खेल्दाखेल्दै बित्छ जिन्दगी

- सीके लाल

महाभारतबारे प्रचलित उक्ति छ- जे कुरा महाभार तमा छैन, त्यो जीवनमा छैन । त्यस भनाइको विपर्यय पनि सायद उत्तिकै प्रामाणिक ठहरिन सक्छ । जीवनका सबै महफ्वपूर्ण अवयव महाभारतमा समावेश छन् । महाभारतभित्र नाटकीयता छ । घटनाक्रम छ । भावनाबीचको द्वन्द्व छ । उद्वेग, क्रोध, आक्रोश, मित्रता, दुस्मनी, वात्सल्य, प्रेम, करुणा, विछोड एवं वैराग सबै छ । त्यसैले भनिएको होला, नाटक लेख्न चाहनेले बारम्बार महाभारत पढिरहनुपर्छ । हरेक पटक चरित्र चित्रण, संवाद लेखन एवं पटकथा प्रस्तुतिका नयाँ आयाम खुल्छन् । नियति नै मान्नुपर्छ, महाभारत पढ्दै गर्दा गिरीश रघुनाथ कर्नाड -सन् १९३८-२०१९) सबभन्दा धेरै सम्राट ययातिको निर्वहण (डैनुमान) बाट प्रभावित भए । र, त्यस शोकजनक पात्रको नियतिलाई नाटकीकरण नगरी बस्नै सकेनन् ।

महाराष्ट्रमा जन्मेर कर्नाटकमा हुर्के/बढेका कर्नाडले भारतीय रेलवेमा कार्यरत आफ्ना दाजुको कार्यस्थल उत्तर प्रदेशको गोरखपुरमा बसेर मातृभाषा कोंकणी वा कर्मभाषा अंग्रेजीको साटो कन्नडमा ययातिको पौराणिक पात्रलाई पुनर्जीवित तुल्याउन कस्सिए । ययातिको नियतिले अस्तित्ववादको सिद्धान्तसँग साक्षात्कार गराउँछ । परिस्थितिमा नियन्त्रण नभए पनि प्रत्यार्थीले आफ्ना सबै निर्णयको जिम्मेवारी स्वयं वहन गर्नुपर्छ भन्ने विचारलाई ययातिको कथाले सन्दर्भ प्रदान गर्छ । जिम्मेवारीबोधको अवधारणालाई अझ प्रस्ट्याउँदै कर्नाडले एउटा सार्वजनिक व्याख्यानमा त्यसको सही अर्थ उल्लेख गरेका छन् । कर्तव्यको निर्धारण सामाजिक मूल्य, सार्वजनिक मान्यता एवं सांस्कृतिक परम्पराले गरिदिएको हुन्छ । त्यस्तो बोझले व्यक्तिलाई थिच्छ र थिलथिलो बनाउँछ । आफ्नो कर्तव्यभावले गर्दा पात्र निरन्तर दबाबमा रहन्छ । कर्तव्यपरायणता बन्धन हो । जिम्मेवारीले भने अलिक भिन्न अनुक्रिया उत्पन्न गराउँछ । पात्रले आफ्नो अध्ययन एवं अनुभवको आलोकमा कस्तो परिस्थितिमा के गर्न हुने/नहुने हो भन्ने निर्णय स्वविवेकले गर्छ । निर्णयको प्रभाव मूल्यांकनबाट नैतिकताका मापदण्ड बन्छन् । कर्तव्यको उत्तरदायित्व परिवार, समाज वा राज्यप्रति हुन्छ भने जिम्मेवारीको जवाफदेहिता स्वयं पात्रको अन्तर्अात्माप्रति मात्रै हो । ययातिको शोकमय पात्रमार्फत कर्नाड जीवनका असमञ्जसलाई उजागर गर्छन् ।

