फिटनेस गुरु

- गोकर्ण गौतम

घरमा सबैले माया गरेर मोटी भन्दा कृशा श्रेष्ठ दंग पर्थिन् । कहिलेकाहीँ हिँडडुल गर्न असहज हुन्थ्यो, अल्छी लाग्थ्यो तैपनि आफ्नो मोटो शरीरसँग गुनासो थिएन, चिन्ता थिएन । जीवन चलिरहेकै थियो । एक दिन शरीरको तौल लिइन् । ९० केजी पुगेछ । जतिबेला भर्खर २१ वर्ष टेक्दै थिइन् । कृशा भन्छिन्, "त्यसपछि मलाई अति भयोजस्तो लाग्यो । डर पनि लाग्यो ।" अभिभावकसमेत उनको मोटोपनासँग चिन्तित थिए । त्यही बेला लाजिम्पाट घरनजिकै जुम्बा क्लब खुल्यो । कृशा त्यहीँ धाउन थालिन् । जुम्बा जानुको कृशाको उद्देश्य एउटै थियो, तौल घटाउने ।

कृशा यति दत्तचित्त भएर लागिन्, शरीर मात्र साठसुट्ट घटेन, आफैँ फिटनेस प्रशिक्षक बनिन् । ६ वर्ष भयो, कुनै समय आफूजस्तै मोटोपनाको तनावबाट पिल्सिएकालाई तन्दुरुस्त बनाउन उनी क्रियाशील भएको । भन्छिन्, "ज्यान पनि घट्यो, पेसा पनि बन्यो । दोहोरो फाइदा ।" नेपालमा शरीरको वजनप्रतिको सचेतना बल्ल सुरु हुँदै छ । दक्ष फिटनेस प्रशिक्षक अभाव छ । त्यसमाथि महिला त अत्यन्त न्यून । त्यही भएर हुनुपर्छ, कृशासँग धेरै केटीहरु ज्यान घटाउन भन्दै आइपुग्छन् । मोटोपनाका कारण भोग्नुपरेको व्यथा पोख्छन् । कृशा हौसला दिन्छिन् । कतिका लागि 'रोल मोडल' नै ।

जुम्बा थालेको एक महिनामा कृशाको तौल चार किलो घट्यो, तर त्यसपछि ठ्याम्मै रोकियो । प्रशिक्षक सुशान्त प्रधानले सुझाए, "अब जुम्बा गरेर मात्र होइन, अन्य कडा शारीरिक अभ्यास पनि गर्नुपर्छ ।" उनलाई जसरी हुन्छ, शरीर सन्तुलित बनाउनु थियो । त्यही जिम सुरु गरिन्, प्रशिक्षकको 'डाइट प्लान' पछ्याइन् । त्यो भनेको- प्रोटिन धेरै, कार्बोहाइड्रेट र फ्याट कम । ९ महिला बित्यो, कृशाको तौल २७ केजी घट्यो । उनी मुस्कुराउँछिन्, "म त चंगाजस्तै भएँ ।"

अब उनी बाहिरबाट 'राम्री' देखिएकी मात्र थिइनन्, आत्मविश्वास पनि ह्वात्तै बढ्यो । उनको रजस्वला कहिल्यै समयमा हुँदैनथ्यो, कहिलेकाहीँ त ६ महिना नहुने । चिकित्सकलाई देखाइन् । चिकित्सकले भन्ने गर्थे, 'मोटोपनाले हुन सक्छ, अरु समस्या केही छैन ।' नभन्दै रहेछ पनि त्यस्तै, जब ६० किलो आसपास आइन्, नियमित रजस्वला हुन थाल्यो । पेट दुख्न छाड्यो । अल्छीपना हट्यो । भन्छिन्, "म त जे पनि गर्न सक्छु भन्ने आँट आउँदो रहेछ ।"

फिटनेसप्रति कृशाको लगावबाट सुशान्तसमेत प्रभावित भए । कृशाले सिकाउने मात्र थिइनन्, आफैँ उदाहरण बन्न सक्थिन् । सोही कारण सुशान्तले फिटनेस ट्रेनर बन्न कृशालाई हौसला दिए । भन्छिन्, "म आफैँ पनि जिमप्रति ज्यादै नजिक भइसकेकी थिएँ । त्यही भएर पेसाकै रुपमा अपनाउन सहज भयो ।" त्यसपछि सुशान्तसँग मिलेर कमलादीमा द फिजिक वर्कसप खोलिन् । यहाँ दैनिक जुम्बादेखि अन्य शारीरिक अभ्यास सिकाउँछिन् । खानपानको तौरतरिका बताउँछिन् । उनका अनुसार २० देखि ३० वर्ष उमेर समूहका युवकयुवतीको भीड लाग्छ । अधिकांश ज्यान घटाउन आतुर हुन्छन् । कृशा भन्छिन्, "मोटोपनाले गर्भधारणमा पनि समस्या हुँदो रहेछ । त्यही भएर बच्चा जन्माउन तयार मोटी महिला आउँछन् ।" त्यसो त उनी महिला मात्र होइन, पुरुषलाई पनि प्रशिक्षण दिन्छिन् ।

जिमलाई समाजले अझ सकारात्मक रुपमा नलिएको बुझाइ छ, उनको । हामीकहाँ केटा 'सिक्स प्याक' अनि केटीहरु 'जिरो फिगर' बनाउन जिम धाउँछन् भन्ने मान्यता छ । तर जिमको उपयोगिता यत्तिमा सीमित छैन । भन्छिन्, "शारीरिक अभ्यासको सबैभन्दा ठूलो फाइदा भनेकै तन्दुरुस्त हुनु हो, जुन जोकोहीलाई आवश्यक छ ।" अनि, तौल घटाउन मात्र होइन, लुरे ज्यानलाई बलिष्ठ बनाउन पनि जिमको भूमिका हुन्छ । उनको सुझाव छ, "जिममा कडा अभ्यास गरेर मात्र हुन्न, खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।" खाना र व्यायामको सन्तुलन मिलाएरै हो, उनले सन् २०१६ मा नेपालको पहिलो महिला स्क्वाड प्रतियोगिता जितेको । कृशा युट्युबमा पनि सक्रिय छिन् । उनले आफ्नो अफिसियल च्यानलमा फिटनेससम्बन्धी दर्जनौँ भिडियो अपलोड गरेकी छन् ।

फेसबुकलगायत सामाजिक सन्जालमा 'आई एम फ्याट सो ह्वाट ?' अभियान चलेको छ । सुन्दरी प्रतियोगिता हुन्छन् । मोटो भएर हीनताबोध नहुनु प्रशंसनीय हो । तर मोटाइ सुन्दरतासँग मात्र होइन, स्वास्थ्य र आत्मविश्वाससँग जोडिएको हुन्छ । त्यसैले त उनी भन्ने गर्छिन्, "शारीरिक समस्याबाट बच्न र फुर्तिलो हुन पनि मोटाउन नहुने रहेछ । सबैले सधैँ कडा अभ्यास गर्नुपर्दैन । हल्काफुल्का व्यायाम र खानपानमा सचेत भए पुग्छ ।" 

 

प्रकाशित: असार ३, २०७६

ट्याग: रङ