दयाहाङको बर्थ-डे

- कुमार नगरकोटी

वैशाख २०८५ । नयाँ वर्ष, नयाँ दिन ।

दयाहाङको जन्मदिन ।

चिन्ने/जान्नेहरु उनलाई दयालु मनुवा भन्छन् । कतिपय प्रेमी तथा शुभचिन्तक भने उनको नाममा जडिएको 'हाङ' लाई हलाल गरी केवल 'दया' भनी सम्बोधन गर्न रुचाउँछन् ।

नयाँ वर्षको नयाँ दिनमा जन्मेका दयाहाङ नयाँ युगका नयाँ मनुष्य हुन् । आज हामी यिनै मनुष्यको बर्थ-डे सिनोप्सिसलाई नेपाल म्यागजिनको पानामा लिपिबद्ध गर्दै छौँ । त्यस निम्ति मैले पेन्सिल समातिसकेको छु, तपाईंले इरेजर । बढ्तै लेख्न थालेँ भने इरेजर चलाइदिनु होला ।

♦♦♦

सिन्ध्या-बेला । मण्डला थिएटरको आँगन ।

कलाकारहरुको जमघट । राजन खतिवडा, अनुप बराल र सुनील पोखरेलले दयाहाङलाई खादा लगाएर अंकमाल गरे । दीर्घायुको कामना गरे । अरुणा कार्की, सरिता गिरी, सिर्जना सुब्बाले बुके, खोलाको गीत र ओल्ड दरबार ब्ल्याक चिम्नी टक्र्याए ।

गायिका-पत्नी बेनुकाले बर्थ-डे ब्वाईको नाडीमा नयाँ घडी लगाइदिँदै भनिन्, 'फिल्म सुटिङमा निकै व्यस्त हुन थाल्नुभो । घरपरिवारलाई पनि समय दिने गर्नुस् ।' सबैले ताली बजाए । विजय बरालले बार्दलीबाट घन्टी बजाए । सबै जना थिएटर पसे, आसनमा बसे ।

मञ्चमा केक, मैनबत्ती थिए । सोमनाथ खनालले दयाहाङको हातमा रामपुरी चाकु थमाइदिँदै भने, 'दाजु, केक काट्नुस् ।' दयाहाङले चाकु समाउँदै पि्रयजनलाई हेरे । उनको नजर अनुप बरालमा गएर अडियो । कान्छी औँलो ठड्याउदै मिस्टर बरालसित संकोचका साथ भने, 'मे आई गो टु ट्वाइलेट, सर ! मुत्राक्रमण भइगयो ।' बरालले 'यस, यु मे गो' भने । त्यसपछि केक काट्न छाडी दयाहाङ मूत्रप्रदेशतिर लम्किए । मूत्र विसर्जनपछि  धारामा हस्त प्रक्षालन गर्दा दयाहाङको नजर डिजिटल घडीमा पर्‍यो । बन्द रहेछ । नीलो बटन थिचे । समय तीव्र गतिमा घुम्न थालेपछि हतारहतार प्रेक्षालय छिरे ।

भित्रको दृश्य देखेर उनी वाल्ल परिगए । त्यो कुनै राजमहलको शाही कक्षजस्तो देखिन्थ्यो । मञ्चमा सिंहासन थियो । त्यहाँ एक आकर्षक पुरुष राजमुकुट लगाई शान-ओ-शौकतका साथ विराजमान थिए । निजले राजकीय अन्दाजका साथ भने, 'म राजा यलम्बर तिमी दयाहाङलाई राजमहलको यो पाहुना कक्षमा स्वागत गर्दछु । आज विक्रम संवत् १५०१ वैशाख १ मा हामी तिम्रो जन्मदिन मनाउन भेला भएका छौँ । अब वाल्ल नपरी कुनै विलम्ब नगरी केक काट ।'

दयाहाङले केक काटे । सभा भारदारहरुको कर्तल ध्वनिले गुञ्जायमान भयो । राजा यलम्बरले भने, 'दयाहाङ, कला र अभिनयप्रति तिम्रो अटुट श्रद्धा देखेर म निकै प्रसन्न भएको छु । जन्मदिनको उपहार के दिउँ? भन !'

दयाहाङले इच्छा प्रकट गरे, 'योर म्याजेस्टी ! हामीसित जग्गाजमिन छैन । थिएटरलाई निकै गाह्रो छ । जग्गामालिकहरुले हट् भनेपछि सुकुम्बासी बन्नुपर्छ । जग्गा पाए हाम्रो कल्याण हुने थियो, योर म्याजेस्टी ।'

यलम्बर अकस्मात् चिन्तित देखिए । नैराश्यको भावमा भने, 'दयाहाङ ! तिमीले असम्भव कुरा माग्यौ । सहरका जम्मै जग्गाजमिन भू-माफियाहरुले कब्जा गरेका छन् । खोलानाला, गुठी, सडक सबैतिरका जग्गा भू-पापीहरुले हडपिसकेका छन् । के थाहा ! मेरो यही दरबार पनि ती भू-दानवहरुले हत्याइसकेका हुन सक्छन् । यस्तो बेला, तिमीलाई म कसरी जग्गादान गर्न सक्छु ? मलाई कृपया माफ गर । बरु अरु इच्छा के छ, भन ।'

'योर म्याजेस्टी', खिन्न हुँदै दयाहाङले भने, 'हाललाई त ट्वाइलेट जाने इच्छा छ, जाउँ?'

राजा यलम्बरले 'जाऊ तर चाँडै आऊ' भनेपछि दयाहाङ फटाफट मुत्राञ्चलतिर लागे । मुत्रमोचनपछि हात पखाल्दा घडी हेरे, जहाँ समय तीव्र रुपमा घुमिरहेको थियो । उनले पहेँलो बटन थिचेपछि समय स्थिर भयो । उनी अघि बढे ।

♦♦♦

मे आई कम इन सर !' प्रेक्षालयमा दयाहाङको आवाज सुनियो । अनुप बरालले 'यस, कम इन' भन्दै सोधे, 'काँ गा'का थियौ दया ? ट्वाइलेट गा'को मान्छे अन्तै कतै पुग्यौ कि क्या हो ?' दयाहाङ चुपचाप मञ्चमा पुगे । सिलिङबाट चुहिएको स्पटलाइटमा उभिएर भने  :

- सोह्रौं शताब्दीमा पुगेँ सर !

- अच्छा ? कसलाई भेट्यौ ?

- राजा यलम्बरलाई ।

- बर्थ-डे गिफ्ट पनि दिए कि !

दयाहाङ निःशब्द भए । उनको मन एकतमासले उदास भइगयो । यस्तैमा स्पटलाइट झ्याप्प निभ्यो । प्रेक्षालय निस्सीम अन्धकारमा डुब्यो । 

प्रकाशित: असार ३, २०७६