भारोत्तोलनकी तारा

- पवन आचार्य

राष्ट्रिय खेलकुदमा लगातार पाँचौँ स्वर्ण जित्ने– त्यो पनि दुई फरक खेलबाट । यस्तो कीर्तिमानको भार उचाल्न मजबुत बाहु चाहिन्छ । यस्तै पाखुरा बोकेर १७ वर्षदेखि ‘स्ट्रङ्गेस्ट वुमन’ को ताज पहिरेकी छिन्, तारादेवी पुन, ३८ ले । म्याग्दीको साविक हिस्तानका डाँडापाखामा भलिबल खेलेर हुर्किएकी ताराले ०५५ मा नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट स्वर्ण जितिन् । त्यतिबेला उनी बेस्ट लिफ्टर पनि भइन् । त्यसपछि उनलाई चिनाउने खेल भारोत्तोलन भयो, तर भलिबललाई पनि उत्तिकै माया गर्छिन् । जम्मा ७ वर्ष भयो, ताराले भलिबललाई चटक्कै छाडेको । “मेरो पहिलो प्रेम नै सायद भलिबल हो । अहिले पनि भलिबल प्रतियोगिता भयो कि दौडेर हेर्न पुगिहाल्छु,” उनी सुनाउँछिन् । ०६९ दे खि भलिबलबाट स्थायी रुपमै अलग्गिनुअघि उनी ढोरपाटन क्लबको क्याप्टेन थिइन् ।

ताराको मन पर्ने रंग रातो हो । तर उनको जीवनलाई सुहाउने रंग भने पहेँलो बन्यो । १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा जितेको कास्य पदकबाहेक उनको घरमा भित्रिएका सबै पदकको रंग पहेँलो नै छ । “सागमा पहिलो पटक भारोत्तोलनमा महिला विधा थपिएकाले पनि गुरुहरुले मबाट ठूलै पदकको आश गर्नुभएको थियो । तर कास्य जिते पनि मेरा लागि त्यो स्वर्णभन्दा कम छैन”, नेपालमै हुने १३ औँ सागमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेकी उनी भन्छिन्, “मिहिनेत जारी छ । समयमै प्रतियोगिता भए सपनाले आकार लिन्थ्यो कि ?”

भलिबलबाट भारोत्तोलनमा ताराले जम्प मार्नु पछाडि पनि लामै कथा छ । चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा बेस्ट प्लेयर भएकी उनी ०५६ को आठौँ सागका लागि बन्द–प्रशिक्षणमा डाकिनेमा ढुक्क थिइन् । उनी भलिबलको राष्ट्रिय टिममा अटाउन सकिनन् । राष्ट्रिय टोलीको बन्द–प्रशिक्षणका लागि उनी छनोट भएको चिट्ठी हिस्तान पुग्दासम्म साग नै सकिइसकेको थियो । “राष्ट्रिय टोलीबाट खेलेर देशका लागि पदक जित्ने ठूलो सपना थियो । भलिबलबाट त्यो पूरा गर्न नपाउँदा दुःख लाग्यो,” तारा भन्छिन्, “सबैभन्दा धेरै दुःखचाहिँ छनोटमा परेर पनि खेल्न जान नपाउँदा लाग्यो । विस्मात त्यसैको छ ।”

प्रत्येक २ वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको पाँचौँ संस्करण चौथो सकिएको झन्डै ४ वर्षपछि ०५८ मा हुने तयारी थियो । पश्चिमाञ्चल टिममा तारा छनोट नहुने कुरै भएन । बाँकी तयारीका लागि १८ जेठमा उनीहरु काठमाडौँ आए । १९ जेठमा दरबार हत्याकाण्ड भयो । मुलुक राष्ट्रिय शोकमा डुब्यो । सँगै ताराको भलिबलमा लगातार दोस्रो स्वर्ण जित्ने सपना पनि । काठमाडौँ खाल्डोमा उनले ६ महिना त्यसै बिताइन् । मन लागे भलिबल कोर्टतिर जान्थिन् । नभए काठमाडौँ चहार्नु नै उनको दिनचर्या हुन्थ्यो ।

त्यतिबेलै उनको भेट ओलम्पियन प्रमिला थापासँग भयो । ताराको गठिलो जीउडाल देखेर तेक्वान्दो खेलाडी थापाले उनलाई भारोत्तोलनमा लाग्न सुझाइन् । त्यतिबेलासम्म तारालाई भारोत्तोलन के हो, कसरी खेलिन्छ भन्ने पत्तो थिएन । उनलाई यत्ति थाहा थियो– दशरथ रंगशालामा गएर सुनील लाल गुरुलाई भेट्ने र भारोत्तोलन सिक्ने । त्यो पनि उनै प्रमिलाले भनेर जानेको ।

