आवरण« भान्सामै विषादी

- सुनिता लोहनी

बानेश्वरकी सीता कार्की, २५, ले बजारबाट लौका र घिरौँला किनेर लगिन् । लौका हेर्दा ताजा देखिन्थ्यो, तर त्यसको तरकारी खाएपछि सानो छोराको गालाभरि स–साना फोकैफोका आए । त्यस्तै भोगाइ छ, घट्टेकुलोकी सुमित लामा, २०, को पनि । भन्छिन्, “हरियो केराउ किनेर लगेको पखाल्दा हरियै पानी आयो । तैपनि पकाएर खाँदा झाडापखाला पो लाग्यो ।”

जनस्वास्थ्यलाई ध्यानमा राखी संविधानको भाग ३ धारा ४४ मा उपभोक्ता हकको व्यवस्था राखियो । करिब ३ वर्षपछि उपभोक्ता संरक्षण ऐन, ०७५ बन्यो । ऐन बने पनि त्यसको नियमावली अझै आएको छैन । नियमावली बन्न नसक्दा उपभोक्ता अधिकार ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनेको छ ।

यद्यपि देशमा उपभोक्ता हितमा काम गर्न दुइटा सरकारी संस्था छन् । पहिलो, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जसका आफ्नै ऐन र नियमावली छन् । निर्देशक पवनकुमार तिमिल्सेनाका अनुसार विभागले देशभरका व्यापारिक फर्मको अनुगमन गर्छ । आवश्यक परे नमुना लिई परीक्षण गर्न पठाउँछ । विभागको आफ्नै प्रयोगशाला भने छैन ।

दोस्रो, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग छ । यस विभागको २४ डिभिजन कार्यालय र ६ वटै प्रदेशमा प्रयोगशाला छ । विभागले हरेक दिन बजार निरीक्षण गर्छ । यसको आफ्नै ऐन र नियमावली छ ।  दुवै कार्यालयले उपभोक्ता संरक्षण क्षेत्रमा काम गर्ने भए पनि जरिवाना र दण्ड भने फरक–फरक छ ।

आपूर्ति विभागले फिल्डमा निरीक्षण गर्न जाँदा व्यापारिक फर्ममा गल्ती भेटे तत्काल ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ । महानिर्देशकले त्यस्ता फर्म सञ्चालकलाई बढीमा १ वर्षसम्मको जेल सजाय र ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्छन् । अदालतमा मुद्दा दायर गरिए १ वर्षभन्दा बढी सजाय हुन सक्छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रकम जरिवानामा ५ हजारदेखि ५० हजार र बढीमा ५ वर्षसम्म जेल सजाय व्यवस्था गरेको छ । उक्त विभागले उपभोक्तासँग सम्बन्धित सम्पूर्ण व्यापारिक फर्मलाई दिनहुँ अनुगमन गर्छ भने आपूर्ति विभागले समग्रमा निरीक्षण मात्र गर्छ ।

यी दुवै ऐन संघीय संसद्बाट २ असोज ०७५ देखि कार्यान्वयनमा आएका हुन् । तर कानुनी दण्ड र सजायमा किन अन्तर छ ? उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार सरकार आफैँ कालाबजारिया र माफियालाई बचाउन लागिपरेकाले यस्तो भएको हो । भन्छन्, “राज्यले ओजभन्दा बोझको काम गर्‍यो । नियम–कानुन कडा बनाउनुपर्नेमा झन् फितलो बनाइयो ।”

करिब आधा दर्जन उपभोक्तासम्बद्ध संघसंस्था छन्, तिनीहरूले उपझोक्ता हितका लागि ठोस कार्यत्रम गर्न सकेको देखिँदैन, १५ मार्चको अन्तर्राष्ट्रिय उपभोक्ता दिवसमा नारा लगाउनुबाहेक । पसलमा लेबल नभएका सामान मूल्यसूचीबिनै व्यापारीले बेचिरहेका छन् । सोही कारण विषादीयुक्त तरकारी, खाद्यान्न तथा फलफूल खान उपभोक्ता बाध्य छन् । अध्यक्ष तिमिल्सिना उपभोक्ता अधिकारका लागि काम गर्ने संस्थाबीच नै स्वार्थ बाझिएकाले यस्तो भएको स्वीकार्छन् ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, ०७५ २ असोजमा संघीय संसद्बाट पारित भयो । ऐनको उपदफा ३ को १ ‘क’ मा प्रस्ट भनिएको छ, ‘बिनाभेदभाव पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियमित पहुँच हुने ।’ के उपभोक्ताले नियमित रूपमा पोषणयुक्त तथा गुणस्तरीय खाना खान पाएका छन् त ?

