सभ्यताका अनेक पक्ष

- घिमिरे युवराज

क्रिस्टोफर रायन र कासिल्डा जेठालिखित सेक्स एट डोन पढिरहँदा मनमा अनेकौँ तरंग र कौतूहल उब्जाउँछ । एकातिर मान्छेको जीवन अत्यन्तै सुविधाभोगी, चञ्चल, अस्थिर र यौनलिप्त भइरहेको छ । अर्कोतिर उसले यस्तो सामाजिक व्यवस्थालाई आत्मसात गरेको छ, जहाँ आफ्नो सम्पत्ति र सम्बन्ध रक्षाका लागि सानो परिधि बनाएर बसेको छ । प्रागैतिहासिक कालदेखि आजसम्म पुरुष र महिलाको यौनसम्बन्धको स्थिति व्याख्याका आधारमा लेखकद्वयले मानव सभ्यताको अनेक पक्ष देखाउन खोजेका छन् ।

कृषि युगभन्दा अघि मानिसलाई सामुदायिक भावमा विश्वास थियो । जंगली वा सिकारी युगमा मानिस जोखिम सामना गर्न मिलेर समूहमा बस्थे । सम्पत्तिमा व्यक्तिगत अधिकार थिएन । त्यसले सन्तानमाथि कसैको दाबी रहेन । सन्तानको पहिचान नै नभएपछि लोग्ने–स्वास्नी बनिरहनुपर्ने आवश्यकता आइपरेन । यस किताबमा वैवाहिक संस्थाको उदयको जड मिहीनसँग खोतलिएको छ । र, आजको समाजको पाखण्ड चरित्रलाई छर्लंग बनाएको छ ।

किताब भन्छ, कृषि युगअघि महिलाको यौनसम्बन्ध धेरै पुरुषसँग वा पुरुषको धेरै महिलासँग हुन्थ्यो । यस्तो अवस्थामा कुन पुरुषको वीर्यबाट महिला गर्भवती भइन्, थाहा हुन्नथ्यो । कतिपय सिकारी समूहमा धेरै पुरुष सिकारीले एउटै सन्तानलाई साझेदारका रुपमा मानेको पनि पाइन्छ । ती पुरुषलाई ‘बुबा’ शब्दले सम्बोधन गर्नु स्वाभाविक लाग्दैन किनभने पुस्तक पढ्दा थाहा लाग्छ– आमाको सम्बन्ध मात्रै सन्तानसँग स्वाभाविक रुपमा स्थापित हुन्छ । किताबको पुछारमा पुग्दा केही दृश्यले उद्वेलित गर्छन् । लोग्ने र पुरुष सम्पत्तिको अधिकारबाट स्थापित छ भने आमाचाहिँ ममताबाट । आमाबाट प्राकृतिक रुपमै संरक्षित र पोषित हुने सन्तानको नैसर्गिक अधिकारका कारण सम्बन्धले एउटा यात्रा गरेको देखिन्छ ।

कृषि युग वा सम्पत्तिको अधिकारपछि एकल सम्बन्धको व्यवस्था सुरु भयो । तर मान्छे स्वभावैले ‘पोलीगामी’ भएकाले ‘मोनोगामी’ सोच भित्री रुपमा खोक्रो र भ्रष्ट हुँदै गयो । झन् भ्रष्ट त त्यतिखेर भयो, जब पुरुषकै जत्ति यौनेच्छा राख्ने महिला एकल सम्बन्ध र संकुचित घेरामा बाँधिइन् । मोनोगामी सम्बन्धमा बस्न नसकेकाले पुरुष सत्ताले बहुविवाहलाई स्थापित गरिदियो ।

