसबारे गजेन्द्र बोहरा र प्रत्यक्षदर्शी शाही नातेदारले भनेका कुरालाई मान्नुपर्ने अवस्थामा छु' (पृ २६८) ले राना घटनाको प्रत्यक्षदर्शी नै होइनन् भन्ने प्रस्ट पार्छ । पुस्तकका विवरणबाट राना दरबार हत्याकाण्डको होइन, हत्याकाण्ड मञ्चन भइसकेपछि घाइते भई लडेका, त्यो पनि केही मानिसको घाइते अवस्थाको मात्रै साक्षी हुन् भन्ने खुल्छ । पुस्तकमा रानाका नाममा लगाइएको 'शाही हत्याकाण्डको साक्षी' को ट्याग दरबार हत्याकाण्डको तथ्यप्रति गम्भीर जिज्ञासा राख्ने नेपाली समाजको संवेदनामाथि व्यापार गरी मुनाफा आर्जन गर्ने जाली व्यापारिक उद्देश्य प्रस्टै देखिन्छ । कतिसम्म भने, रानाले गोली कसले चलायो भन्ने नदेखेको मात्रै होइन, बिलियर्ड हलमा घाइते भएकामध्ये वीरेन्द्रबाहेक अरुको अवस्थासमेत ख्याल नगरेको इमानदारीपूर्वक उल्लेख गर्नुले लेखक दाबी गरिएजस्तो 'हत्याकाण्डको साक्षी' नरहेको जोकोहीले सजिलै बुझ्न सक्छ ।

प्रकाशित: असार ३, २०७६