बजार अनुगमन र गुणस्तर मापन गर्नु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम हो । विभागले १ साउनदेखि फागुन मसान्त ०७५ सम्म देशभरका कुल १ सय ३६ व्यापारिक फर्ममाथि दूषित, कोलिफर्म तथा न्यून गुणस्तरका उपभोग्य सामग्री बेचबिखन, उत्पादन गरेको भन्दै मुद्दा दायर गरेको छ । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार अखाद्य रङ मिसाउन पाइँदैन, तर त्यो खाँदैमा बिरामी पर्ने भन्ने हुँदैन । भन्छन्, “दूषित खाना खाँदा स्वास्थ्यमा असर पर्छ । न्यून गुणस्तरले शरीरलाई चाहिने पौष्टिक तत्त्व नदिने मात्र हो । त्यस्ता सामग्री बेच्नेलाई हामी कारबाही गरिरहेका छौँ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्डअनुसार कुनै पनि खाद्यवस्तुमा अप्रासंगिक बाहिरी रङ, गन्ध, फोहोरजस्ता वस्तु मिसिएको हुनुहुन्न । प्रत्येक खाद्यवस्तुबाट प्राप्त हुने भिटामिनलगायतका अन्य अर्गानिक तत्त्वलाई नष्ट नगरी उपझोक्तालाई बित्री गर्नुपर्ने खाद्य ऐनमा उल्लेख छ । तर खाद्यवस्तुमा यी तत्त्व भेटिए गुनासो गर्ने आधिकारिक निकायसमेत छैन । आपूर्ति विभागले गुनासा या मुद्दा दायर गर्न सर्वसाधारणलाई उपलब्ध गराएको टोल फ्री नम्बर ११३७ हाल बन्द छ ।

खानपानकै कारण आजभोलि प्रायः मानिस पायल्स, मधुमेह, मुटु, कलेजो, थाइराइड, कब्जियत, ग्यास्ट्रोइनटेराइटसजस्ता रोगबाट ग्रसित छन् । खानामा रहेको रसायनको मात्रा बिस्तारै शरीरभित्र पस्दा ‘स्लो पोइजन’ को काम गरिरहेको चिकित्सक बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, अस्पतालका संयोजक डा शेरबहादुर पुनका अनुसार अधिकांश रोग पानीबाट लाग्छ । भन्छन् “सफा पानी नै पाइँदैन हामीकहाँ ।  अनि अखाद्य, मिसावटयुक्त खाना खाएपछि बिरामी पर्छन् ।”

वीर अस्पतालमा पेटको समस्या मात्रै लिएर दिनहुँ करिब १ सय ४० बिरामी आउँछन् । तीमध्ये अधिकांश ग्यास्ट्रोइनटेराइटस, अल्सर, प्यांक्रियाजका हुने गरेको ग्यास्ट्रो मेडिसिन विभाग प्रमुख डा विधाननिधि पौडेल बताउँछन् । थप्छन्, “उमार्न, बढाउन तथा संरक्षण गर्न पनि विषादी छर्किएको छ । त्यस्ता खाना र दूषित पानीबाट पेटका रोग धेरै लाग्छन् ।”

डा पुनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पेटका रोगीको संख्या बढिरहेको छ । तर बिरामी संख्या बढे पनि खानपानका कारण स्वास्थ्यमा परिरहेको प्रत्यक्ष असरबारे अस्पतालले कुनै अध्ययन–अनुसन्धान गरेका छैनन् ।

वयस्क व्यक्तिलाई सहज तरिकाले बाँच्न दिनैपिच्छे १८ सयदेखि २ हजार क्यालोरी चाहिन्छ । त्यो क्यालोरी आपूर्ति घरको खाना र खाजाबाटै हुने हो । तर घरको खाना पोषिलो र तागतिलो होला भन्ने सोच्नु भ्रम मात्रै पनि हुन सक्छ । भान्सामा दिनहुँ फाक्ने विषाक्त खानेकुराका कारण अनेक थरी रोगबाट ग्रसित बनाइरहेको हुन सक्छ ।

