आरोहीको मृत्युले छुँदैन सरकारलाई

- जाङ्बु शेर्पा

मुलुकमा आरोहणको मौसम समापन भएको छ । सर्वोच्च शिखरमा पाइला चालेकाहरू सर्वोच्च खुसी लिएर घर फिर्ता भइरहेका छन् । सगरमाथामै बिलाएकाहरू भने सम्झना बनेर फर्किएका छन् ।

आँसु र हाँसोको संगममा यो चर्चा केही समयसम्म मात्र रहन्छ । त्यसपछि भने हिउँ पग्लेजस्तै बिलाउँछ । अर्थात्, मौसमी खेती भनिने आरोहणको चर्चा पनि मौसमी नै हुने गर्छ । यस्तो चर्चाका लागि पुनः अर्को वसन्त ऋतु कुर्नुको विकल्प छैन ।

पाँच वर्षअघि महाभूकम्पले झन्डै एक दर्जनभन्दा बढी पर्वतारोहीको मृत्यु भयो । भूकम्प आउनु एक वर्षअघि झन्डै १६ जना शेर्पा हिमपहिरोमा पुरिए । पर्वतारोहण इतिहासमा कालो वर्षका रूपमा कोरिएको उक्त दुर्घटनापछि सरकार, एक्सपिडिसन टिमका व्यवस्थापक तथा हिम शेर्पाबीच भएको एक साता लामो आन्तरिक र बाह्य बहस–छलफलपछि सगरमाथा आरोहण नै स्थगन गरिएको थियो ।

तत्कालीन अवस्थामा सरकारबाट कम्तीमा पर्वतारोहीको सुरक्षा नीतिमा केही आशा साँचे पनि यो वसन्तसम्म खासै परिवर्तन आएको छैन । र, उनीहरूको जिन्दगी उही पुरानै लयमा गुडिरहेको छ । मृत्युजस्तो विषयमा संवेदनशील बन्नुको सट्टा उल्टै रुपैयाँको डालोमा हालेको भन्दै तत्कालीन सरकारको आलोचनासमेत भएको थियो ।

शेर्पा समुदाय त्यतिखेर खिन्न भयो, जब सरकारले मृतकका परिवारलाई निकै न्यून अर्थात् ४० हजार रुपैयाँ दिने घोषणा गर्‍यो । उतिखेरै पर्वतारोहीले सरकारी अधिकारीहरूले एक साँझमा सक्ने रकम पर्वतारोहीको ज्यानसँग तुलना गरेकामा चित्त दुखाए । सायद त्यसपछि पर्वतारोही र पर्वतारोहणको कतिपय गम्भीर विषयले न मूलधारे सञ्चार माध्यममा प्रवेश पायो, न त सरकारी नीति निर्माणको विषयभित्रै पर्‍यो । संवेदनशील भए पनि पर्वतारोही र पर्वतारोहणको विषय चर्चामा छाउन कुनै न कुनै मृत्युको समाचार बन्नैपर्छ ।

लगभग त्यस्तै भयो यस पटक । प्रसंग, आरोहणको मौसम समापनसँगै सर्वोच्च शिखरमा पाइला टेक्न आतुर आरोहीहरूको नागबेली लाइनको तस्बिरलाई ट्राफिक जामको संज्ञा दिँदै विश्वभर भाइरल बन्यो । विशेषतः विदेशी सञ्चार माध्यममा अझै पनि छाइरहेका छन् । कारण यसै वर्ष सगरमाथामा भएको ६ जनाको मृत्युलाई उक्त भाइरल तस्बिर जोडेर विदेशी सञ्चार माध्यमले व्यापक आलोचना गरे ।

यसै वर्ष चौथो पटक सगरमाथामा पाइला टेकेका पासाङ दाबा शेर्पा शिखर नजिकको उक्त आरोहीको चापलाई ट्राफिक जामभन्दा पनि बढी मौसमी अनुकूलतासँग तुलना गर्छन् । उनका अनुसार हिमालको मौसम छिनछिनमै बदलिइरहन्छ । तुषारो र हिमपहिरोले उत्तिकै सताउँछ । अर्कोतिर विदशी आरोही सरकारलाई करोडौँ रकम बुझाएर सर्वोच्च शिखर टेक्ने आशमा आइरहेका हुन्छन् । त्यसैले पनि मौसम अनुकूल हुनासाथ आरोही शिखर चुम्न हतारिन्छन् । त्यस्तो अवस्थामा गर या मरको स्थिति सिर्जना हुन्छ ।