लगातार चार दिनसम्म धाउँदा पनि तारा र सुनील गुरुको भेट जुरेन । त्यसपछि कसैले उनलाई पार्थ सारथि सेन गुप्ता अर्थात् मिठु गुरुलाई भेट्न सल्लाह दियो । उनी सरासर मिठु गुरुकहाँ पुगिन् र आफ्नो इच्छा जाहेर गरिन् । महिलाले भारोत्तोलन नखेल्ने त्यतिबेलाको समयमा मिठु गुरुले भारोत्तोलन खेल्छु भन्ने ५ फिट ३ इन्च अग्ली महिलालाई तलदेखि माथिसम्म नियाले । गुरुलाई के लाग्यो कुन्नि, प्रशिक्षक राजेन्द्र प्रधानकहाँ पठाए । राजेन्द्रले पनि तारालाई पत्याएनन् । तर मिठु गुरुले पठाएकाले भोलिपल्ट ताराको शक्ति परीक्षण गर्न राजी भए ।

२६ पुस ०५८ अर्थात् भारोत्तोलन र ताराको नाता गाँसिएको दिन । राजेन्द्र गुरुले उनलाई २० केजी भार भएको रड उठाउन लगाए । ताराले सजिलै उचालिन् । दुई–चार पटक पुनः उठाउन लगाए । त्यो पनि सजिलै गरिन् । त्यसपछि मात्र उनी भारोत्तोलन खेल्न छनोट भइन् । पुराना दिन सम्झिँदा उनको चिम्सा आँखामा अचम्मकै तेज झल्किन्छ । भन्छिन्, “केटी त हो, रहर गरिहाली भनेर गुरुहरुले मलाई २० केजीको रड दिनुभयो । म हार्नेवाला थिइनँ । पछि त थुप्रै प्रतियोगिता मैले पुरुषले उचाल्ने २० केजीको रडमै खेलेँ । त्यतिबेला महिला भारोत्तोलक पनि उति थिएनन् ।”

भारोत्तोलन उनलाई खुब फाप्यो । खेल सिकेको २ महिना नबित्दै वीरगन्जमा भएको भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा उनी पहिला भइन् । साथै, स्ट्रङ्गेस्ट वुमन पनि । त्यसयताका १७ वर्षमा उनलाई पराजित गर्ने कोही देखा परेनन् । त्यतिबेला पाएको नगद ५ हजार पुरस्कार पनि उनले लामै समय संगालेर राखिन् । एक जोर ट्र्याकसुट किनेर बाँकी पैसा उनले नखर्चिने संकल्प लिएकी थिइन् । तर काठमाडौँको महँगीमा डेराभाडा र खाना खर्चको जोहो अन्यत्रबाट नभएपछि त्यही पुरस्कार खर्चिनुको विकल्प उनीसँग भएन । त्यसअघि गाउँमा भलिबल खेल्दा उनले स्टिलका बाटा, करुवालगायत भाँडावर्तन पाउँथिन् । तर इन्डिभिज्युअल गेममा पहिलो पटक नै नगद पुरस्कार हात पारेपछि उनी हौसिइन् ।

भारोत्तोलनले तारालाई सबथोक दिएको छ । पुलिसको जागिर पनि यिनलाई यही खेलले दिलायो । राष्ट्रिय चर्चा र जीवन धान्ने अर्थको जोहो पनि यसैले गरिदिएको छ । पेन्सन पाक्न मात्र ७ महिना बाँकी छ । तर पुलिसको असली जागिर कस्तो हुन्छ, अझै थाहा छैन यिनलाई । “चुनावका बेला २–३ दिन बर्दी लगाएर हिँड्या हो । पुलिसको खास जागिर के हो भन्ने थाहा नपाएरै पेन्सन पाक्ने भयो,” उनी सुनाउँछिन्, “पुलिसमा जागिर नखाएको भए र विभागको साथ नपाएको भए आज म यहाँ आइपुग्न सक्दिनथेँ हुँला ।”

तारादेवीसँग भलिबल र भारोत्तोलनको मात्रै अनुभव छैन । एथ्लेटिक्सका ज्याभलिन थ्रो, डिस्कस थ्रो र सटपुटमा पनि उनले राष्ट्रिय च्याम्पियनसिप खेलिसकेकी छन् । पुलिस क्लबबाटै सटपुटमा प्रथम, ज्याभलिन थ्रोमा दोस्रो र डिस्कस थ्रोमा तेस्रो भएको मेडल उनको बानियाँटारस्थित डेरामा अझै पनि झुन्डिरहेकै छ । गुरुहरुकै संगतले यिनले बक्सिङ पनि सिकिन् । तर अलि ढिला भएकाले अरुले २ मुक्का हान्दा तारा १ मुक्का मात्रै फर्काउँथिन् । ६४ केजी तौल समूहमा भिड्ने महिला नभएपछि बक्सर बन्ने यिनको सपनाले उडान भर्न पाएन ।