हामीले मान्दै आएको संस्कारले यौन सम्बन्धमा कथित शुद्धताको कुरा गर्छ । तर प्राकृतिक रुपमा मानिसको यौन व्यवहार त्यस्तो शुद्धताको घेराभित्र कैद हुन सक्ने अवस्थामा छैन । यस्तो विरोधाभास बोकेर आजको आम मानिस बाँच्दै छ । किताबले पोलीगामी वा मोनोगामीमध्ये एकको वकालत गर्दैन । तर पाठकलाई आफ्नो सोच निर्माणमा मद्दत गर्छ ।

पुस्तकले विचार र सपनालाई परिपक्व बनाउन ठूलो भूमिका खेल्छ । हामीले लामो समय सत्ताधारीको इतिहास पढ्यौँ । सत्तास्थापित नायकबारे अचेल विवेचना हुन थालेको छ । शक्तिशाली खलनायकका कथा पनि महफ्वका साथ पढिए । तर कलाकार मनले सधैँ आम मानिसको कथा खोजी रह्यो । पछिल्ला गैरआख्यान माङ्गेना, भुइयाँ र ७२ को विस्मय पढेर म निकै लाभान्वित भएँ । केही गैरआख्यानमा नयाँ कथ्य स्थापित भयो, जहाँ सतहका मानिस कथाको सूत्रधार बनेर आए । यस्तै बलियो गैरआख्यान हो, मान्ठा डराएको जुग

मोहन मैनालीको यो पुस्तकले नेपालमा चलेको युद्धमा छोपिएका फरक पाटोलाई उजागर गरेको छ । मैनालीकै वृत्तचित्र द लिभिङ अफ जोगीमारा केही वर्षअघि हेर्दा माओवादी द्वन्द्वलाई नजिकबाटै हेरेजस्तो अनुभूति भएको थियो । दृश्यमा आउँदा द्वन्द्वमा पिल्सिएका परिवार र आफन्तको त्रासले स्तब्ध बनाउँथ्यो । स्थानीयको विस्तृत अवस्थासहित झन् बलियो अभिलेख बनेर आयो, पुस्तक । लेखकको प्रस्तुति र भाषाशैली छरितो र रोचक भएकाले एकै बसाइमा पढ्न सकेँ ।

लाग्छ, पहाडी र हिमाली भेगमा पुगेर राज्य र विद्रोहीको गतिविधिलाई मानवताको निष्पक्ष आँखाले उतारिएको दस्तावेज हो, मान्ठा डराएको जुग । राज्य र विद्रोही दुवैको चेपुवामा परेका आम मानिसको पीडाको कथा हो । यो भूमिमा चलेको द्वन्द्वको बलियो दस्तावेज पनि बनिदियो ।

दलाई लामा र भिक्टर चानलिखित विज्डम अफ कम्प्यासन  मैले धर्मशाला भारत जाँदा किनेको थिएँ । दलाई लामाको यात्रा, अनुभव र दर्शनमा केन्द्रित छ किताब । दलाई लामाको दर्शनप्रति खासै रुचि नभए पनि अमेरिका भ्रमणका सन्दर्भमा उनको विचारले छोइएँ ।

स्कुल जाने उमेरका काला वर्णका धेरै किशोरकिशोरी जेलमा छन् । एक खालको वर्ग र समुदायका मानिसद्वारा स्थापित कानुनले अर्को समुदायलाई विभेद गर्छ । स–साना गल्तीमा पनि तिनलाई अपराधी करार गरी जिन्दगी नै बर्बाद हुन्छ । अनेकौँ अपराध गरेर सत्तामा पुगेको शक्तिले आम नागरिकले कहिले गल्ती गर्ला र अपराधी घोषणा गरौँला भनेर पर्खिबस्छ । तर गल्ती नगर्ने वातावरणचाहिँ बनाउँदैन । समाजलाई सकारात्मक दिशातर्फ लैजान एकअर्कामा क्षमा र करुणा आवश्यक छ भन्ने भावना जागृत गराउनु यसको उल्लेख्य पक्ष हो ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: जेष्ठ २८, २०७६

ट्याग: तीन किताब