यसै पटक सगरमाथा आरोहण गरेका अर्का आरोही पेमा तेन्जिङ शेर्पा भने सञ्चार माध्यममा आएजस्तै ट्राफिक जामकै कारण विदेशी पर्यटकको मृत्यु भएको तर्क अस्वीकार गर्छन् । भन्छन्, “यस पटक अधिकांश मृत्यु शरीर र उचाइको सन्तुलन नमिलेर भएको हो । बाहिरी विश्लेषण र हिमाल आरोहण भित्री कथा बिलकुल फरक हुन्छ ।”

कतिपय विदेशी पर्वतारोहीले भने सरकारले सगरमाथामाथि व्यापार गर्न खोजेको आरोप लगाएका छन् । धेरै आरोहीलाई एकै पटक आरोहण अनुमति दिँदा सर्वोच्च शिखरजस्तो संवेदनशील ठाउँमा पर्वतारोहीको ज्यान जोखिममा पर्ने उनीहरूको तर्क छ । हाल अमेरिकामा रहेका अर्का सगरमाथा आरोही ल्हाक्पा शेर्पा हिमाल आरोहण मौसमी अनुमानमा भर पर्नुपर्ने भएकाले विशेषतः बिहानीपख शिखरतिर लम्कने आरोहीको चाप बढेको सुनाउँछन् ।

हुन पनि यो वसन्त ऋतुमा झन्डै ६ सय आरोहीले सर्वोच्च शिखरमा पाइला टेकेका छन्, जुन सगरमाथा आरोहणको ६७ वर्षे इतिहासमै उच्च हो । सरकारले आरोहण दस्तुरका रूपमा करिब ५० करोडभन्दा माथि राजस्व संकलन गरेको छ । पर्वतारोहीका अनुसार उक्त राजस्व एकदमै कम अंश मात्र हिमाली संरचनामा खर्च हुन्छ ।

सगरमाथा आरोहणमा बढ्दो चापसँगै विस्तार हुँदै गएको फोहोरमैला व्यवस्थापन गर्न कम्तीमा २ वर्ष आरोहणमा प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि बिस्तारै उठ्न थालेको छ । यद्यपि आरोहण स्थगन गर्दा वर्षको तीन महिना हिमाल आरोहणको आडमा बाँचेका शेर्पा आरोहीको पेसामा भने पूर्णविराम लाग्छ ।

अमेरिकी म्यागजिन आउटसाइडका वरिष्ठ सम्पादक ग्रेइसन स्काफरका विचारमा नेपालले सगरमाथा आरोहणलाई किन पनि निरन्तरता दिनु आवश्यक छ भने यो पयर्टन उद्योगकै कोसेढुंगा हो र विदेशी मुद्रा आर्जन गर्ने बाटो पनि । कथंकदाचित नेपालतर्फबाट प्रतिबन्ध लागे पनि तिब्बती मोहडा खुला हुने भएकाले सगरमाथामा आरोहण भने भइरहन्छ । यसर्थ राज्यले सगरमाथालाई व्यापारिकभन्दा बढी व्यवस्थापन पक्षलाई गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

विदेशी पर्वतारोहीलाई हिमाल आकर्षण गर्नुपूर्व नेपालको हिमाल आफैँमा कति आकर्षित छ भन्ने हेक्का राख्नुपर्छ । यसका निम्ति खतरा र जीवनयापनबीचको अप्ठेरो वा तालमेलबारे अनुगमन गर्ने संयन्त्र अझैसम्म बनेको छैन । हिमाल वरपरको वातावरणीय प्रभाव एवं हिमाली क्षेत्रको फोहोरमैला व्यवस्थापनलाई लिएर अहिलेसम्म अनुगमन गरिएको छैन ।

अहिलेसम्मको तथ्यांक केलाउँदा पनि स्वदेशी तथा विदेशी गरी ६ हजारभन्दा बढीले सगमाथाको सफल आरोहण गरिसकेका छन् भने ३ सयभन्दा बढीको आरोहणका क्रममा मृत्यु भइसकेको छ । एक दर्जनभन्दा बढीको मृत्यु ८ हजार मिटर उचाइभन्दा माथि भएको तथ्यांकले देखाउँछ ।