सरकारले बजारमा बित्री भइरहेका अन्न, पानी, मासु तथा तरकारीको अनुगमन नगर्दा सर्वसाधारण विषाक्त खाना खान विवश छन् । त्यसको परिणाम मधुमेह, पायल्स, थाइराइड, ग्यास्टिक, अल्सर हुँदै क्यान्सरजस्ता दीर्घ रोगका सिकार भएका छन् । आउँ, हैजा, झाडापखालाजस्ता रोगले ज्यानसमेत गइरहेको छ । भान्सामा हामी खाना होइन, मन्दविष सेवन गरिरहेका छौँ ।


पानी

मानव जीवनका लागि पानीको महत्ताबारे व्याख्या गरिराख्नु नपर्ला । नुहाउन, पिउन, भाँडाकुँडा माझ्न पानी नभई हुँदैन । बिहान उठ्नेबित्तिकै पानीबाट नित्यकर्म सुरु हुन्छ । त्यसपछि चिया पिउन पनि पानी नै चाहियो । पानी रंगहीन, स्वादहीन र गन्धहीन हुनुपर्छ । तर शुद्धता अभावमा अधिकांश रोग पानीबाटै लाग्ने गरेका छन् । हामीले पिउने पानीमा कोलिफर्मयुक्त र पीएच अर्थात् अम्लियपन छन् । यसले पानी खान अयोग्य हुन्छ । पीएच भ्यालु ६.८ भन्दा कम भएपछि त्यो पानी न्यून गुणस्तरीय मानिन्छ । यस्तो पानी पिए आउँ, झाडापखाला, हैजा, जन्डिस लाग्न सक्छ ।

०७५ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीलगायत देशभर गरेको अनुगमनमा पानीमा पीएच कम, कोलिफर्म, लेबल विवरण अपूर्ण भएका न्यून गुणस्तर तथा दूषित ठहर गर्दै ३२ उद्योगमाथि मुद्दा दायर गरेको थियो ।


दूध

प्रायः नेपाली दूध हालेको चिया पिउँछन् । दूध बच्चादेखि वृद्धवृद्धाका लागि महफ्वपूर्ण तफ्व हो । यसमा प्रोटिन र चिल्लो पदार्थ हुन्छ, जुन शरीरका लागि अत्यन्त आवश्यक छ । दूधमा अम्लता ०.१६ प्रतिशत, नफाटेको हुनुपर्ने तथा चिल्लो पदार्थ गाईको दूधमा घटीमा ३.५ र भैँसीको दूधमा ५ प्रतिशत हुनुपर्छ । प्रोटिन हुने दूधमा सोडा तथा कोलिफर्म भेटिए के होला ? कोलिफर्मयुक्त दूध दूषित हुन्छ । यस्तो दूध पिइए फुड पोइजनिङलगायत पेटसम्बन्धी समस्या देखिने चिकित्सक बताउँछन् । दूध नफाटोस् भनेर सोडाको प्रयोग गरिन्छ, जुन खाद्य ऐनअनुसार गलत हो ।


चिनी

सातौँ शताब्दीमै अरेबियनले उखुबाट चिनी उत्पादन गर्न जानिसकेका थिए । आधुनिक युगमा चिनी प्रयोग अधिक भएसँगै दीर्घकालीन प्राणघातक रोग देखा परेका छन् । अझ नेपाली भान्साका लागि त चिनी अति आवश्यक वस्तु हो । मधुमेह, मोटोपन चिनीकै देन हुन् । मोटोपन अधिकांश रोगको जननी भएको चिकित्सकको ठहर छ । त्यही चिनीमा समेत युरिया मल, चकको धूलो मिसाइएको पाइन्छ । त्यसैगरी चिनी सेतो बनाउन अखाद्य रङ प्रयोग व्यापक देखिन्छ । त्यस्तो चिनी खाँदा पेट तथा आन्द्रामा घाउ बन्छ, जुन पछि गएर क्यान्सर हुन सक्छ ।