छोरीलाई खेलकुदमा लाग्न सदैव सहयोग र प्रेरणा दिने बिरु पुनले ताराको सफलता र चर्चा आँखाले हेर्न पाएनन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका बिरु ०५९ मा मुलुक फर्किए र ०६१ मा देहत्याग गरे । पुलिसकी जागिरे तारा र आर्मीका जागिरे भएकाले जेठा दाइ कृष्ण पुन बुबाको अन्त्येष्टिमा समेत सहभागी हुन पाएनन् । कान्छो भाइलाई माओवादीले छापामार बनाउन लैजाने धम्की र बूढी आमालाई माओवादी लडाकूलाई खाना खुवाउनुपर्ने बाध्यता आइलागेपछि बुबाको सद्गत गर्न म्याग्दी जान लागेका कृष्ण बीच बाटोबाटै फर्किनुपर्‍यो । तारालाई त्यो क्षण सम्झिँदा अहिले पनि मन अमिलो भएर आउँछ ।

बुबाले खेलमा लाग्न प्रेरणा दिए पनि आमा दिलमायाको फोन आएपछि भने तारालाई खिन्न लाग्छ । ७३ वर्षीया दिलमायालाई अझै पनि चिन्ता छोरीकै छ । राष्ट्रिय टोलीमा अभ्यास गर्दा घुँडामा चोट बोकेको थाहा पाएयता दिलमायाले हरेकपल्ट फोन गर्दा छोरीलाई सोध्ने प्रश्न एउटै हुन्छ– यो खेल कहिले छाड्छेस् ? भलिबल खेल्ने बेलामा दिलमायाले पनि तारालाई साथ नदिएकी होइनन् । तर गह्रौँ फलाम उचाल्ने छोरीको खेल एक पटक मात्रै हेरी दिलमाया त्यसपछि अत्तालिइन् । “मैले नै आमालाई एक पटक भारोत्तोलन हेर्न बोलाएकी थिएँ । त्यतिबेला चोट लागेको देखेपछि आमा आत्तिनुभयो,” उनी भन्छिन्, “अचेल त फोनमा पनि यो खेल छाड्, बुढेसकालमा ढाड खुस्किएर दुःख पाउलिस् मात्रै भन्नुहुन्छ ।”

अविवाहित तारालाई आमाले बिहेका लागि कहिल्यै कर गरिनन् । तर आफ्नो शेषपछि छोरीले आफैँलाई स्याहार्न नसक्ने गरी थला नपरोस् भन्ने चिन्ताले भने दिलमायालाई छाडेको छैन । त्यसैले बिहे गर भनेर कर पनि गर्दिनन् उनी छोरीलाई । हामीले सोध्दा तारा भन्छिन्, “भलिबल मेरो पहिलो प्रेम थियो । भारोत्तोलनसँग मेरो बिहे भइसक्यो । अर्को बिहेबारे अझै सोचेकी छैन ।”

तारा आफैँ स्वीकार्छिन्– म स्लो छु । भलिबल खेल्दा पनि म क्वीक थिइनँ । बक्सिङमा त अरुको मुक्का परेपछि मात्रै चेत खुल्थ्यो । भारोत्तोलन पनि यिनले झन्डै २० वर्षको उमेरमा सुरु गरिन् । वर्षले ३८ र तौलले ७६ छोए पनि उनको प्रदर्शनमा हरेक वर्षजस्तो २–३ केजीको सुधार छ । प्रदेश ५ मा भएको आठौँ राष्ट्रिय खेलमा यिनले स्न्याचतर्फ ७४ र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल १ सय ७१ केजीको कीर्तिमान बनाइन् । पहिलो पटक भारोत्तोलनमा भाग लिँदा वीरगन्जमा यिनले ९५ केजी मात्रै उचालेकी थिइन् । जबकि इन्डोनेसियामा भएको एसियाली खेलकुदमा १ सय ७५ केजीको कीर्तिमान बनाएकी थिइन् । दक्षिण एसियाली खेलकुदमा कास्य, २ एसियाडमा सहभागिता र २ एसियन च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानमा सुधार यिनै आँकडाले तारादेवीको क्षमता बोलिरहेको छ ।

यति हुँदाहुँदै पनि उनको मनमा सन्तोष छैन । दक्षिण एसियाली खेलकुदमा जितेको कास्यलाई स्वर्णमा बदल्न उनी आफ्नो तौल समूहले गर्नेभन्दा दोब्बर मिहिनेत गरिरहेकी छन् । “आफ्नै देशमा हुने १३ औँ सागमा स्वर्ण जित्न सके मेरो सबै सपना साकार हुनेछ । मिहिनेत जारी छ । समयमै खेल भए कम्तीमा अघिल्लो कास्यभन्दा माथिल्लो स्तरको पदक जित्ने आशा छ,” उनी सुनाउँछिन् ।

शारीरिक बलियोपन एकातिर छ । तर ताराको मनोबल त्योभन्दा उम्दा छ । अन्य सबै खेलका खेलाडीले उनको उमेरमा पुगेपछि लिने भनेको सन्न्यास नै हो । तर तारा आफ्नै नामजस्तै सदासर्वदा चम्किने यत्नमा छिन् । आगामी डिसेम्बरमा हुने १३ औँ सागमा उनी आफ्नो नामजस्तै अमर हुने कीर्तिमान कोर्न आतुर छिन् ।

प्रकाशित: जेष्ठ २८, २०७६

ट्याग: रङखेलकुद