समसामयिक विश्वमा वैज्ञानिकताको बोलवालाले  उत्प्रेरक, उद्देश्य, तैयारी, कर्ता, सहयोगी, काम, परिणाम, मूल्यांकन एवं लक्ष्यको संशोधन गर्ने आव्यूह (मैटि्रक्स) बाट मानव जीवनसमेत मुक्त छैन भन्ने धारणा व्याप्त हुँदै गइरहेको छ । तर आकस्मिकता वा संयोगले गर्दा कर्ता, कर्म एवं परिणामको रैखिक (लिनियर) प्रक्रियामा घुमाव आउँछ । ऐँठन उत्पन्न हुन्छ । विज्ञानका अस्त्र प्रयोग गरेर कारण एवं प्रभावको अध्ययन सम्भव छ । संयोग, आकस्मिकता एवं अनपेक्षित परिणामका विभिन्न आयामको प्रस्तुतीकरण कलामा मात्र सम्भव छ । त्यसैले भनिएको होला, विज्ञान तथ्यबाट परिमार्जित भएर सत्यतिर लाग्यो भने त्यो कला बन्न पुग्छ । कर्नाडको आकस्मिकतासँग समागम उनी उदरस्थ हुँदै सुरु भइसकेको थियो । उनले त्यो प्रसंग बच्चा छँदा आफ्नै आमाको मुखबाट सुनेका अरे । बालक गिरीशकी आमा प्रशिक्षित स्वास्थ्यकर्मी थिइन् । उनलाई अर्को बच्चा जन्माउन मन थिएन । गर्भपतनका लागि कुनै चिकित्सककहाँ गइन् । चिकित्सालयमा भीड थियो । घर फर्केपछि उनको मन बदलियो । र, यसप्रकार भारतीय समाज एउटा प्रयोगधर्मी संस्कृतिकर्मीको भ्रुण हत्याबाट जोगियो । त्यसपछिका घटनाक्रम पनि संयोगले ओतप्रोत छन् ।

औपनिवेशिक भारतको चिकित्सक परिवारमा जन्मिएका कर्नाड स्वतन्त्रताको हावामा हुर्किन पाए । बि्रटिस भारतको विभाजन, हिन्दुवादीद्वारा महात्मा गान्धीको हत्या एवं राजनीतिक अस्थिरताका बाबजुद सन् १९५० दक्षिण एसियामा सपना देख्ने दशक थियो । युवा कर्नाड अंग्रेजी भाषाका कवि बन्न चाहन्थे । उच्चाध्यनका लागि बेलायत पुगेका थिए । अक्सफोर्डमा दर्शनशास्त्र, अर्थशास्त्र एवं राजनीति पढे । पढ्नेले व्यावहारिक अभ्यास गर्न पनि प्रयत्न गरिरहनुपर्छ भन्ने आत्मानुभूतिले होला, अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको विद्यार्थी संगठनका सम्भवतः सबभन्दा पहिला एसियाली अध्यक्ष पनि भए । हुटहुटीचाहिँ भारत फर्केरै 'केही गरौँ' भन्ने थियो । कवि हुन सकेका थिएनन् । तर प्रेम एवं विछोडमा लेखिएका कवितालाई नाटकमा भने प्रयोग गर्न छुटाएनन् । तीव्र मनोभावलाई शान्तचित्तले संग्रह गरियो भने कविता बन्छ भन्ने भनाइ छ । सन् १९६० को अन्त्यतिर भारतीय समाज सुस्तरी आशाभंगको अवस्थामा पुगिसकेको थियो । अमेरिकी गहुँ आयात गरेर भोकमरी मेटाउनुपर्ने स्थिति, भारत-चीन युद्धको अवमानना, जवाहरलाल नेहरुको निधन एवं लालबहादुर शास्त्रीको छोटो कार्यावधिका जटिलतालाई कविताको प्रशोधित विवेकभन्दा पनि गीत, संगीत, चलचित्र, पत्रकारिता एवं नाटकको अकृत्रिम अभिव्यक्ति चाहिएको थियो । प्रश्न गर्ने समय थियो । उत्तर त समयले मात्रै दिन सक्थ्यो ।

भारतमा हिन्दीपछि सबभन्दा धेरै ज्ञानपीठ पुरस्कार जित्ने भाषा कन्नड त्यसै भएको होइन । त्यहाँ बसभन्नाका वचन एवं वाचन साहित्यको परम्परा छ । यक्षगानमा जननाटकको शैली प्रचलित छ । सन् १९७३ मा राज्यको नाम मैसुरबाट कणर्ाटक भयो । त्यसका पछाडि पनि एक किसिमको कन्नड पुनर्जागरणको इतिहास थियो । त्यो कला एवं साहित्यको ' नव्य' धारासँग जोडिएको थियो । राजधानी बैंगलोर (अब बेंगलुरु) बहुविधामा क्रियाशील कलाधर्मीको अखडा थियो । अंग्रेजी पढेर कन्नड भाषामा क्रियाशील पी लंकेश (सन् १९३५-२०००) कथा, कविता, नाटक एवं पटकथा लेख्ने, अनुवाद आदि गर्थे एवं फिल्म निर्देशक थिए । प्रसिद्धि भने उनलाई समाजवादी प्रकाशन 'लंकेश पत्रिके' ले दियो । जुझारु संस्कृतिकर्मी एवं 'नव्य' आन्दोलनका प्रणेता यूआर अनन्तमूर्तिको (सन् १९३२-२०१४) लेखनले प्रतिरोधको स्वरलाई मुखरित गरिरहेको थियो । इन्दिरा गान्धीद्वारा आन्तरिक संकटकाल घोषणापछि भने आधारभूत मानवीय स्वतन्त्रताका पक्षधरलाई तिनका वैचारिक मतभिन्नताका बाबजुद एउटै मञ्चमा उभ्याएको थियो । त्यसै बखत पुनाको प्रतिष्ठित फिल्म एन्ड टेलिभिजन इन्स्िटच्युटको निर्देशक पदबाट राजीनामा दिएर कर्नाड अभिव्यक्ति स्वतन्त्रताको निरन्तर संघर्षमा सशरीर पुनः सामेल भएका थिए ।