चियापत्ती

चिया बनाउन चियापत्ती सबभन्दा महफ्वपूर्ण हुन्छ । यसको रङले नै चियालाई सुवासित बनाउँछ । तर हाम्रो भान्सामा काठको धूलो, युरिया मल, कृत्रिम रङ, लौहचूर्ण तथा प्रयोग भइसकेको चियापत्ती राखेर चिया पाकिरहेको छ । यस्तो चियापत्तीको सेवनले हाम्रो पाचन प्रणालीलाई असर पुर्‍याउँछ ।


दाल

रहर, मास तथा मुसुरो दाल नेपाली भान्साका अभिन्न सामग्री हुन् । तर यी दालमा केलाउनुपर्ने गरी ढुंगा तथा स–साना डाँठजस्ता फोहोर भेटिन्छन् । अखाद्य रङको प्रयोग तथा बिग्रेका र कुहिएका दानाले दाल गुणस्तरहीन बनेका हुन्छन् । यस्ता दालले प्रोटिन दिनेभन्दा पनि शरीरलाई क्रमशः प्रतिकूल असर पार्दै लैजान्छ ।


चामल

बजारमा विभिन्न ब्रान्डका चामल छन् । एक त मधुमेह रोगको मुख्य कारक तफ्वका रुपमा रहेको चामल सकेसम्म चिकित्सक नखान सल्लाह दिन्छन् । त्यसमाथि अखाद्य रङको बढी प्रयोग र बिग्रेको चामलले उपभोक्ताको स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।


मैदा/आँटा

मैदामा ओसको मात्रा बढी भएपछि यो न्यून गुणस्तर हुन्छ । त्यसैगरी बालुवा, चकको पाउडर मिसाएको मैदा खान उपयुक्त हुँदैन ।


तरकारी

अहिले गर्मीमा साग, फर्सी, मूला, काउली, गोलभेँडाजस्ता तरकारी छन् । तरकारीको उत्पादन बढाउन किसानले युरियाजस्ता रासायनिक मलको अधिक प्रयोग गरिरहेका छन् । भान्सामा हेर्दा चिल्ला र ताजा तरकारी भित्रिरहेका छन्, तर ती खाँदा विषादी शरीरभित्र गइरहेको खाद्यविज्ञ बताउँछन् । हरियो तरकारीभन्दा फुस्रा र किरा लागेका तरकारीमा विषादी कम हुन्छ ।


फलफूल

बजारमा समयअगावै पाकेका आँपलगायतका फलफूल देखिन्छन् । शरीरमा पौष्टिक तफ्वका लागि फलफूल अमूल्य खान्की हो । बजारमा पाइने अधिकांश चिल्ला, ठूल्ठूला, हेर्दै खाउँ–खाउँ लाग्ने फलफूल विषादीयुक्त छन् । बजारमा पाइने यी फलफूलमा छिटो खानयोग्य बनाउन इथेन तथा क्याल्सियम कार्बोहाइड्रेट तफ्व प्रयोग गरिन्छ । क्याल्सियम कार्बोहाइड्रेटमा आर्सेनिकको मात्रा हुने हुँदा खाद्य ऐनले पनि यसलाई प्रयोग गर्न बन्देज लगाएको छ ।


तेल/वनस्पति घ्यू

नेपाली भान्सामा दाल, भात र तरकारी अनिवार्य खाद्य तफ्व हो । तरकारी पकाउँदा अनिवार्य तोरीको तेल, प्रशोधित भटमास या सूर्यमुखी तेल प्रयोग गरिन्छ । त्यसैगरी दाल झान्न तथा सेल पकाउँदा वनस्पति घ्यूको विशेष प्रयोग गरिन्छ । तेल र वनस्पति घ्यूमा फ्याट्टी एसिड, आयोडिन भ्यालु, अनस्याचुरेटेड फ्याट्टी एसिडलगायतका तफ्व हुनुपर्छ । फ्याट्टी एसिड भ्यालु ०.५ प्रतिशत हुनुपर्छ । त्योभन्दा बढी भए यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । मिसावटयुक्त तेल खाँदा शरीरमा कोलोस्ट्रल बढिरहेको हुन्छ, जसले हृदयघातलाई निम्त्याउन सक्छ ।


