गम्बुट रोजगारी

- लक्ष्मण गाम्नागे

प्रधानमन्त्री रोजगार कार्यत्रम गाउँगाउँमा गएछ । केही स्थानीय निकायमा यो कार्यक्रम सुरु भइसकेछ, केहीमा तयारी हुँदै रहेछ, बाँकीमा पनि लागू होला नै । कतिपय स्थानीय निकायले बेरोजगारलाई दिने औजार र उपकरण खरिद गरिसकेछन् । राता हेलमेट, पहेँला ज्याकेट, सेफ्टीबेल्ट, गम्बुट, चस्मा, पन्जा, कोदालो, फरुवा, खुकुरी, हँसिया, कुटो, झ्याम्पल, गैँती, गुलेली, मट्यांग्रा, मुसा समात्ने धराप, माछा मार्ने जाली, बल्छी, डोको नाम्लो इत्यादि । ती निकायमा कामको पहिचान हुन मात्रै बाँकी रहेछ । कामको टुंगो नलागेर ढिलो हुँदा बजेट फ्रिज हुने डर भएकाले उनीहरुले बजेटको ठूलो हिस्सा उपकरण खरिदमा खर्च गरेर बुद्धि पुर्‍याएछन् ।

केही–केही गाउँमा त यस कार्यक्रमअन्तर्गत बेरोजगारलाई कृषि कार्यमा खटाई पनि सकिएछ । गम्बुट, ज्याकेट, हेल्मेट र काँधमा साबेल बोकेका नवरोजगारको बटालियन चौरमा लामबद्ध भएर कमान्डरको निर्देशन लिँदै गरेका दृश्य हामीले देखिसक्यौँ । ती आधुनिक कृषकले साबेलले मकै गोडेर सोत्तर बनाएका सेल्फी तस्बिर पनि सामाजिक सन्जालमा भाइरल भइसके ।

बेरोजगारलाई के काम दिने भनेर स्थानीय निकाय अलमलमा पर्नुपर्दैन । मकै गोड्ने रोजगारीजस्तै हाम्रा गाउँघरमा कति छन् कति रोजगारीका अवसर । खेत जोत्ने, बाउसे गर्ने, रोपाइँ गर्ने, दाइँ गर्ने, ढिकी जाँतो गर्ने, घाँस काट्ने, भकारो सोहोर्ने, गाईवस्तु हेर्ने, बाँदर लखेट्ने, स्याल धपाउने, कुवा सफा गर्ने, पर्खाल लगाउने, गाउँपालिका वा नगरपालिक ामा बगैँचा बनाउने, नगरपालिकाका सवारी साधन सफाइ गर्ने, स्कुलका चौर बढार्ने, सडकको धूलो उठाउने, वृक्षारोपण गर्ने, खानेपानीका मुहान सफा गर्ने आदि । गाउँघरमा ठूल्ठूला नेता वा मन्त्रीहरुको सवारी हुँदा स्वागतद्वार बनाउने, माला गाँस्ने, मन्त्रीहरुका गाडी हिलामा फसे भने तान्ने, ठेल्ने, खोलाले बगायो भने निकाल्ने काम पनि त्यहाँ परिरहन्छ ।

झलक्क हेर्दा यस्ता काम त गाउँघरमा सधैँ भइआएकै छन्, के नौलो भयो भन्ने प्रश्न उठ्ला, तर त्यसो भनेर हुँदैन । पहिला र अहिलेमा ठूलो फरक छ । पहिला मानिस बिनातलब काम गर्थे, रोजगार कार्यक्रमअन्तर्गत काम गर्नेहरुले तलबमा ती काम गर्नेछन् । परम्परावादी श्रमजीवी टुपी च्यातिएको टोपी लगाएर वा नांगै तालु घाममा पिल्सिँदै काम गर्थे, आधुनिक कामदारले हेल्मेट लगाएर गर्नेछन् । परम्परागत खेतीमा कृषक खाली खुट्टा खेतमा काम गर्थे, अब गम्बुट लगाएर गर्नेछन् । आधुनिक जागिरे कृषक कोटेसनमा किनेको हँसिया बोकेर धान काट्न जानेछन्, सेफ्टीबेल्ट भिरेर डाले घाँस झार्न रुख चढ्नेछन् । मास्कले मुख छोपेर दाइँ गर्नेछन्, पहेँलो ज्याकेट टल्काएर घाँस काट्न जानेछन् । आँखामा चस्मा र हातमा पन्जा लगाएर डोका बुन्नेछन्, हेल्मेट लगाएर बाउसे गर्नेछन् ।

हामीले यसरी पुरानो प्रणालीलाई आधुनिक बनाउन सक्छौँ । सिँचाइका योजना बन्दै गर्छन्, मल–बीउको हाहाकार हुँदै गर्छ, आधुनिक प्रविधि पनि भविष्यमा आउँदै गर्लान्, तर आधुनिक देखिने मोडल कामदारलाई काममा खटाइहालौँ । साबेलले मकै गोड्ने प्रयोग सफल भयो भने अब झ्याम्पलले गिटी मुछ्ने, बल्छीले चरा मार्ने, गुलेलीले माछा मार्ने तालिम दिएर केही फरक र आधुनिकता ल्याउँदै गरौँ । यस कार्यक्रमअन्तर्गत बेरोजगारलाई कम्तीमा एक महिना रोजगारी दिने कुरा रहेछ, यसरी हजारौँ मोडल कामदारले अनवरत एक महिना काम गरेपछि पक्कै मुलुकले केही न केही समृद्धि हासिल गर्छ ।

प्रकाशित: असार १, २०७६