सही योद्धाको लेखाजोखा प्राप्त गरिएका पदकबाट हुँदैन, युद्धमैदानमा दर्शाइएको आँट एवं पराक्रमबाट हुन्छ । रंगकर्मी एवं संस्कृतिधर्मीका रुपमा कर्नाडका उपलब्धि उल्लेख्य छन्, तर पर्याप्त छैनन् । संगीत नाटक अकादमी पुरस्कार, कन्नड साहित्य अकादमी पुरस्कार, कालिदास सम्मान, पद्मश्री एवं पद्मविभूषणजस्ता भारतका कतिपय सार्वजनिक सम्मान पाएका भए पनि उनको प्रसिद्धिको आकलन नाटकप्रेमी कन्नड दर्शकका बीच मात्र देख्न सकिन्थ्यो । सायद त्यही प्रेम एवं सम्मानले उनलाई आजीवन क्रियाशील रहन मद्दत पुर्‍यायो । नाटकमा उति साह्रो रुचि नहुनेहरु कर्नाडलाई फिल्मकर्मीका रुपमा पनि सम्झन्छन् । अनन्तमूर्तिको उपन्यासमा आधारित 'संस्कार' फिल्ममा उनको भूमिकालाई समीक्षकले कालजयी ठहर्‍याएका छन् । सन् १९७० को दशकका कलात्मक फिल्म 'स्वामी', 'निशान्त' एवं 'मन्थन' बाट उनको क्षमता प्रदर्शित भयो । ' गोधूलि' उनले स्वयं निर्देशन गरे । उनका सम्पूर्ण कृतिको तालिका जबर्दस्त छँदै छ, तिनको संक्षेपीकरण पनि उपयुक्त हुँदैन । भीएस नयपालले कतै भनेका छन्- एउटा वाक्यले एक मात्र अर्थ दिन्छ भने त्यो सूचना हो, साहित्यमा त प्रत्येक शब्दले एकभन्दा बढी अभिप्रायः बोक्न सक्नुपर्छ । एउटा मात्र अर्थ दिने सन्देशको पनि आफ्नै महफ्व छ, तर कर्नाडका पात्रले बोल्ने संवादले एकसाथ त्यस चरित्रको विगत, आगत एवं वर्तमान व्यक्त गरिरहेका हुन्छन् । नाटक पढ्नै नसकिने होइन, तर त्यस कथाले मञ्चनमा पूर्णता कहिल्यै पाउँदैन ।

व्यक्तिगत सुरक्षा वा सुविधाका लागि विवादबाट सकभर जोगिने प्रवृत्ति विद्वान् एवं बुद्धिजीवीमा हुन्छ । स्रष्टा एवं कलाकार बोल्नुअगाडि तराजु लिएर लाभहानिको हिसाबकिताब गर्दैनन् । मृत्युदण्डका विरोधी मराठी नाटककार विजय तेण्डुलकरले आफूसँग बन्दुक भए गुजरात नरसंहारका लागि जिम्मेवार त्यहाँका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई गोली हान्ने थिएँ भन्दै आक्रोश व्यक्त गरेका थिए । छुट्टनि पाउने कास्मिरीको अधिकारको पक्षमा वक्तव्य दिएका कारण अरुन्धती रोयले देशद्रोहको मुद्दा खेप्नुपरेको थियो । बाबरी मस्जिदको ध्वंशदेखि नै कर्नाड हिन्दुत्ववादको विपक्षमा दरोसँग उभिन थालेका थिए । अनन्तमूर्ति जतिको क्रियाशील हुन नसकेका भए पनि 'सर्व धर्म समभाव' सिद्धान्तबाट कर्नाड कहिल्यै विचलित भएनन् । सलमान खानको नामबाट चिनिने टाइगर जिन्दा है फिल्ममा एउटा प्रमुख पात्रले नाकमा लगाएको अक्सिजन पाइप निर्देशकको कल्पना नभएर कलाकार कर्नाडको शारीरिक अवस्थाले उत्पन्न भएको थियो । त्यस्तै पाइप एवं सुवाह्य अक्सिजन ट्यांकी बोकेर उनी बेंगलुरुका प्रतिरोध सभाहरुमा उपस्थित हुन्थे । उत्तरी भारतमा गोमांसको बहानामा भीड अपहनन (मब लिन्चिङ) हुँदा उनको घाँटीमा 'नाट इन माई नेम' लेखिएको वक्तव्य पट्टा झुन्डिएको हुन्थ्यो । विसम्मतिलाई तिरस्कार र उपेक्षा गर्नेलाई चुनौती दिन उनी आफ्नो अस्वस्थताका बाबजुद घाँटीमा 'मी टू अर्वन नक्सल' वक्तव्य पट्टा झुन्ड्याएर प्रतिरोध भेलामा उपस्थित हुन्थे ।