बेसार

भनिन्छ, बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । नेपाली भान्सामा बेसार नभई नहुने वस्तु हो । तर त्यही बेसार बजारमा न्यून गुणस्तरको भेटिँदा यसले रोगसँग लड्नेभन्दा पनि रोग बढाउने गरेको छ । बेसारमा काठको धूलो, कर्कुमिन अर्थात् पहेँलोपनको कमी तथा फुड फाइबरको बढी मात्रा भएपछि न्यून गुणस्तर हुन जान्छ ।


चाउचाउ

भान्सामा दिउँसो छिट्टो खाजाको रुपमा पाक्छ, चाउचाउ । खाजाको रुपमा नेपालीको रोजाइमा पर्छ, चाउचाउ । चाउचाउलाई स्वादिष्ट बनाउन अजिनोमोटो (एमएसजी) राखिएको हुन्छ । यद्यपि चाउचाउको प्याकेटमा एमएसजी नभएको उल्लेख गरे पनि खाँदा भने सेता स–साना मसिना दाना भेटिन्छन् । एमएसजीको अर्थ मोनोसोडियम ग्लुटामेट हो । एक्साइटो टक्सिनका रुपमा चिनिने एमएसजीले शरीरका कोषिकालाई बढी उत्तेजित बनाउँछ, जसका कारण मानिसको मस्तिष्कका कोषलाई नष्ट गर्छ ।


नुन

नुनमा सोडियम क्लोराइड तफ्व हुनुपर्छ । सरकारी मापदण्डअनुरुप उक्त तफ्व नभए र ओसको मात्रा भए त्यो न्यून गुणस्तरको हुन्छ । नुन जेका लागि प्रयोग गरिने हो, त्यही तफ्व नपाएपछि शरीरलाई बेफाइदा गर्छ । त्यसले गलगाँड हुन सक्छ ।


मसला

तरकारीमा हालिने जिरा, धनियाँ, मिट मसला, अदुवा, लसुन आदि मसला हुन् । जिरा तथा धनियाँको धूलोमा विभिन्न घाँसको बीउ तथा काठको धूलो मिसाइएको हुन्छ ।


अदुवा/लसुन

अदुवा र लसुन रासायनिक मलमा उमारिन्छन् । यस्तो मसलाले शरीरलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ ।


पाउरोटी

म्याद नाघिसकेका, न्यूनतम मापदण्डसमेत नपुर्‍याई बनाएका पाउरोटी खाँदा स्वास्थ्यलाई असर पर्छ । यसले फुड पोइजनिङसमेत गराउन सक्छ ।


कुकिज/बिस्कुट

परिवार तथा पाहुनालाई खुवाउन कुकिज/बिस्कुट सजिलो खाजा हो । तर दूषित तेलमा बनाएको कुकिज तथा बिस्कुटले शरीरलाई हानि पुर्‍याउँछ । त्यस्तो बिस्कुट खाँदा ग्यास्ट्रिक भई पेट भतभती पोल्न थाल्छ ।


अब को सुरक्षित रहला ? — अरुणा उप्रेती, जनस्वास्थ्यविज्ञ

भान्सामा विषादी कसरी भित्रिरहेको छ ?

हाम्रा हरेक खानेकुरा विषादीयुत्त छन् । जस्तो, अहिले बजारमा यत्रतत्र आँप देखिन्छ । आँप पाक्ने बेलै भएको छैन । तर त्यो फलमा कार्बाइटजस्ता अप्राकृतिक तत्त्व मिलाइएको हुन्छ । यस्तो फल खाँदा शरीरमा क्षणिक असर त छँदै छ, स्वास्थ्यमा दीर्घकालीन असर पर्छ । तर्बुजामा पनि इन्जेक्सनबाट पानी पठाउँछन् । खाँदा तरबुजा रसिलो हुन्छ, त्यसबाट विषादी शरीरभित्र पसिरहेको हुन्छ । तत्काल यसले आउँ, झाडापखाला मात्र गराउँछ । तर सबै खानेकुराबाट यसरी नै विषादी शरीरभित्र पसिरहने हो भने कालान्तरमा भयावह स्थिति हुन्छ ।

विषादी छ/छैन कसरी पत्ता लगाउने ?

