नेवारले यसरी छाडे उपत्यका

- हरिराम जोशी

नेवार जातिको मूलथलो काठमाडौँ उपत्यका हो । आफ्नै भाषा र लिपि रहेको नेवार जातिले व्यापार व्यवसायलाई मुख्य पेसाका रुपमा अंगाल्दै आएका छन् । मूलथलो काठमाडौँ उपत्यका व्यापारका लागि बाहिर गएका नेवार समुदायकै कारण सहरबस्तीको स्थापना र विस्तार हुँदै गएको हो ।

नेवार समुदाय व्यापार विस्तारका क्रममा नेपालका सबैजसो क्षेत्र पुगे पनि राजा रणबहादुर शाहका पालामा देश नै छाडेर भाग्नुपरेको थियो । रणबहादुर शाहको मध्य शासनकाल (४ मंसिर १८३४ देखि २६ फागुन १८५५) को अवधिमा उपत्यकामा बिफरको महामारी फैलियो । बिफरका कारण थुप्रै मानिसको ज्यान गयो ।

राजा रणबहादुर शाहले राजदरबारभित्र बिफर नफैलियोस् भन्नका लागि बिफर नलागेका ४–५ वर्षसम्मका बच्चाबच्चीलाई देश छाड्ने आदेश जारी गरे । सोही आदेशका कारण बच्चाबच्चीलाई साथ लिएर कैयौँ नेवार समुदायका परिवारले पनि देश छाड्नुपर्‍यो ।

बिफर नआएका बालबच्चासँगै देश छाडेर गएकाहरु काठमाडौँ, भक्तपुर, बनेपा हुँदै दोलालघाट पुगे । त्यसपछि तामाकोसी/भोटेकोसी किनार हुँदै पूर्वी क्षेत्र प्रवेश गरे । सैनिक र पुलिसको निगरानीका कारण बीच बाटोबाटै फर्किन सक्ने अवस्था थिएन । पहाडैपहाडको लामो यात्रा तय गर्दा तिनीहरुका केही बच्चा बाटैमै बिरामी परे । कसैले चिसोका कारण ज्यान गुमाउनुपर्‍यो । बाआमाले मृतक बालबच्चालाई जलाउनसमेत पाएनन् । उनीहरुले तामाकोसी र भोटेकोसी छेउ मृत सन्तानलाई जमिनमुनि गाडे ।

बिफर नलागेका बच्चालाई देश निकाला गर्ने रणबहादुर शाहको उर्दीका कारण सन्तानसँग पछि लागेर गएका नेवार समुदायका मानिस भोजपुर, चैनपुर, धनकुटालगायत पूर्वका विभिन्न ठाउँमा आश्रय लिएर बसे । त्यसपछि तिनीहरुले ती स्थानलाई आफ्नो वासस्थान बनाए ।

बिफर नआएका बच्चालाई निष्कासन गरेको सन्दर्भलाई समेटेर नेवारी भाषामा रचिएको लोकगीतसम्बन्धी पुस्तक कचिमता पितुंगु मेमा राजाको आदेशपछि बच्चाका बाआमाले पाएको सास्तीबारे विस्तृत वर्णन गरिएको छ । यस पुस्तकलाई ब्रिटिस लेखक सिगफ्रायड लेनहार्डले सङ्स अफ नेपाल : एन एन्थोलोजी अफ नेवार फोकसङ्स एन्ड हाइमन्स् नाम दिएर ईसं १९७४ मा प्रकाशन गरेका छन् ।

राजाले आफ्नो परिवारमा रोग नभित्रियोस् भनेर बिफर नआएका बच्चालाई देश (काठमाडौँ) बाट निकाले पनि तीन रानीमध्येका (त्रिपुरासुन्दरी, विजया राज्यलक्ष्मी) कान्छी कान्तिमती मिश्र झालाई उक्त रोगले छोप्यो । धामीझाँक्री, वैद्य, ज्योतिषीको प्रयासका बाबजुद विसं १८५६ मा कान्छी रानीको निधनपछि राजामा बहुलठ्ठीपन देखियो । रानीका लागि पूजा गर्ने तिनै राजा कालान्तरमा देवीदेवताका मूर्ति तोड्न उद्यत भए । विह्वल राजाले नै काठमाडौँ टुँडिखेल महाँकाल भैरवको नाक काटेका थिए । पछि त्यो मूर्तिको नाकमा चाँदी राखिएको हो । नाक काटेको चिह्न अद्यापि देखिन्छ । उनले तलेजु भवानी, गुह्येश्वरीमा पनि बिगार गरे । तर जस्तोसुकै महामारी फैलिए पनि प्रजालाई देश निकाला गर्नु हुँदैनथ्यो । राजा रणबहादुर शाहले देश निकाला गरेका तिनै नेवार समुदाय नेपालका मुख्य बजारक्षेत्रमा फैलिए  ।

नेवार समुदाय व्यापार विस्तारका लागि पनि नेपालबाहिर गएको इतिहास छ । राम शाहले पाटनका राजा सिद्धिनरसिंह मल्लसँग काठमाडौँका व्यापारीलाई गोरखामा व्यापार गर्न सम्झौता गरेका थिए । त्यसैकारण काठमाडौँको नेवार समुदाय व्यापारार्थ गोरखा पुगेको हो । अहिले पनि गोरखा बजारमा नेवार समुदायकै वर्चस्व छ ।

गोरखा पुगेका तिनै व्यापारी समयक्रममा पश्चिम, सुदूरपश्चिम सहित मेची–महाकालीसम्म बजार विस्तार गर्न सफल भए । व्यापारको सिलसिलामा भारी बोकाएर बजार खोज्दै जाँदा कसैको बीच बाटोमै सामान हरायो, कसैको डकैती भयो । बेच्नका लागि लगिएको सामान गुमेपछि बेखर्ची भएर कसैले त्यही स्थानलाई आफ्नो वासस्थान बनाए ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: जेष्ठ २९, २०७६

ट्याग: स्मरण