भारतका हिन्दुत्ववादीहरुको भाषामा भन्ने हो भने कर्नाड पनि 'टुकडे टुकडे गैंग' सँग जोडिएका थिए । पढेलेखेका थिए, त्यसैले 'खान मार्केट गैंग' का हुने नै भए । म 'अरबन नक्सल' हुँ पनि भनेकै हुन् । समाजवादी सम्भ्रान्तसँग हिमचिम थियो । त्यसैले उनलाई 'लटियन्स कबाल' भन्न पनि मिल्छ । तर उनी जे थिए, त्यस्ता जुझारुहरुको आवश्यकता हिन्दुत्ववादी वर्चस्वको भारतमा आउँदा दिनमा खट्किने निश्चित छ । पुस्तान्तरले व्यक्तिगत मित्रतामा केही फरक पर्दैन । लेखक पिता पी लंकेशका साथी कर्नाडका पत्रकार पुत्री गौरी लंकेशसँग पनि उत्तिकै घनिष्ठता थियो । हिन्दुत्ववादीहरुले गौरी लंकेशको हत्या गरेपछि फेला परेको 'हिट लिस्ट' मा कर्नाडको नाम दुई नम्बरमा थियो । नियतिले त्यसअगावै उनलाई आफ्नो सपना छिन्नभिन्न हुन लागेको समयको साक्षी बन्नुपर्ने बाध्यताबाट मुक्त गरिदियो । नियति नै मान्नुपर्छ, उनले आजीवन आलोचना गरेका नरेन्द्र मोदीलगायतका हिन्दुत्ववादी उनलाई श्रद्धाञ्जली अर्पण गरेर 'महान्' बन्ने प्रतिस्पर्धामा छन् । अन्त्येष्टिका लागि फूल नचुाडाइयोस् भन्ने सार्वजनिक आकांक्षा देखाएका रंगकर्मीका लागि कर्नाटक सरकारले तीन दिन शोक मनायो र एक दिनको सार्वजनिक बिदा नै घोषणा गर्‍यो । आदर्शलाई आलोचकका ढुंगामुढाभन्दा पनि अनुयायीका पुष्पको बोझले थिच्ने रहेछ । दक्षिण भारतमा कर्नाटक हिन्दुत्ववादीको प्रवेशबिन्दु सावित हुने क्रममा छ । प्रतिरोधको स्वर मुखर गर्ने एउटा प्रभावशाली आवाज यस्तै बेलामा सदाका लागि बन्द भएको छ ।

भारत बदलिँदै छ । गान्धी र नेहरुको दानवीकरण एवं नाथुराम गोड्सेको देवत्वकरणले सामाजिक मान्यता पाउने क्रममा छ । कर्नाडले सायद भारतमा फैलिँदै गएको अँध्यारोलाई पनि रंगमञ्चको पृष्ठभूमिका रुपमा लिन्थे होला । संसार रंगमञ्च हो भने भोलि अर्को नाटक मञ्चन हुनेछ । अरु पात्र आउनेछन् । खेल्दाखेल्दै बित्दछ जिन्दगानी गिरीश कर्नाडको कन्नड भाषामा लेखिएको संस्मरणको पहिलो भागको भावानुवाद हो । अंग्रेजीका ज्ञाता भए पनि उनी आफ्नो संस्मरणलाई कन्नडमै राखिराख्न रुचाएका थिए । मातृभाषा एवं कर्मभाषा सँगसँगै भावभाषासँगको लगाव पनि टुट्नै नसक्ने किसिमको हुँदो रहेछ । बेंगलुरुको सही अर्थ 'घिरौँलाको सहर' हो वा 'उमालिएको सिमीको बस्ती' भन्ने बहसलाई निरर्थक नठहर्‍याउने संस्कृतिधर्मी क्रियाशील रहिरहेसम्म प्रविधितन्त्रले नागरिक चेतनालाई बन्दी बनाउन सक्ने छैन । 

प्रकाशित: असार ३, २०७६