पर्वतारोहीका अनुसार ८ हजार मिटरभन्दा माथि मृत्यु भएकाहरूको शव ल्याउन कठिन भएका कारण हिमालमै छाडिन्छन् । यस वर्ष मात्र पर्यटन विभागको समन्वयमा सफाइका क्रममा चार शव राजधानी पुर्‍याइएको छ भने ८ हजार मिटरभन्दा माथि बेपत्ता एक आइरिस नागरिक र भारतीय महिलाको शव भने सगरमाथामै अड्किरहेको छ । त्यसैले विशेषतः आरोहण उत्कर्षको समयमा आधार शिविरभन्दा माथिका मलमूत्रलाई ल्याउन कडाइ तथा शव व्यवस्थापन गर्न सके कम्तीमा सर्वोच्च शिखरको सौन्दर्यमा दाग लाग्दैन ।

शेर्पा आरोहीको पीडा त आफ्नो ठाउँमा छँदै छ । झन्डै २२ वर्षदेखि शेर्पाहरूले प्राप्त गर्ने रकमकलम वृद्धि भएको छैन । जबकि आरोहीले प्रयोग गर्ने उपकरण र सामग्रीको दाम भने यो अवधिमा कैयौँ गुणाले बढिसकेको छ । कम्तीमा सरदर ५० लाख डलर रोयल्टी बटुल्ने सरकारले ती पर्वतारोहीको हालत र दुःखलाई न कहिल्यै नियालेको छ, न त कहिल्यै सुन्ने प्रयास गरेको छ । जस्तो, लगभग २० वर्ष आइसफल डाक्टर अर्थात् सगरमाथा आरोहणपूर्व मार्गनिर्माणका रूपमा कार्यरत ६१ वर्षीय आङ्कामी शेर्पाले यस वर्षदेखि आइसफल डाक्टरबाट सन्न्यास लिएका छन् । सन्न्यासछि उनका भावी दिन पुनः पथप्रदर्शकका रूपमा काम गरेर जीवन गुजारा चलाउनुपर्ने बाध्यता छ । हिमाल आरोहणभित्र पनि सामाजिक सुरक्षामा ध्यान दिनुपर्छ भन्ने विषय सरकारले खासै महसुस गरेको देखिँदैन ।

सगरमाथाको प्रारम्भिक अवस्थामा आरोहण मार्ग तय गर्ने शेर्पाका अनुसार पनि उनीहरूले सिजनमा ३ देखि ५ हजार डलरसम्म कमाउँछन् । यस प्रकृतिको खतरनाक कार्यमा यति पैसा भनेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्यन्त कम पारिश्रमिक हो । खतराजन्य कामको हिसाबले मात्रै होइन, मुलुकभित्रको महँगीको तुलनामा हिमकर्मीहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् ।

विशेषतः हिमाल आरोहणमा ज्यान जोखिम मोल्नुपर्ने ती आरोहीबारे न राज्यसँग, न त त्यसमा संलग्न व्यापार व्यवसायीसँग दूरदर्शी नीति छ । त्यसबाट प्राप्त हुने रोयल्टी बाँडफाँट, त्यस सँगसँगै आश्रित व्यापार र व्यावसायिकताबारे पनि चर्को मौनता छ । वास्तविक कर्मीहरूको ज्यान जोखिममा पर्दा उनका परिवारको लालनपालन, शिक्षादीक्षाबारे पनि कुनै योजना छैनन् ।

पर्वतारोही सम्बन्धमा सरकारी नीति स्पष्ट नभएकै कारण बिस्तारै हिमालबाट शेर्पा टाढिँदै छन् । अधिकांश कीर्तिमानी आरोही पलायनसमेत भइसकेका छन् । अमेरिकामा मात्र दुई दर्जनभन्दा बढी पर्वतारोही आइसकेका छन् । कीर्तिमानी पर्वतारोही कामीरिताको शेर्पाको भनाइ विश्लेषण गर्ने हो भने आरोहण मौसम आरम्भ हुनुपूर्व कम्पनीहरू शेर्पा आरोही खोज्न गाउँतिर भौँतारिनुपर्ने अवस्था आइसकेको छ ।

प्रकाशित: असार २, २०७६