‘अब फिल्ममा आउँछु’ – प्रकाश सपुत

- मनबहादुर बस्नेत

युट्युबमा तहल्का मच्चाइरहेका छन्, प्रकाश सपुतले दुई सातामै उनको लोकदोहोरी गीत ‘गलबन्दी’ ले ८० लाखभन्दा बढी दर्शक कमायो वर्ष दिनअघि उनको ‘बोल माया’ गीत पनि यस्तै हिट बनेको थियो सपुतसँग कुराकानी  :

निश्चित थिममा लोकगीत गाउनुको कारण ?

मेरो रुचि ‘स्टोरी टेलिङ’ भएर होला । खासमा म गीतसंगीतको इमानदार सर्जक होइन । गीत/संगीतलाई भन्दा कथालाई जोड दिन्छु । कथा भन्ने माध्यम मात्र हो, गीतसंगीत । त्यसैले म गीत थिममा गाउन रुचाउँछु । गीतमा कथाको प्रभाव बढी देखिन्छ ।

गलबन्दी’ ले चाहिँ कस्तो कथा भन्छ ?

पहिले–पहिले गाउँघरतिर दिनभर काम गर्ने र साँझमा रोधी बस्ने गरिन्थ्यो । तीन–चार दिनसम्म रोधी चल्थ्यो । संगीत हाम्रो संस्कार, चलन मात्र थिएन, भावनात्मक सम्बन्ध थियो । एउटा कालखण्डको त्यो कथा यसमा झल्काउन खोजेको छु ।

भनेपछि यो ऐतिहासिक गीत हो ?

संस्कृतिका हिसाबले ऐतिहासिक हो । रोधी बस्ने र दोहोरी खेल्ने संसारमै नभएको चलन हाम्रोमा थियो ।

रोधी अहिले पनि गाइन्छ नि ?

रोधी त दौरासुरुवालजस्तो भइसक्यो । दौरासुरुवाल पहिले सधैँ लगाइन्थ्यो । अहिले कहिलेकाहीँ लगाइन्छ । रोधी पनि पहिले सधैँ गाइन्थ्यो । अहिले कहिलेकाहीँ मात्र ।

यो थिममा गीत बनाउने सोच कसरी आयो ?

आँगनमा बसेर रोधी गाएको सानै छँदा देखेको हुँ । केटाले गाउने तर केटी लजाउने । केटी गाउन छाडेर अचार लिएर आउने । यस्ता कथा सुनेको थिएँ । त्यसमा मैले शृंगार र कला थपेर गाएँ ।

बोल माया’ को भिडियो शक्तिशाली थियो त्यसको तुलनामा गलबन्दी कमजोर लाग्दैन आफैँलाई ?

सर्जकका रुपमा म दुवैलाई समान मान्छु । अघिल्लो कथा बलियो थियो । वैदेशिक रोजगारीको पीडाको विषयवस्तुले छोएको थियो । पछिल्लोको विषयवस्तु रमाइलो पाराको छ । विषयवस्तुले फरक पारेको हुन सक्छ । ‘बोल माया’ मा मेरो भाव पोखिएको छ । त्यसको भिडियोमा मिहिनेत बढी पर्‍यो ।

लगातार गीत हिट हुनुको राज के हो ?

मानिसलाई यथार्थपरक विषय मन पर्दो रहेछ । संसारभर यथार्थपरक चलचित्र, पुस्तक नै मन पराइन्छ । मेरा गीतमा पनि प्राकृतिक र मौलिक विषय भएकाले मन पराइएको हुनुपर्छ ।

लोकगीतले यति चर्चित बनाइदिन्छ भन्ने सोच्नुभएको थियो ?

थिएन । बीचमा दोहोरी ब्याटल गाएँ । एउटै क्षेत्रमा सीमित भएर मात्रै पुग्दैन भन्ने लागेको थियो । लोकगीत मेरो एकोहोरो सपना थिएन । फिल्म खेल्ने इच्छा थियो । कथामा रुचि राख्थेँ ।

लोकगीतले सेलिब्रिटी बनाइदियो अब फिल्मतिर जाने होला नि ?

केही राम्रा प्रोडक्सन हाउसबाट कुरा आइरहे पनि  निर्णय गर्न सकेको छैन । संगीतले मलाई धेरै कुरा दियो । संसार घुमायो । संगीतमै दुई–तीन वर्ष बिताएपछि फिल्मतिर लाग्छु होला । संगीत, दृश्य, गीतमार्फत जसरी दर्शक–श्रोतालाई बाँध्न सकेको थिएँ, त्यसरी फिल्ममा बाँध्न सक्छु भन्ने आत्मविश्वास पनि जुटिसकेको छैन । केही विषयवस्तु फिल्मका लागि साँचेर भने राखेको छु ।

फिल्म निर्देशनमा जाने हो ?

सामाजिक विषयवस्तु संकलन गरेर राखेको छु । लोकगीतमा जस्तै फिल्ममा ती विषयवस्तु उठान गर्ने रहर छ । म आफ्नै केही कथा लिएर फिल्ममा जान्छु ।

प्रकाशित: जेष्ठ २८, २०७६