अनुहार हेरेर विषादी चिन्न सकिँदैन । कतिपय केमिकल त खाद्य प्रयोगशालाले पनि खुट्याउन सक्दैन । केही वर्षअघि धुलिखेल अस्पतालले पाँचखालको कृषि क्षेत्रमा अनुसन्धान गरेको थियो । त्यहाँका किसानले पूरै विषादी प्रयोग गरी खेती गरेका थिए । ती विषादीयुक्त खाद्यले कस्तो असर गर्‍यो होला ? त्यसको अध्ययन हामीकहाँ भएको छैन । कुनै विषादीले आजको भोलि नै खराब गर्दैन । केही घरेलु उपाय अपनाउन भने सकिन्छ । जस्तो, गर्मीमा बिहान किनेको दूध बेलुकी फाट्छ । त्यो फाटेन भने त्यसमा केही मिलाएको छ भनी बुझे हुन्छ । प्रायःले सोडा मिलाउँछन् । सोडा खानामा हालेर खाने भए पनि दिनहुँ सोडा मिसिएको दूध खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पार्ला भनी सोच्नु जरुरी छ । तरकारीलाई नुनपानी वा चुकमा सफा गरेपछि विषादी केही कम हुन सक्छ ।

यस्ता विषालु खाना खाँदा कस्तो असर पर्ला ?

यो त मन्दविष हो । कुनैले तत्काल असर गर्ला, कुनैले ढिलो गरी । भारतको केरलामा काजु धेरै उत्पादन हुन्छ । त्यहाँको काजुमा प्रयोग भएको विषालु रासायनिक मलका कारण गर्भवतीले विकलांग बच्चा जन्माएको अनुसन्धानकर्ता बन्दना सिलवालले आफ्नो एक पुस्तकमा उद्धृत गरेकी छन् । त्यसकारण यसको छिटो देखिने असर झाडापखाला, हैजा आदि त छँदै छ, दीर्घकालीन रूपमा आमाबाट जिनको माध्यमबाट बच्चामा सर्न सक्छ । यसरी विषादी शरीरभित्र प्रवेश गरिरहे क्यान्सरजस्ता प्राणघातक रोग लाग्छ । आमाको भ्रुण नै विकलांग पैदा हुने तथा गर्भपतन अत्यधिक बढ्न सक्छ ।

विषादीले वातावरणमा कस्तो प्रभाव पारिरहेको छ ?

विषादीको अत्यधिक प्रयोगले माटो प्रदूषित भइरहेको छ । सिन्धुपाल्चोकमा हामीले अध्ययन गरेका थियौँ । त्यहाँका किसान बजारमा बेच्न रासायनिक मल प्रयोग गर्छन् भने आफूलाई खान प्रांगारिक मल । तर उनीहरू विषादी छर्कंदा छाला तथा नाकबाट शरीरमा जान्छ भनी सोच्दैनन् । फेरि पानी फर्दा विषादीयुक्त माटो बगेर शुद्ध माटोमै मिसिन्छ । हामी सबै यही वातावरणमा बस्छौँ ।  अब कोचाहिँ सुरक्षित रहला ?

कस्तो खानेकुरा खाने ? विषादीयुक्त खानाबाट कसरी बच्ने ?

जेको सिजन छ, त्यो बेला अर्गानिक खान पाइन्छ । जस्तो, अहिले आरुबखडाको सिजन हो । तपाईँ त्यो प्रशस्त खान सक्नुहुन्छ । फुस्रा, किरा लागेको, बांगोटिंगो परेका तरकारी तथा फलफूल खाँदा राम्रो हुन्छ ।

विषादी नियन्त्रण गर्न कस्तो नीति अपनाउनुपर्ला ?

मुख्यतः जनतालाई जागरुक बनाउनुपर्‍यो । अहिले हाम्रो देशमा विषादीरहित जिल्ला जुम्ला मात्रै हो । अन्यत्र आम्दानी बढी हुन्छ भनेर विषादी छर्किन्छन् । तर त्यही विषादीले आउने पुस्तासम्मलाई असर पारिरहेको सरोकार निकायहरूले देखेका छैनन् ।

प्रकाशित: जेष्ठ २८, २०७६