एक गोरुको मेलो

- शब्द/तस्बिरः राजबहादुर शाही

पाखो जग्गा होस् या रोपनी खेतमा बराबर उचाइका दुई गोरु जोतेर अन्नबाली लगाउने चलन छ जतासुकै । तर मुगु पूर्वी भेगको आदिवासी जनजाति मुख्य बाहुल्य मुगम कार्मारोङ गाउँपालिकाको माग्री, मह, रिउस, पुलु, किम्री, दाउरा, ताखा, खारी, पुवा, किर्मी, डोल्फुलगायत गाउँबस्तीका किसान एकल गोरु जोतेर बाली लगाउँछन् ।

यस भेगमा गोरुको नाकमा डोरी लगाएर अगाडि एक जनाले तान्ने र पछाडि हलो जोतिन्छ । गोरुको काँधमा काठ राख्ने र उक्त काठको दुवै टुप्पोमा डोरी बाँधेर पछाडि हलोमा अड्काइन्छ । गोरुको नाकको टुप्पोमा राखिएको डोरी बच्चालाई तान्न लगाएर तन्नेरीले हलो जोत्ने यहाँको चलन अनौठो छ । डोरीले तान्दा नाक दुख्ने भएकाले गोरु जग्गाछेउ वरपर पुग्दै फर्किने गर्छन् ।

अन्नबाली छर्ने समय बच्चालाई पढाइ छाडेरै गोरु तान्न लैजान्छन् किसान । गोरुको नाकमा डोरी लगाएरै एक जनाले मात्र हलो जोत्ने पनि भेटिन्छन् । भिरालो जमिन, बलौटे माटो, साँघुरो गरा भएकाले दुइटा गोरु अटाउन नसक्ने माग्री गाउँका सोनाम तोर्ची तामाङ बताउँछन् ।

दुइटा गोरु जोत्दा साँघुरो जग्गामा फर्काउन अप्ठेरो हुने, गोरु भीरमा लड्ने डर अनि गरिबीका कारण पनि दुई गोरु किनेर जोत्न नसक्ने अवस्थाले एक गोरुले खेतीपाती लगाउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

माग्री, मह, रिउस गाउँलेले स्थानीय प्रजातिको एक गोरुलाई ८ देखि १० वर्षसम्म जोताउाछन् । माथिल्लो बस्ती किम्री, रिउस, पुवा, ताखा, खारी, दाउरालगायतका स्थानीयले एउटा चौँरीको झोवा (भाले) जोतेर अन्न लगाउने चलन छ । “एक गोरुको मूल्य १८ हजारभन्दा बढी पर्छ भने झोवाको ६० हजारसम्म । त्यसैले घरमा गोरु र झोवा नपाल्ने स्थानीयलाई किनेर खेती लगाउन मुस्किल छ,” रिउस गाउँका ग्याल्जन तामाङ भन्छन् ।

मुगम कार्मारोङ गाउँपालिकाका आदिवासी जनजातिले परम्परादेखि एक गोरु जोतेर कोदो, उवा, कागुनो, फापर, आलु, सिमी बाली लगाउँदै आएको चलनलाई अहिलेका युवा पुस्ताले पनि भरथेग गरेको रिउस प्राविका शिक्षक सीपी लामा सुनाउँछन् ।

माथिल्लो मुगु गाउँका स्थानीयले भने अन्नबाली लगाउन गोरु नै प्रयोग गर्दैनन् । गरा साँघुरो भएकाले एउटाले हलो तान्ने र अर्कोले आलु, उवा बाली लगाउने चलन पनि छ । “तल्लो भेगतिर एक गोरु जोतेर बाली लगाउँछन् । यहाँ हामी मान्छे नै गोरु बनेर जग्गा खनजोत गर्छौं,” मुगु गाउँका टासी छिरिङ तामाङ भन्छन् । डोल्फु गाउँमा पनि भिरालो जमिन भएकाले गोरुको सट्टा मान्छेले नै हलो तान्छन् ।

मुगम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाका अनुसार करिब १ हजार ३ सय घरधुरी र ६ हजार जनसंख्या रहेको गाउँपालिकाभरि २ हजार २ सय ४१ वर्गकिलोमिटर जमिनमध्ये २ सय हेक्टरमा मात्र अन्न उत्पादन हुन्छ । एक गोरु जोतेर उत्पादन गरेको अन्नले ६ महिना पनि खाना नपुग्ने उनको भनाइ छ ।

मुगु र डोल्फुमा वर्षको एक बाली आलु, नाफ मात्र फल्ने गरेको छ । माग्री, मह, रिउस, पुवा, सेरोक, ताखा, खारी, किम्रीमा भने कोदो, कागुनो, चिनो, फापर, आलु र सिमी उत्पादन हुने गर्छ ।

हिमाली बस्ती, भिरालो जमिन, सिँचाइ अभावले धान र गहुँ उत्पादन नहुँदा स्थानीयले बाहिरबाट किनेर लैजाने गर्छन् ।

परिश्रम गर्दा पनि अन्न उत्पादन नहुँदा छाक टार्न मुस्किल हुन थालेपछि अधिकांश स्थानीय जन्मथलो छाडेर जुम्ला, गमगढी, भारत, काठमाडौँतिर झरेका छन् ।

डोल्फुपारिको १७ घरधुरीको वाङरी गाउँका स्थानीय थातथलो छाडेर जिल्लाबाहिर गएपछि यतिबेला उक्त गाउँ मानवविहीन भएको छ । “तिब्बतका व्यापारीले जडीबुटी किनेर दिने पैसाले मुगम, कार्मारोङ गाउँपालिकाका स्थानीयले जीवन धानिरहेका छन्,” प्रदेश सभासद् झोवा विक भन्छिन् । एकातिर प्रकृतिले ठगेको र अर्कोतिर राज्यको नजर नपर्दा स्थानीयलाई जीवन धान्न कठिनाइ भइरहेको विकको गुनासो छ ।

प्रकाशित: असार १, २०७६